काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुँदैन, सकिँदैन, होला र ? भन्ने सोच त्याग्न सबैमा आग्रह गर्नुभएको छ ।
सोमबार साँझ नयाँ पत्रिकाको ‘फेसबुक लाइभ’मा बोल्दै प्रचण्डले भन्नुभयो, ‘हामीले दस वर्षमा मध्यम स्तरको मुलूक बनाउने संकल्पसहित चुनावी घोषणापत्र सार्वजनिक गर्यौं । घोषणापत्रप्रति हामी पूर्ण प्रतिवद्ध छौं । हाम्रो घोषणापत्र हेर्दा केही महत्वाकाङ्क्षी देखिन्छ । तर, हामीले सङ्कल्प गर्दा सबै कुरा सम्भव छ । मैले दोस्रोपटक प्रधानमन्त्री हुँदा त्यसको प्रत्यक्ष अनुभव गरेको छु ।’
अध्यक्ष प्रचण्डले थप्नुभयो, ‘हामीले सङ्कल्प गर्दा आर्थिक बृद्धिदर ७.५% पुग्यो, लोडसेडिङ हट्ला भन्ने कसैले कल्पना गरेको थिएन, तर, हट्यो । आर्थिक सूचकहरु सकारात्मक दिशामा गए । बन्द, हड्ताल नहुँदा देशको अर्थतन्त्रले गति लियो । मधेशको समस्या सजिलै हल होला भन्ने कल्पना गरिएको थिएन । तर, हामीले संकल्प गर्यौं र सफल पनि भयौं । हामी नेपालीमा ‘हुँदैन, सकिँदैन, होला र?’ भन्ने सोचले घर गरेको छ । हामीले लामो सयमदेखि त्यही तालिम लिएका छौं । तर, त्यो सोच बदल्नुपर्छ । ‘सकिन्छ, गर्नुपर्छ’ भन्ने सोच र भावनाको विकास भए मात्र देश विकासले गति लिन थाल्छ ।’
‘वस्तुगत परिस्थितिले एमाले–माओवादीलाई एकै ठाउँमा ल्यायो । अब अलग–अलग पार्टीको रुपमा रहनुपर्ने औचित्य रहेन’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘शान्तिपूर्ण प्रतिस्पर्धाकै आधारमा समाजवादी क्रान्तिको दिशामा जाने कुरामा २ पार्टी एक भइसकेपछि अलग बस्नुको औचित्य पनि छैन ।
इतिहासमा एमालेले शान्तिपूर्ण राजनीतिमा योगदान गर्यो, माओवादीले सशस्त्र संघर्षबाट समाज रुपान्तरणमा भूमिका खेल्यो । हाम्रा भूमिका एकअर्काका पुरकका रुपमा रहेका छन्, त्यसैले एकतामा कुनै समस्या छैन । त्यसैले अहिलेको एकता वस्तुगत आवश्यकताका दृष्टिले औचित्यपूर्ण छ ।’











