प्रगतिशील कवि तथा महान् साहित्यकार कमरेड कृष्ण सेन 'इच्छुक', Krishna Sen Ichchhuk
 

आज जेठ १३ गते मेरा सहधर्मी र सहकर्मी क. कृष्ण सेन ‘इच्छुक’ अर्थात् एक होनहार बहुआयामिक प्रतिभाका धनी एवम् एक क्रान्तिकारी व्यक्तित्वको क्रूरतापूर्वक हत्या गरिएको दिन ।

राप्तीदेखि बाग्मती क्षेत्रीय ब्युरोसम्म राजनीतिक, संगठनात्मक, साहित्यिक-सांस्कृतिक र पत्रकारिता आदि क्षेत्रबाट देश, जनता, पार्टी र क्रान्तिका लागि आफूलाई समर्पित गर्ने क्रममा तपाईं हाँसीहाँसी मर्नुभयो र अजर-अमर बन्नु भयो तर म भने रोइरोई गुमनाम भई बाँचेको छु ।

यस अर्थमा सेनजी लगायतका अन्य सहिदहरू र बेपत्ता पारिनुभएका मेरा अर्का सहधर्मी र सहकर्मी कमरेड डण्डपाणी न्यौपाने अर्थात् इमान्दारिता, कर्तव्यपरायणता र क्रान्तिकारिताका एक पर्याय व्यक्तित्वलगायत सबै बेपत्ता योद्धाहरूप्रति स्मरण, श्रद्धार्पण र अभिवादन गर्न चाहन्छु ।

Narayan Sharma Kamal Prasad
लेखक

एक न एक दिन हामी सबै मर्ने वा यस संसारबाट गायव हुने हाम्रो अनिबार्य र अपरिहार्य नियति नै हो तर त्यो जनता र देशका लागि लड्दा लड्दै दुश्मनले मारेर मर्ने वा बेपत्ता पारेर गायव हुने कुरा धेरै भाग्यशाली र गौरवशाली कुरा हो । किनकि, तपाईंहरू भन्दा बढी क्रान्तिकारी ठानिएका कतिपय बडेबडे नेताहरूको स्वार्थी सोच, शैली, संस्कार र संस्कृतिका कारण आज पार्टी र क्रान्तिमा अनि देश र जनतामा आइरहेको विचलन र विभाजनको आरोप र पीडाबाट यहाँहरू मुक्त हुन पाउनुभयो ।

स्मरणीय छ कि यहाँहरुले रगत-पसिना बगाएर बनाएको, एकताबद्ध गरेको र चलाएको माओवादी पार्टी र आन्दोलन आज चिरैचिरा परेको छ र तपाईंहरूलाई सम्झना र श्रद्धा गर्दा पनि छोइछिटो लाग्ला भनेझैँ गरी अलग-अलग भान्सोमा संकृर्ण बाहुनहरूले आआफ्ना स्वार्थी खिचडी पकाइरहेका छौँ र खिचडी खाँदै गरेका तिनै जुठा मुख र हातहरूले एकले अर्कालाई गाली गर्ने र कुटमार गर्ने खेलसमेत हामी खेल्ने गरिरहेका छौँ ।

यसरी आज क्रान्ति र क्रान्तिकारी विचार र व्यक्तित्वको मात्र होइन, देश र जनताको अवस्था र व्यवस्था समेत अत्यन्त भताभुङ्ग र भयावह एवम् दयनीय र दुःखमय भएको छ । कमसेकम यो भय र दुःखको अनुभूति अनि यो पीडा र छट्पटीको भुक्तमान त यहाँहरूले गर्नु परेन ।

हो, यो कुरा बेग्लै हो कि यहाँहरु भौतिकरूपमा बाँचेको भए यो परिस्थितिलाई फेर्न केही खबरदारी गर्न सक्नु हुन्थ्यो वा यो अवस्थाका विरुद्ध कम्तिमा आगो ओकल्नु हुन्थ्यो होला । तैपनि यो प्रश्न र खतरालाई पनि नजर अन्दाज गर्न सकिन्न कि आज यहाँहरुभन्दा बलिया र ठुला खम्बाहरु हल्लिरहेको, गलिरहेको र ढलिरहेको सन्दर्भमा यिनकै तप्कनिमुनि यहाँहरुको पनि के-कति प्रगति र उन्नति हुन्थ्यो होला र ?

जे होस्, अद्यापि यहाँहरुका सपना अधुरा र जपना अपूरा भएपनि र हाम्रा क्रान्तिकारी विचार र भावना, रोदन र क्रन्दन अनि आवाज र आन्दोलनलाई “कौन पुछे खेसरीका दाल” गराए पनि अन्ततः यहाँहरूको विचार र आचार अनि योगदान र बलिदान खेर जाने छैन वा खेर जान दिइने छैन । यसरी नै यहाँहरुका सपना र जपना साकार हुने/गराइने छ र यहाँहरूप्रति पनि सच्चा सम्झना, अभिवादन र श्रद्धाञ्जली हुनेछ ।

हार्दिक श्रद्धाञ्जली ! अमिट सम्झना र आत्मीय सलामी !!