Flag of All Nepal Peasants' Federation (Revolutionary Centre)
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्तिशाली जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा अबिलम्ब विषादी परीक्षण सुरुवात गर्न माग गरेको छ ।

आज महासंघको केन्द्रीय कार्यालय काठमाडौँमा बसेको महासंघको स्थायी समितिको बैठक पश्चात एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।

महासंघका संयोजक क. वामदेव गौतमद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा “नेपाल सरकारले २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी भारतबाट आयात हुने तरकारी तथा फलफूलहरुको विषादी परीक्षण गरेर मात्रै ल्याउन पाउने निर्णय भएको र त्यसका विरुद्ध भारतीय राजदुतावासद्वारा सो निर्णय रोक्नका लागि चुनौतीपूर्ण भाषा प्रयोग गर्दै गैरकुटनीतिक तरिकाले नेपाल सरकारलाई पत्राचार गरेकोमा अखिल नेपाल किसान महासंघको आज बसेको स्थायी समितिको बैठकको गम्भीर ध्यानाकर्षण भएको छ” भनिएको छ ।

नेपाली किसानहरूको सबैभन्दा ठूलो संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले भारतीय कृषि उत्पादनहरुमा अत्यधिक मात्रामा मानव स्वास्थ्य र वातावरणमा गम्भीर क्षति पुराउने रासायनिक विषादीहरु प्रयोग गरिने र भारतबाट नेपालतर्फ तरकारी तथा फलफूल आयात गर्ने आयातकर्ताहरुले कुनै पनि फाइटोसिनेटरी क्लियरेन्सको कागजपत्रहरु पेश नगर्ने भएका कारणले सो निर्णय लागू गर्नु परेको बताएको छ ।

भर्खरै एकता प्रकृयालाई निष्कर्षमा पुराउँदै मुलुकको शक्तिशाली जनवर्गको प्रतिनिधित्व गर्ने किसान महासंघले भारतीय राजदुतावासको हस्तक्षेपकारी पत्रको विरूद्ध समेत आक्रोस पोखेको छ । “भारतीय राजदुतावासलाई ज्ञात होस् कि नेपाल अति कम विकसित मुलुक हुनुको नाताले नेपाल सरकार विश्व व्यापार संगठनका कैयौँ प्रावधानहरु लागु गर्ने सम्बन्धमा अल्पविकसित देशहरुले प्राप्त गर्ने सुविधा उपयोग गर्ने र नेपाली किसानहरु तथा आमउपभोक्तको हित रक्षा गर्ने अधिकार राख्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

अखिल नेपाल किसान महासंघले विज्ञप्तिमार्फत “नेपाल सरकारलाई आवश्यक सम्पूर्ण तयारी पूरा गरी भारतबाट आयातित सबै तरकारी तथा फलफूलहरुको विषादी पुनः परीक्षण सुरु गर्न र नेपाली आमउपभोक्तालाई विषादीयुक्त तरकारी तथा फलफूलहरु सेवन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र आम उपभोक्ताको हक, हित तथा अधिकार संरक्षण गर्न” जोड्दार माग गरेको छ।

प्रेस विज्ञप्तिको पूर्ण पाठः

नेपाल सरकारले २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी भारतबाट आयात हुने तरकारी तथा फलफूलहरुको विषादी परीक्षण गरेर मात्रै ल्याउन पाउने निर्णय भएको र त्यसका विरुद्ध भारतीय राजदुतावासद्वारा सो निर्णय रोक्नका लागि चुनौतीपूर्ण भाषा प्रयोग गर्दै गैरकुटनीतिक तरिकाले नेपाल सरकारलाई पत्राचार गरेकोमा अखिल नेपाल किसान महासंघको आज बसेको स्थायी समितिको बैठकको गम्भीर ध्यानाकर्षण भएको छ ।

भारतीय कृषि उत्पादनहरुमा अत्यधिक मात्रामा मानव स्वास्थ्य र वातावरणमा गम्भीर क्षति पुराउने रासायनिक विषादीहरु प्रयोग गरिने र भारतबाट नेपालतर्फ तरकारी तथा फलफूल आयात गर्ने आयातकर्ताहरुले कुनै पनि फाइटोसिनेटरी क्लियरेन्सको कागजपत्रहरु पेश नगर्ने भएका कारणले सो निर्णय लागू गर्नु परेको हो । र, भारतीय राजदुतावासलाई ज्ञात होस् कि नेपाल अति कम विकसित मुलुक हुनुको नाताले नेपाल सरकार विश्व व्यापार संगठनका कैयौँ प्रावधानहरु लागु गर्ने सम्बन्धमा अल्पविकसित देशहरुले प्राप्त गर्ने सुविधा उपयोग गर्ने र नेपाली किसानहरु तथा आमउपभोक्तको हित रक्षा गर्ने अधिकार राख्दछ ।

आवश्यक अनुसन्धान तथा पूर्वतयारीको अभावमा गरिएको भए पनि नेपाल सरकारको सो निर्णय सही र नेपाली किसानहरु तथा आम उपभोक्ताको पक्षमा थियो । परन्तु भारतीय राजदुतावासले पत्राचार गरेलगत्तै नेपाल सरकार आफ्नो निर्णयबाट असार १९ गते पछि हट्ने कार्य त्रुटीपूर्ण छ । यसबाट एकातिर आम नेपाली जनतामा नेपाल सरकार भारतसँग आत्मसमपर्ण गरेको भ्रम फैलन पुगेको छ भने विगतमा नेपाली किसान विरोधी नीतिहरु लाद्ने प्रतिपक्षी दल सडकमा उत्रने अवस्था सिर्जना भएको छ । नेपाली काँग्रेस लगायतका शक्तिहरु सरकारविरुद्ध सडकमा उत्रनु भारतीय राजदुतावासको पत्राचारको विरुद्धमा हो वा नेपाल सरकारले गरेको निर्णयका विरुद्ध हो, त्यो समेत प्रष्ट छैन । यसले जनतालाई थप भ्रम सिर्जना हुन पुगेको छ । नेपालबाट भारततर्फ निर्यात हुने तरकारी तथा फलफूलहरुमा विषादी परीक्षण गर्नुपर्ने प्रावधानहरु कायमै छ ।

यस परिप्रेक्ष्यमा अखिल नेपाल किसान महासंघ नेपाल सरकारलाई आवश्यक सम्पूर्ण तयारी पूरा गरी भारतबाट आयातित सबै तरकारी तथा फलफूलहरुको विषादी पुनः परीक्षण सुरु गर्न र नेपाली आमउपभोक्तालाई विषादीयुक्त तरकारी तथा फलफूलहरु सेवन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र आम उपभोक्ताको हक, हित तथा अधिकार संरक्षण गर्न जोड्दार माग गर्दछ ।

वामदेव गौतम

संयोजक