युद्धका ती दिन, Chairman Prachanda at Sangita Khadka's 'yuddha ka tee dinharu Book release
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ‘युद्धका ती दिन’ वास्तवमा दश वर्षे जनयुद्धको क्रान्तिकारी भोगाइ भएको बताउनुभयो ।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कृष्ण सेन स्मृति दिवसकै दिन उहाँका सहकर्मी तथा सँगै गिरफ्तारीमा पर्नु भएकी जनयुद्धका योद्धा संगीता खड्काद्वारा लिखित पुस्तक ‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ को सार्वजनिकीकरण एवम् अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

दश वर्षे महान जनयुद्धका सुप्रिम कमाण्डर समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले ‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ वास्तवमा एक पत्रकारको मात्र भोगाइ नभएर दश वर्षे द्वन्द्वको क्रान्तिकारी भोगाइ भएको बताउनु भयो, ‘यो पत्रकारको मात्र भोगाइ होइन । एउटा उद्देश्यको निम्ति सर्मपित क्रान्तिकारीहरुको भोगाइ हो।’

अध्यक्ष प्रचण्डले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीको वैचारिक प्रतिबद्धताले दश वर्षे जनयुद्ध सफल भएको बताउँदै भन्नुभयो, ‘नेपाली समाजको सबैभन्दा पछि परेको र सबैले बेवास्ता गरेका मान्छेहरु नै जागेका हुन् । जनयुद्धमा गरिब दलित, मधेशी, आदिवासी, जनजाति, मुस्लिम, गरिब मजदुर किसानहरु र त्यसमा पनि महिलाहरु चुलो चौकोबाट निस्केर बन्दुक बोकेर मोर्चामा सबभन्दा अगाडि सरेको र जिउँदै जलाइँदा वा आँखा झिकेर मार्दा पनि नझुक्ने कृतिमानहरु कायम हुन पुगेका हुन् ।’

उहाँले थप्नुभयो, ‘यो पुस्तक मार्फत जिवन्त रुपमा युद्धका ती दिनलाई अभिव्यक्त गरिएको छ । र, आजको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न नेपाली समाजले, नेपाली जनताका छोराछोरीले के कस्ता त्याग र तपस्या गर्नुपर्यो, कस्तो भोगाइहरु भोग्नुपर्यो भन्ने बारेमा बडो जिवन्त रुपमा लेखकले उतार्नुभएको छ। पहिलो कुरा हाम्रो यो अहिलेको परिस्थिति जे बनेको छ यसको पछाडिको सम्पूर्ण घटनाक्रमहरु यसका पछाडि रहेका विचारहरु राजनीतिक, रणनीतिक कार्यक्रमहरुको बारेमा पुस्तकले समेटेको छ।’

नेपाली जनताले नेपालको इतिहासमै सबैभन्दा ठूलो बलिदान कसरी गरेको थियो भन्ने कुराका बारेमा अझै आधकारिक र प्रमाणिक रुपमा जति समाजिक साहित्य बाहिर आउनुपर्ने थियो, अझै आइनसकेको भन्दै उनले भने, ‘तर त्यो आउने प्रक्रिया जारी छ। विभिन्न रुपमा विभिन्न लेखकहरु, पत्रकारहरु, साहित्यकारहरु, कवि कलाकारहरुले यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सत्य तथ्य बाहिर ल्याउने प्रयास गरिरहनु भएको छ ।’ उहाँले दश वर्षे महान जनयुद्धको बलिदानले पृथ्वीनारायण शाहको एकीकरण र अन्य बलिदानलाई समेत बिर्साइदिएको पनि बताउनु भयो ।

उहाँले एकातिर श्रमजीवी वर्ग र आमुल परिर्वतनका निम्ति समर्पित व्यक्तिहरुले त्यसलाई बाहिर ल्याउने पक्रिया, त्यसलाई हेर्ने आखाँ, अर्कोतिर राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरुले त्यसलाई हेर्ने र बाहिर ल्याउने प्रक्रिया भइरहेको बताउनुभयो । संयुक्त राष्ट्र संघले त्यतिबेला के कस्ता घटनाहरु राज्यबाट भए । के कस्ता घटनाहरु विद्रोहीबाट भए । मानिसहरु कसरी बेपत्ता भए, कस्ता यातनाको बिचबाट सिंगो समाज अगाडि बढ्यो भन्ने बारेमा आफ्नो कोणबाट त्यसलाई अगाडि ल्याउने प्रयास भइरहेको बताउनु भयो ।

उहाँले त्यो क्रम अझै जारी रहने बतउँदै, ‘एउटा सानो घटना केही मानिसहरुको बलिदान भयो भने हामीले त्यसलाई बर्षौंसम्म त्यसको पक्ष वा विपक्षमा चर्चा परिचर्चा भइरहन्छ। तर, युद्धका ती दिनहरुले १० वर्षका ती दिनहरु, नेपालको इतिहासमा १५ हजार मानिसहरु मरेको दुईहजारको हाराहारीमा बेपत्ता भएको अनगिन्ती यातनाबाट गुज्रिएको र त्यसबाट अहिलेको नेपालको राजनीतिक प्रणालीसम्म आउने वातावरण बनाएछ र त्यसको सयौं वर्षसम्म चर्चा परिचर्चा भइरहन्छ,’ भन्नुभयो ।

जनयुद्धका बारेमा संगीता खड्का युद्धका ती दिनहरुका बारेमा युद्धकालका घटना र क्रान्तिकारीहरुले भोगेका पीडालाई बडो इमान्दारीका साथ पुस्तकमा उतारेकोमा आफू खुसी भएको उनले बताउनु भयो।

उहाँले पुस्तकमा कुनै काल्पनिकता नभेटेको बताउनु भयो । ‘यो पुस्तक पढ्ने कोही पनि पाठकलाई त्यतिबेलाका भोगाइहरु, संघर्षका अनुभवहरुलाई प्रत्यक्ष आफू सहभागी भए झैँ गरी अनुभूति गर्न यसले सक्षम बनाउँछ। उहाँहरुले पत्रकारको रुपमा धेरै राजनीतिक काम गर्नुहुन्थ्यो । एउटा योद्धाले पार्टी हेड क्वाटर र लिडरशिपलाई त्यो आन्दोलनको सफलताको निम्ति, राजनीतिक औचित्य सिद्ध गर्नको निम्ति विभिन्न पक्षसँग वार्ता संवादको वातावरण बनाउनको निम्ति र राज्यका सरचनाहरु पार्टी हेडक्वाटरसम्म पुर्याउनका निम्ति ठूलो योगदान गर्नुभएको छ।’

उहाँले युद्धकालमा धेरै मानिसहरु परिचालित भएको बताउनु भयो, ‘चाहे त्यो पत्रकारको रुपमा होस्, चाहे त्यो वुद्धिजीवी प्राध्यापक, विद्यार्थीको रुपमा या मानवअधिकारवादीको रुपमा होस् वा सांस्कृतिकर्मीको रुपमा सबैको योगदान उत्तिकै छ। यसको झल्को यो किताबबाट राम्रैसँग आउँछ। त्यतिबेला देशभित्र र बाहिर भूमिगत रुपमा भएका ती सबै घटनाक्रमहरु कृतिमा जस्ताका त्यस्तै उतारिएका छन्।’

मन्तव्यको क्रममा भावुक बनेका अध्यक्ष प्रचण्डले जनयुद्ध बहुआयामिक भएको समेत प्रष्ट्याउनु भयो । उहाँले दश वर्षे महान ‘जनयुद्ध यति धेरै बहुआयामिक थियो, यतिधेरै गम्भिर विचारधारात्मक र राजनीतिक प्रकृतिको थियो कि राजनीतिक ढङ्गले संवाद गर्ने कुनै पनि चाहाना हामी छोड्न चाहँदैनथियौं। हामी पहिलो दिनदेखि नै एउटा निश्चित राजनीतिक उद्देश्यद्वारा प्रेरित पार्टी हौँ र जनयुद्ध शुरु गर्नुभन्दा अगाडि पनि राज्यसँग संवादमा थियौं, संवादबाट सकारात्मक ढङगले समाधान निस्कन्थ्यो भने हामी युद्धमा जाने पनि थिएनौं ।’