दोहा, सभामुख कृष्णबहादुर महराले चीन, भारत, गणतन्त्र कोरिया र माल्दिभ्सको संसदीय टोलीसँग शिष्टाचार भेट गर्नुभएकाे छ ।

अन्तर व्यवस्थापिका संघ (आइपियू)को १ सय ४० औं सभामा सहभागी हुन कतार आएका संसदीय प्रतिनिधि मण्डलसँग सभामुख महराले सोमबार र मंगलबार दोहास्थित होटल सेराटनमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएकाे हाे ।

भेटवार्ताका क्रममा आ–आफ्नो देशको संसदीय अभ्यास, परम्परा र अनुभव एक अर्काबीच आदान प्रदान गरिएको थियो । साथै लोकतन्त्र, विश्व शान्ति र मानवअधिकारका लागि संसदको भूमिका कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल गरिएको थियो । छुट्टाछुट्टै भएको भेटका क्रममा सभामुख महराले संसदीय प्रतिनिधिका नेतालाई नेपालको तर्फबाट गठन गरिएको संसदीय मैत्री संघको नामावली हस्तान्तरण गर्नुभएकाे थियाे।

सो अवसरमा गणतन्त्र कोरियाका प्रतिनिधि मण्डलका नेता चुन जुङ बाइले कोरिया–नेपाल संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराउँदै छिट्टै मैत्री संघका सदस्यहरुको नाम पठाउने बताउनुभयाे । सो अवसरमा चीन र माल्दिभ्सको प्रतिनिधि मण्डलले छिट्टै संसदीय मैत्री संघ गर्ने तथा भारतले चुनावपछि गठन गर्ने जानकारी गराएको थियो ।

दुई पक्षीय शिष्टाचार भेटमा चीनको तर्फबाट राष्ट्रिय जनकंग्रेसका उपाध्यक्ष शेन यूयू नेतृत्वको टोली रहेको थियो भने भारतको तर्फबाट भारतीय संसदको माथिल्लो सदन राज्यसभाका उपसभापति हरिबंश सिंह नेतृत्वको टोली आएको थियो ।

त्यस्तै, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको प्रतिनिधि मण्डलको तर्फबाट राष्ट्रिय सभाका सदस्य चुन जुङ बाइ नेतृत्वको टोली र माल्दिभ्सको संसदीय प्रतिनिधि मण्डलको तर्फबाट सांसद तथा पूर्वमन्त्री अब्दुल बारी अब्दुल्लाको टोलीसँग भेटवार्ता गरिएको थियो ।