अाशा काेइराला
 

काठमाडौँ । सरकारबाट हटेपछि आफूले पाएको सरकारी सुविधालाई सके त नीजि बनाउने, नसके पनि धेरै लामो समयसम्म दुरुपयोग गर्ने नेपाली नेताहरुको आम परम्परालाई नैतिक चुनौती दिँदै नेकपा (माओवादी केन्द्र)का नेतृ एवम् पूर्वमन्त्री आशा कोइरालाले सरकारी सुविधा फिर्ता गरेकी छन् । कोइरालाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेकी हुन् । मंगलबार कोइलाराले आफ्नो निवास तनहुँकाे बेलचौतारास्थित अाफ्नाे निवासमा पत्रकार सम्मेलन गरेर सरकारी सुविधा फिर्ता गरेको जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेकी कोइरालाले मन्त्री बनेसँगै पाएको बा २ झ २६१६ नम्वरको गाडी सहित चालक र दुईजना सुरक्षाकर्मी फिर्ता गर्दै आफ्नो सुरक्षामा खटेका सुरक्षाकर्मी र चालकलाई उनले धन्यवाद दिँदै बिदा गरेकी थिइन् ।

नेकपा (माओवादी केन्द्र)ले असोज १७ गते एमालेसँग चुनावी गठबन्धन र पार्टी एकताको घोषण गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुलाई विना विभागीय बनाएका थिए । त्यसको ६८ दिनपछि गएको शुक्रबार पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकारमा सहभागी भएका माओवादी मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।