काठमाडौँ । आज फागुन १४ गते । आजैबाट शहीद सप्ताह शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का साथै महान जनयुद्धमा सहभागी भएका सबै माओवादी पार्टी, समूह र घटकहरुले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलसहित शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
जनयुद्ध शुरु भएको दुई हप्तामै अर्थात आजकै दिन प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रङ्गका रम्तेल प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए ।
जनयुद्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको थियो । त्यसैले तत्कालिन नेकपा (माओवादी )ले त्यतिबेलै प्रथम शहीद घोषणा गरेको थियो । प्रथम शहीद रम्तेलसँगै जनयुद्धका शहीदहरुको सम्झनामा माओवादीहरुले फागुन १४ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
माओवादी नेताहरुले शहीदको सपनालाई पुरा गर्ने बाटो छोडेको र सम्झना केवल औपचारिकतामा मात्रै सीमित राखेको भन्दै पछिल्लो समय आलोचना हुँदै आएको थियो ।
नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु बिच पार्टी एकता भए पछिको यो पहिलो शहीद सप्ताह हो । समृद्ध नेपाल र सुखी नेपाली जनताको नारा दिएर अगाडि बढेको नेकपा र उसको दुई तिहाईको सरकारले यो पटक शहीद सप्ताह कसरी मनाउँछ भन्ने कुरा चासोपूर्वक हेरिएको छ ।