काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाई नाप्न जान लागेको कर्मचारी टोलीलाई विदाइ गर्नुभएकाे छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट सगरमाथाकाे उचाइ नाप्न जान लागेकाे टाेलीलाइ बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाे आयाेजना गरी बिदाइ गरिएकाे हाे ।
टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज गरी चारजना रहनुभएकाे छ । टोलीले करिब एक महिनामा सगरमाथाको उचाई नापेर फर्कने योजना छ ।
शुभकामना तथा विदाइ कार्यक्रममा वाेल्दै प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलोपटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने धारणा राख्नुभयाे । ‘नेपाल सरकारको तर्फबाट पहिलोपटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरुले सेन्टीमिटरसहितको उचाइ नापेर ल्याउनु होला ।’ – प्रधानमन्त्री ओलीले टाेलीलाइ निर्देशन दिँदै भन्नुभयाे – ‘तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।’
प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिनुभयाे । उहाँले मौसम र स्वास्थ्यलाई ख्याल गर्न टाेलीलाइ सुझाउनुभयाे । ‘लक्ष्यमा अडिग रहनुहोस तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकूल भयो भने जिद्धी नगर्नुहोस । सगरमाथा त्यहीं हुन्छ । अर्कोपटक गएर नापेर आए हुन्छ ।’ प्रधानमन्त्री ओलीले थप्नुभयाे – ‘गाइडको निर्देशन पालना गर्नुहोला ।’
सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्रीले बताउनुभयाे । विदाइ कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल पनि उपस्थित हुनुहुन्थ्याे । कार्यक्रममा मन्त्रालयले प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको थियो ।