क. प्रचण्ड
 

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउबालाई धन्यवाद दिँदै संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माण गर्नका लागि सरकारबाट सहयोग हुने अपेक्षा राखेका छन् । चितवन क्षेत्र नं. ३ बाट संघीय प्रतिनिधि सभा सदस्य पदमा विजयी भएपछि पूर्वप्रधानमन्त्री प्रचण्डले एक प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् । यो निर्वाचनमा बामपन्थी गठबन्धनको विजयले देशमा राजनीतिक स्थायत्व र आर्थिक समृद्धिको नयाँ युग सुरु भएको दाबी गर्दै अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रका देशैभरका नेता कार्यकर्तालाई बधाई तथा धन्यवाद दिएका छन् ।

हेर्नुहोस् विज्ञप्तीको पूर्ण पाठः

संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिङ्गो देशको उल्लासपूर्ण सहभागिता र वाम गठबन्धनलाई ऐतिहासिक अनुमोदनका लागि म देशभित्र र बाहिर रहनुभएका सबै आमाबुवा, दिदीबहिनी दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु ।

वाम गठबन्धनको विजयसँगै देशमा अब राजनीतिक स्थायित्व र आर्थिक सम्बृद्धिको नयाँ युग सुरु भएको छ । यो ऐतिहासिक परिणामका लागि अथक रुपमा क्रियाशील नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का देशैभरिका नेता–कार्यकर्ता बधाई र धन्यवादका पात्र हुनुुहुन्छ ।

अहिलेको विजयलाई हाम्रो परीक्षा र जिम्मेवारीका रुपमा लिन र संयमपूर्वक राष्ट्रिय सम्बृद्धिका लागि थप क्रियाशील हुन म सबै वामपन्थी नेता, कार्यकर्ता र आम जनतालाई हार्दिक आग्रह गर्दछु ।
म निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि धन्यवाद ज्ञापन गर्दछु । अब सरकारबाट संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माणमा सहयोगको समेत अपेक्षा गर्दछु ।

ममाथि विश्वास गर्ने चितवन क्षेत्र नं. ३ का सबै मतदाताप्रति म अत्यन्त आभारी छु । आउँदा दिनमा बिना भेदभाव सिङ्गो चितवनको साझा अभिभावक बन्ने र चितवनलाई आर्थिक सम्बृद्धिको केन्द्र बनाएर समस्त राष्ट्रकै आर्थिक सम्बृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता दोहोर्याउँछु ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेकपा (माओवादी केन्द्र)
२०७४, मंसिर २५