चितवन । राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत चर्चित चितवन क्षेत्र नं. ३ को निर्वाचन परिणाम आएसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय प्रनिनिधि सभा सदस्य पदका लागि निर्वाचित भएका छन् ।
बामगठबन्धन संयोजन समितिका शीर्ष नेता तथा चितवन क्षेत्र नं. ३ का लागि बामगठबन्धनका साझा उमेद्वार प्रचण्डले ४८ हजार २६९ मत प्राप्त गरी विजयी भएका छन् । उनको विरुद्ध प्रतिस्पर्धामा उत्रिएका नेपाली काँग्रेस, राप्रपा (प्रजातान्त्रिक), राप्रपा नेपाल र नयाँ शक्ति लगायतका दक्षिणपन्थी दलहरुको कथित लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार विक्रम पाण्डे ३८ हजार ९४२ मतमा सिमित भएका छन् । उनीहरुको बिचमा ९ हजार ३२७ मतको फराकिलो अन्तर रहेको छ ।
माओवादी सुप्रिमो प्रचण्डलाई हराउन साम–दाम–दण्ड–भेद सबै प्रयोग गरेका पाण्डे पूर्वपञ्चहरुको पार्टीको रुपमा परिचित राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री हुन् । विगतमा र आफू स्वयम् मन्त्री हुँदा विभिन्न सरकारी परियोजनाहरु हत्याएर काम नगरेको आरोप लागेका पाण्डे ‘क’ वर्गका ठेकेदार पनि हुन् । उनीमाथि भूमिसुधार मन्त्री भएको समयमा चितवनका विभिन्न ठाउँहरुको सार्वजनिक र अरुको नामको जग्गा आफ्नो नाममा दर्ता गरेको आरोप लागेको छ ।
दस वर्षे महान् जनयुद्धका सुप्रिम कमाण्डर, तत्कालीन नेकपा (माओवादी)का सर्वोच्च नेता एवम् जनमुक्ति सेना, नेपालका सुप्रिम कमाण्डर रहेका प्रचण्ड २ पटक प्रधानमन्त्री बनिसकेका एक मात्र बामपन्थी नेता हुन् । उनी बृहद शान्ति सम्झौताका एक मात्र जीवित हस्ताक्षरकर्ता हुन् । करिब ३ दशकदेखिको नेपाली राजनीतिको मियो बनेर समग्र राष्ट्रिय राजनीति उनैको वरिपरि घुम्नुपर्ने स्थिति रहेका राजनेता प्रचण्ड नेपाली राजनीतिका किङ मेकरको रुपमा चिनिन्छन् । चितवन उनको गृह जिल्ला हो । योसँगै चितवन पनि काँग्रेसमुक्त लाल किल्लामा परिणत भएको छ ।
क्रान्तिनायक प्रचण्डलाई लेफ्ट रिभ्यु परिवारको तर्फबाट हार्दिक बधाई ।