काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की प्रवक्ता तथा पूर्वमन्त्री पम्फा भुसाल ललितपुरको क्षेत्र नं. ३ बाट संघीय प्रनिनिधि सभा सदस्य पदमा निर्वाचित भएकी छन् । बामगठबन्धनको तर्फबाट साझा उमेद्वार रहेकी प्रभावशाली नेतृ भुसालले २४ हजार ३५ मत प्राप्त गरी विजयको माला पहिरिएकी छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उमेद्वार मदनबहादुर अमात्यले २२ हजार ३२९ मत ल्याएका छन् ।
त्यसरी नै ललितपुरको क्षेत्र नं. २ मा पनि बामगठबन्धनका उमेद्वार कृष्णलाल महर्जनले २७ हजार ७१३ मतकासाथ विजय प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी चन्द्र महर्जनले १६ हजार ९४५ मतमा चित्त बुझाउनु परेको छ ।
ललितपुरकै क्षेत्र नं. १ मा पनि बामगठबन्धनका उमेद्वार तथा पूर्वडिआईजी नवराज सिलवालले नेपाली काँग्रेसका उमेद्वार तथा बहालवाला अर्थराज्यमन्त्री उदयसमशेर जबरासँग १६ हजार २१७ को फराकिलो मतान्तर सहित विजय हासिल गरेका छन् । सिलवालले ३६ हजार ९४६ मत ल्याई विजय भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी राणाले २० हजार ७२९ मत प्राप्त गरेका छन् । प्रहरी महानिरीक्षकको दाबेदार रहेका सिलवाल प्रहरी प्रमुख बन्न नपाएपछि डिआईजी पदबाट राजीनामा गरेर राजनीतिमा होमिएका थिए । देउबाको क्षेत्रीयतावादी सोच र नीजि पूर्वाग्रहका कारण प्रहरी महानिरीक्षक बन्न नसकेको मानिएका तिनै सिलवाल आज सांसदको रुपमा निर्वाचित भएका छन् ।
ललितपुर जिल्ला २०१५ सालदेखि निरन्तर रुपमा ५५ वर्षसम्म बामपन्थीहरुको किल्ला रहेको भए पनि २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा ३ वटै क्षेत्रमा नेपाली काँग्रेसले विजय हासिल गरेको थियो । तर यसपटक ललितपुर जिल्ला पुन बामपन्थीहरुको लालकिल्ला बन्न सफल भएको छ ।