Ye Jhau-Prachanda
 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एकीकृत पार्टीकाे अध्यक्षकाे रुपमा चिनियाँ कम्युनिस्ट पार्टीकाे विदेश विभागका उपमन्त्री ये झाऊ बिच भेटवार्ता सम्पन्न भएको छ ।

पार्टी एकताकाे सहमति भएर घाेषणा हुन बाँकी रहेकाे नेपाल कम्युनिस्ट पार्टीकाे अध्यक्षकाे रुपमा याे अध्यक्ष प्रचण्डकाे पहिलाे कुटनीतिक भेटघाट हाे । चिनियाँ कम्युनिस्ट पार्टीले संसारभरका ६०० भन्दा धेरै कम्युनिस्ट पार्टीहरुसँग भाइचारा सम्वन्ध स्थापित गरेकाे छ । तीमध्ये प्रचण्ड नेतृत्वकाे नेकपा (माअाेवादी केन्द्र)लाई सूचीमा एक नम्बरमा राखेकाे छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच पार्टी एकीकरणको सहमति भएको १२ घण्टा पनि बित्न नपाउँदै भएको यो भेटघाटलाई उच्च महत्त्वका साथ हेरिएको छ । निर्वाचन लगत्तै भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय विदेश मन्त्री शुष्मा स्वराजलाई निमन्त्रणा गरी पार्टीको तर्फबाट रात्रीभोज आयोजना गरेपछि चिनियाँ पक्षबाट नेपालमा भएको यो सबैभन्दा उच्चस्तरीय भेटघाट हो ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा मंगलबार बिहान भएकाे भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको अध्यक्ष प्रचण्डकाे सचिवालयले जनाएकाे छ । सचिवालयका अनुसार भेटवार्तामा उपमन्त्री ये झाऊले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताका लागि ७ बुँदे सहमतिका बारेमा जिज्ञासा राख्नु भएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताउँदै यो नेपाली इतिहासमा दूरगामी परिघटना भएको बताउनुभयो । उहाँले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने समेत बताउनुभयो ।

चिनियाँ उपमन्त्री ये झाऊले दुई पार्टीको एकीकरणको स्वागत गर्नुहुँदै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताउनुभयो । चीन सरकारसँग यसअघि भएका सम्झौताहरुलाई व्यवहारमा रुपान्तरण गर्ने बताउनुहुँदै उहाँले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन ठूलो सहयोग गर्ने समेत उहाँले बताउनुभयो ।

२०७० साल मंसिमा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तत्कालीन एमाओवादी तेस्रो पार्टी भएपछि पनि चीन सरकारको निम्न्त्रणामा अध्यक्ष प्रचण्डले जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुभएको थियो । त्यतिबेला चिनियाँ राष्ट्रपति शी जिनपिङले अरु देशका राष्ट्र प्रमुख वा सरकार प्रमुखहरुलाई मात्रै भेटघाट गर्ने चिनियाँ परम्परालाई तोड्दै प्रमुख प्रतिपक्षी दलको नेता मात्र रहेका अध्यक्ष प्रचण्डसँग भेटघाट गरी द्वीपक्षीय सम्वन्धको विषयमा छलफल गर्नु भएको थियो ।

अध्यक्ष प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएको समयमा पनि चीन भ्रमण गर्नु भएको थियो भने ब्रिक्सको सम्मेलनमा भारतमा शी जिनपिङसँग भएको भेटवार्ता नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्चित भएको थियो ।

भेटका अवसरमा उपमन्त्री ये झाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपती शी जिनपिङले लेख्नुभएको पुस्तक “द गभर्नेन्स अफ चाइना–२” हस्तान्तरण गर्नुभएको थियो ।