सिराहा, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारले गरीवको निशुल्क उपचार गर्ने बताउनु भएको छ ।
सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अवदेखि गरीव जनताको उपचार सरकारले गर्ने बताउनुभयो ।
‘अहिलेको संविधानले जनताको शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक अधिकारका रुपमा राखेको छ ।’ उहाँले भन्नुभयो, ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रकृया सुरु गरेको छ । गरिबीको कारण उपचार नपाएर अब कोही मर्नु पर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ । नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’
मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि आफूले लगातार पहल गरिरहेको बताउदै अध्यक्ष प्रचण्डले संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने धारणा राख्नुभयो । त्यसैका लागि भनेर प्रधानमन्त्री केपी ओली र उपेन्द्र यादवसँग आफूले समेत हस्ताक्षर गरेकाले आफूसँग विश्वस्त रहन उहाँले सबै मधेशवासीलाई आग्रह गर्नुभयो ।
उहाँले मधेसको विकास गरेर मात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिने बताउनुभयो । ‘नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ ।’ उहाँले भन्नुभयो, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’
सिँचाइ र खानेपानीको दीर्घकालीन ढंगले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको उहाँको भनाइ थियो । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहने छ ।
सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला भएको र यहाँको आँपको माग विश्वभरि भएको भन्दै अध्यक्ष प्रचण्डले सिरहालाई आँपको जोनको रुपमा विकासका लागि पहल गर्ने बताउनुुभयो ।
त्यसैगरी, धानखेतीमा पनि सिरहा उर्वर जिल्ला रहेको बताउँदै उहाँले यसलाई धानको सुपरजोनको रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागी परेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।