Venezuela Solidarity Kathmandu
 

भनेजुएला र ऐक्बद्धता

भेनेजुएलाका जनतासँग नेपाली जनताको ऐक्यबद्धतालाई कसरी बिमुख गराउन सकिन्छ भनेर एउटा शक्ति लागिरखेको छ र त्यसले प्रत्यक्ष र परोक्ष दुवै रुपमा काम गरिराखेको छ । विभिन्न तहमा मनपरीतन्त्र हावी भइराखेको परिवेश हामी कहाँ छ ।

यसलाई हामीले मध्यनजर गर्दै कसैले ‘बेला न कुबेला भेनेजुएला’ भनिराखेका छन्, जोसँग कुटनीतिक र अरु कुनै सम्बन्ध छैन, त्यस्तो देशका बारेमा किन बोलिराख्नु पर्यो भनेर प्रचारबाजी गरिराखेको बेलामा यस्ता अन्तक्रिया कार्यक्रमहरुले पुँजीपतिहरु र समाजवादीहरु बिचमा विश्वव्यापीकरणको र धुर्वीकरणको काम गरेको छ ।

भनेजुएला र नेपाल 

कहाँ कहाँको देश भेनेजुयलासँग हाम्रो सम्बन्ध कसरी भो त ? अन्तर्राष्ट्रिय रुपमा जब सोभियत संघको विघटन भयो, सोभियत सत्ता ढलाइयो, त्यसपछि ‘अर्को संसार सम्भव छ’ भन्ने नारा आयो । गैरसरकारी अभियानहरुले त्यसलाई अगाडि बढाए । कुम्भमेलाको रुपमा मान्छेहरु जम्मा हुने, आफ्ना कुराहरु राख्न सक्ने तर त्यसको परिणाम के त भन्दा केही नहुने स्थिति पहिले थियो । जनताका संगठनहरु जबसम्म एकैठाँउ आउँदैनन्, एकआपसमा एकाकार भएर जाँदैनन्, तबसम्म साम्राज्यवादीहरुको राज चलिरहन्छ भन्ने हिसाबले एउटा अन्तर्राष्ट्रिय सम्बन्धको आरम्भ भयो ।

Balram Banskota, general secretary ANPFa, leader Communist party of Nepal (NCP)
क. बलराम बाँस्कोटा

त्यो किसानहरुले आफ्ना समूहहरुबाट शुरुवात गरेका थिए । हामी पनि अन्तर्राष्ट्रिय किसान संगठनको माध्यमबाट जोडियौँ । आन्दोलनको क्रममा हामीले भेनेजुलियन कमरेडहरुसँग सम्बन्ध राख्यौँ । नेपालमा पनि कम्युनिष्ट आन्दोलन बलियो छ । यद्यपि यो विभाजित छ । विभाजित कम्युनिष्ट आन्दोलनलाई एकत्रित गर्ने प्रयास हामीले जारी राखेका छौँ । भेनेजुएलाको पनि त्यस्तै रहेछ । धेरै कम्युनिष्ट पार्टीहरु, धेरै सोसलिष्ट पार्टीहरु त्यहाँ रहेछन् तर प्रतिकृयावादीहरुको विरुद्धमा जादाँखेरी सबै एक हुँदा रहेछन् । अहिले पनि भेनेजुएलाका राष्ट्रपति एउटा पार्टीको हुनुहुन्छ । उपराष्ट्रपति अर्को पार्टीको हुनुहुन्छ । आफैमा कम्युनिष्ट पार्टी नभए पनि वामपन्थी प्रति झुकाव भएका पार्टी त्यहाँ धेरै छन् ।

हामी पनि साधन र श्रोतले सम्पन्न छौँ तर साधन र श्रोतको उचित परिचालन हुन सकेको छैन । भेनेजुएला पनि साधन र श्रोतले सम्पन्न देश हो तर साम्राज्यवादीहरुको गिद्धेदृष्टि परिरहेको देश हो ।

भेनेजुएला करिब ३ सय बर्षसम्म स्पेनिस उपनिवेश भएको थियो । त्यसबाट मुक्त भएपछि त्यहाँ मात्र होइन, ल्याटिन अमेरिकी र दक्षिण अमेरिकी देशहरुमा एउटा अभियान आयो । ‘जनताहरु एकजुट हौँ । उपनिवेशवादको विरुद्ध लडौँ’ भन्ने सिमोन बोलिभारले आव्हान गरिसकेपछाडि तिनीहरु स्पेनिश उपनिवेशबाट त मुक्त भए तर लामो समयसम्म त्यहाँ अस्थिर र पुँजिवादी सरकारहरु रहे ।

सन् १९९९ पछाडि कमरेड ह्युगो चाभेजले समाजवाद स्थापनाको नेतृत्त्व गरे, २०१२ पछि चाभेजको मृत्यु पछाडि मादुरोको नेतृत्त्वमा यो अगाडि बढिरहेको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट साथीहरुसँग स्वंय मादुरो र त्यहाँका जनताले चाभेजको मृत्यु अस्वाभाविक भएको र बिस्तारै क्यान्सर रोग संक्रमित गराएर उहाँलाई हत्या गरिएको हुनसक्ने बताउनुभएको थियो । यस बिषयमा हामी छानबिन गर्नेछौँ भनेर उहाँले भन्नुभएको थियो । प्रतिकृयावादी र साम्राज्यवादीहरु कुन हदसम्म जान सक्छन् भन्ने कुराको यो एउटा उदाहरण हो । यद्यपि यो कुरा पुष्टि हुन बाँकी नै छ ।

इन्टरनेसनल पिपुल्स एसेम्बली

पुँजिपतिहरु जसरी संगठित हुन्छन्, हामी पनि त्यसरी नै संगठित हुनुपर्छ भन्ने कुरामा हाम्रो ऐक्यबद्धता भएको छ । ल्याटिन अमेरिकी देशहरु हामीभन्दा अलिक अगाडि हुनुहुन्छ । उहाँहरुकै पहलमा इन्टरनेशनल पिपुल्स एसेम्बली अफ मुभमेन्ट्स एण्ड अर्गनाइजेसन गठन भएको छ । संघर्ष र एक अर्काको साथ तथा सहयोगविना कोही पनि अगाडि बढ्न र सफल हुन सकिँदैन भन्ने हिसाबले यो गठन गरिएको हो । पुरानो ढंगले होइन, नयाँ ढंगले अगाडि बढाऔं भन्ने हिसाबले यो अगाडि आएको छ । एउटा अन्तराष्ट्रिय सम्मेलन र अन्तक्रियाको आवश्यकता खट्केपछि कहाँ गर्ने भन्ने कुरा भयो । भेनेजुएलाका कमरेडहरुले आफ्नो देशमा यो सम्मेलन गर्न तयार हुनुभयो । सन् २०१७ मा नै गर्ने भनिए पनि यो विविध कारणले हुन सकेन ।

अमेरिकी साम्राज्यवादले कतिखेर हस्तक्षेप गर्ने हो भन्ने कुरामा उहाँहरु सर्तक हुनुहुन्थ्यो । साम्राज्यवाद विरोधी एउटा अभियानका रुपमा भेनेजुएलामा नै गर्ने तय भए बमोजिम अमेरिकी साम्राज्यवादको नाकै मुनि गर्नुपर्छ र उसलाई एउटा चुनौति दिने गरी गर्नुपर्छ भन्ने हिसाब आगामी फेब्रुअरी २२ देखि २७ सम्म गर्ने निर्णय भएको छ ।

मादुरोको सपथ र मेरो भेनेजुएला भ्रमण

त्यहि परिवेशमा कमरेड मादुरोको सपथ र त्यसैको आसपास हुनेगरी यो इन्टरनेशनल पिपुल्स एसेम्बली को तयारीका लागिअन्तर्राष्ट्रिय जनता र जनसंगठनहरुको आन्दोलन र संगठनको संघर्षकै रुपमा बैठक आयोजना गरियो । र, त्यो बैठकका लागि म त्यहाँ (भेनेजुएला) पुगेको थिएँ ।

सन् २०१७ मा पनि म त्यहाँ पुगेको थिएँ । त्यतिबेला त्यहाँका जनतासँग मादुरोको विषयमा कुरा गर्दा मादुरो कहिल्यै पनि चाभेज हुन सक्दैनन् भन्ने प्रतिक्रिया थियो । चाभेज साम्राज्यवादको प्रखर विरोधी नेता थिए र मादुरोले उनको स्प्रिट पक्रन सकदैनन् र चाभेजजतिको आफूलाई स्थापित गर्न सक्दैनन् भन्ने आशंका थियो । तर अहिले जाँदा मादुरो जनतामा त्यसैगरी स्थापित भएको पाएँ, जसरी चाभेज जनप्रिय नेताको रुपमा स्थापित थिए । साम्राज्यवादलाई तिख्खर र प्रभावशाली रुपमा प्रहार गर्नसक्ने नेताको रुपमा मादुरो स्थापित भइसकेका थिए ।

१० जनवरीमा उहाँले शपथ खानुभयो । जनतासँगको उहाँको सामीप्यता एकदम सिक्नलायक थियो । हामी पदमा पुगेपछि आफूलाई निकै ठूलो सम्झिन्छौँ । जनतासँग हात मिलाउँदा, कुरा गर्दा सानो मान्छे भइएला कि जस्तो गर्छौँ । वरिपरिका मानिसले गरेको नमस्कार पनि फर्काउन आवश्यक ठान्दैनौँ । तर मादुरोको जनतालाई सम्मान गर्ने तरिका देख्नलायक थियो । उहाँले शपथ ग्रहण समारोहमा पनि सबै जनतासँग भलाकुसारी गर्नुभयो । सबैसँग हात मिलाउँदै, अगाडि बढ्नुभयो । यसरी उहाँले शपथ ग्रहण पश्चात पनि भेनेजुएलाका जनताको पक्षमा, ह्युगो चाभेजको नाममा र समाजवादको पक्षमा आफ्नो एक मुठी रगत रहेसम्म लडिरहने प्रतिबद्धता गर्नुभयो ।

शपथ ग्रहण समारोहपछि उहाँलाई सैनिक सलामी दिइयो । संवैधानिक राष्ट्रपति घोषणा गरियो र उहाँलाई एउटा सैनिक तरबार समेत दिइयो । उहाँले त्यो तरबार भेनेजुएली जनताको पक्षमा र साम्राज्यवादको विरुद्धमा प्रयोग हुने बताएर त्यो तरबार सेनालाई नै फिर्ता दिनुभयो । त्यहाँ पनि उहाँले सेनाको समाजवादीकरणको बारेमा आफ्नो सारगर्भित मन्तव्य राख्नुभयो ।

त्यो शपथ ग्रहण समारोहमा हजारौँ होइन, लाखौ जनता उत्सव मनाउन आएका थिए । एउटा सानो समूह मादुरोको विपक्षमा सडकमा आएका थिए । साम्राज्यवादीहरु कुनै न कुनै षडयन्त्रका साथ अगाडि बढेको हामीले अनुमान गर्‍यौँ । अहिले त्यो कुरा प्रमाणित भएको छ ।

निर्वाचन र साम्राज्यवादी शक्तिहरु

साम्राज्यवादीहरु अहिले भेनेजुएलालाई एउटा प्रयोगशालाको रुपमा प्रयोग गर्न चाहन्छन् । जब मादुरो सत्तामा आउनुभयो । त्यसपछि राष्ट्रपतिको चुनाब भयो । त्यसपछि नेश्नल एसेम्बलीको चुनाब भयो । त्यहाँ मादुरोको पार्टी अल्पमतमा पर्यो । अनि अब यसलाई कसरी समाधान गरेर जाने त भन्ने सवालमा संविधान सभाको निर्माण गरियो । त्यसपछि उनीहरुले पिपुल्स एसेम्बलीमा सहमति गरे । त्यसमा मादुरो र अन्य वाम पार्टीहरुले बहुमत ल्याइसकेपछि साम्राज्यवादीहरु निहुँ खोज्दै त्यसलाई अस्विकार गर्ने अभियानमा गए ।

२०१८ सालमा भएको राष्ट्रपतिको चुनाबमा धेरै पार्टीले भाग लिएका थिए । केही पार्टीले मात्र बहिष्कार गरेका थिए । त्यो चुनाबमा कमरेड मादुरोले ६७ प्रतिशतभन्दा धेरै मत प्राप्त गर्नुभयो । अहिले हेर्ने हो भने अमेरिकी राष्ट्रपतिले कति प्रतिशत मत पाएको छ ? साम्राज्यवादीहरुको लोकतन्त्र कस्तो हुन्छ भने आफू अनुकूल हुनासाथ त्यो लोकतन्त्रवादी हुने र आफू प्रतिकूल हुनासाथ त्यो अलोकतान्त्रिक हुने ।

अमेरिकाले त्यसलाई अलोकतान्त्रिक भयो भन्ने बहाना गर्यो । बरू ब्राजिलको चुनाब अलोकतान्त्रिक हो किनभने त्यहाँ पूर्वराष्ट्रपति लुलालाई थुनिदिएको छ । उनी निर्दोष छन् तर पनि उनलाई अपराधी घोषणा गरेर जेलभित्र राखिएको छ । उनलाई राष्ट्रपतिको उम्मेदवार बन्ने आधारहरु बन्देज गरिएको छ । त्यस्तो प्रकारले भएको चुनाब अलोकतान्त्रिक हो कि भेनेजुएलाको जस्तो चुनाब अलोकतान्त्रिक हो ?

अमेरिकाको विदेश मन्त्रालयको मान्छे गुएँदोले सडकमा गएर बोलेको छ र आफूलाई स्वघोषित राष्ट्रपति भनेको छ । त्यसलाई तत्कालै अमेरिकाले समर्थन गरेको छ । अमेरिकाका केही खास मान्छेहरुले त्यसको समर्थन गरेका छन् । बहुसंख्यक जनताले त्यसको विरोध गरेका छन् । अमेरिकी खेमाका केही देशहरुले त्यसलाई ततकालै समर्थन गरेका छन् । मादुरोको सरकारलाई रुस, चीन, माल्दिभ्स, बोलिभिया, टर्की, उरुग्वे, मेक्सिको,  साल्भाडोर लगायतका देशहरुले समर्थन गरेका छन् र यसरी भेनेजुएलाको घटना पछाडि विश्व दुई ध्रुवमा बाँडिएको छ ।

नेपालमा भेनेजुएला प्रसंग

नेपालमा पनि यो परिवेशले तहल्का आएको छ । कमरेड प्रचण्डले वक्तव्य निकाल्नुभयो, जुन वक्तव्य वस्तुपरक र यथार्थपरक छ । साम्राज्यवादको मुटुमा किला गड्ने गरी वक्तव्य आइसकेपछि यसले तरंग उत्पन्न गरेको छ । यस सन्दर्भमा अमेरिकाले सरकारको आधिकारिक धारणा माग गरेको भन्ने सुनियो । यो अमेरिकाको अधिकारको कुरा होइन । कुन पार्टीले के बोल्छ भन्ने कुरा अमेरिकाको चासोको विषय होइन । सरकारले के गर्छ भन्ने कुरा अमेरिकी दुतावासले चासो राखिराख्न आवश्यक छैन ।

अमेरिकाले चासो राख्यो भन्ने भएपछि नेपालमा हलचल भो । केही मिडिया, केही पेटी बुर्जुवा, केही कथित बुद्धिजीवीहरुले अमेरिकाको विरुद्धमा गएर नेपालले केही गर्न सक्छ ? यो बेमौसमको बाजा बजाइएको छ भनेर कमरेड प्रचण्डमाथि दोषारोपण गर्ने व्यर्थको प्रयास भयो ।

हस्तक्षेपको कारण – लोकतन्त्र कि भेनेजुएलाको तेल

अमेरिकी सरकारले भेनेजुएलामा जे गर्न खोजिरहेको छ, त्यो त्यहाँका जनता लोकतान्त्रिक अधिकारबाट बिमुख भएका छन् भन्ने आशयले हो ? होइन । अमेरिकाले इराकमा किन आक्रमण गर्यो ? इराक आक्रमणको पछाडि के उद्देश्य थियो ? स्वाभाविक रुपले त्यहाँको तेल राजनीतिले काम गरेको थियो ।

अहिले पनि ट्रम्पले के माग गरेको छ ? ‘तिम्रो तेलको ५० प्रतिशत बार्षिक अमेरिकालाई पठाऊ, अरु जे सुकै गर’ भन्ने अमेरिकाको प्रस्तावलाई मादुरोले इन्कार गर्नुभयो । यो कुरा अमेरिकालाई मन परेन र एउटा योजना बनाईयो, यो योजना अमेरिकी स्वार्थ र भेनेजुयलाका जनताको सम्पत्ति माथिको अतिक्रमण हो । जसलाई चाभेजले राम्ररी बुझ्नुभएको थियो र विश्व वैंक जस्ता संस्थाहरुको विकल्पमा जनताको स्तरबाट पनि त्यस्तै संस्थाहरु बनाउने प्रकृया उहाँले शुरु गर्नुभएको थियो ।

लँडाई- साम्राज्यवाद र समाजवादको

यो समाजवाद माथिकै आक्रमण हो । अमेरिकीहरुले केही भ्रम खडा गरेका छन् । भेनेजुएलामा चरम गरिबी छ, द्वन्द्व छ, मुद्रास्फिति छ, अमेरिका बाहेक अर्को यस्को कुनै तेल बजार छैन, राजनीतिक संकट छ, लोकतान्त्रिक अधिकार छैन । यी सबै कारणले भेनेजुएलाले अमेरिकासँग आत्मसर्मपण गर्नुपर्छ भन्ने.अमेरिकीहरुको योजना छ । यो एउटा सोची-सम्झी बनाएको षडयन्त्र हो । अरू कुनै भ्रममा हामी कोही नपरौँ ।

यसरी अमेरिकाको भेनेजुएला माथिको आक्रमण समाजवादी विचारधारा विरुद्धको चिन्तन हो । अब हामीले एउटा कित्ता स्पष्ट गर्न जरुरी छ । ‘विश्वका मजदुरहरु एक हौँ’ भन्दै आएका हामी अब साँच्चिकै एक ठाउँमा उभिनु जरुरी भइसकेको छ । यतिखेर भेनेजुएलाका जनताको लोकतन्त्रको पक्षमा उभिनु हामी सबैको दायित्व र कर्तव्य हो ।

(२०७५ माघ १७ गते काठमाडौँमा साम्राज्यवाद विरोधी मोर्चा, नेपालद्वारा आयोजित भेनेजुएलासँग ऐक्यबद्धता कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सांसद क. बलराम बाँस्कोटाले राख्नुभएको मन्तव्यको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ – सम्पादक ।)