Flag of All Nepal Peasants' Federation (Revolutionary Centre), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) काे झण्डा
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई किसान महासंघहरुको एकता बराबरीका आधारमा गर्ने गरी सहमति भएको छ ।

२०७६ जेठ ३१ गतेदेखि असार ०६ गतेसम्म बसेको संयुक्त भेलाले सो सहमतिका आधारमा एकता प्रकृयालाई गति दिएको छ । नेकपाभित्रको अहिलेसम्मको एकता प्रक्रियालाई विश्लेषण गर्दा दुई किसान महासंघ बिचको एकता सबैभन्दा पहिलो मात्रै नभएर सबैभन्दा सम्मानजनक, दुवै संगठनमा अन्तरघुलन हुन सजिलो हुने गरी र एकता प्रक्रियापछि विवादहरु नआउने र आइहालेमा सहमतिका आधारमा समाधान गर्न सहज हुने गरी सम्पन्न भएको छ ।

दुई किसान महासंघको संयुक्त भेलाबाट २५१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ, जसमा अखिल नेपाल किसान महासंघको तर्फबाट १२६ जना र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तर्फबाट १२५ जना रहने गरी सहमति भएको छ ।

त्यसरी नै संगठनको ५१ सदस्यीय केन्द्रीय सचिवालय गठन गर्ने निर्णय भएको छ, जसमा अखिल नेपाल किसान महासंघको तर्फबाट २६ जना र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तर्फबाट २५ जना रहने गरी सहमति भएको छ ।

भेलाद्वारा एकीकृत संगठनको ९ सदस्यीय केन्द्रीय कार्यालय निर्माण भएको छ, जसलाई स्थायी समिति भन्ने सहमति भएको छ भने स्थायी समितिमा तत्कालीन अखिल नेपाल किसान महासंघको तर्फबाट ५ जना र तत्कालीन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तर्फबाट ४ जना रहने सहमति भएको छ ।

दुई किसान महासंघहरु र तिनीसँग आबद्ध दुवै तर्फका २६–२६ गरी ५२ वटा विषयगत, वर्गीय र सामुदायिक किसान संघहरुको एकतालाई सहज बनाउन, महासंघका राजनीतिक/वैचारिक तथा संगठनात्मक गतिविधिहरुलाई तीव्रता दिन, एकता प्रक्रियालाई स्थानीय निकायसम्म सम्पन्न गरी यथाशीघ्र एकता राष्ट्रिय सम्मेलन गर्नका लागि अखिल नेपाल किसान महासंघको शक्तिशाली स्थायी समिति निर्माण गरिएको बताइएको छ ।

अखिल नेपाल किसान महासंघको स्थायी समितिमा संयोजक क. वामदेव गौतम, सहसंयोजक क. चित्रबहादुर श्रेष्ठ तथा सदस्यहरुमा क. केशवलाल श्रेष्ठ, क. हरिप्रसाद पराजुली, क. शारदाप्रसाद सुवेदी, क. बलराम बाँस्कोटा, क. सेसुराम भण्डारी, क. नहेन्द्र खड्का र क. केपी बराल रहनु भएको छ, जसमा पूर्व एमाले पक्षबाट क. वामदेव गौतम, क. केशवलाल श्रेष्ठ, क. हरिप्रसाद पराजुली, क. शारदाप्रसाद सुवेदी, क. बलराम बाँस्कोटा र पूर्व माओवादी पक्षबाट क. चित्रबहादुर श्रेष्ठ, क. सेसुराम भण्डारी, क. नहेन्द्र खड्का र क. केपी बराल रहनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मिति २०७६ जेष्ठ ०२ गतेको पार्टी केन्द्रीय सचिवालयको निर्णय अनुसार भातृसंगठनहरुमा बढीमा २५१ सदस्य सम्मको केन्द्रीय समिति, ९९ जनाको सचिवालय र ९ जनासम्मको केन्द्रीय कार्यालय गठन गर्न सकिने व्यवस्था छ ।

सहमति भए अनुसार अखिल नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को एकता पश्चात बन्ने एकीकृत किसान संगठनको नाम ‘अखिल नेपाल किसान महासंघ’ रहनेछ ।

एकीकृत किसान महासंघको नाम एमाले पक्षको र झण्डा माओवादी पक्षको, लोगो मिश्रित, स्थापना मिति माओवादी पक्षले मान्दै आएको र किसान गीत एमाले पक्षले गाउँदै आएको हुने गरी सहमति भएको छ ।

यो पनि पढ्नुहोस्ः

नेकपाका दुई किसान महासंघको एकता ‍‌- नाम एमाले पक्षको, झण्डा माओवादी पक्षको