भारतमा वामपन्थी, Indian Communist Movement
 

भर्खरैजसो बेलायती लेखक आर्थी ब्राउनको संसारका कम्युनिस्ट पार्टीहरुकोबारे विवेचना गरिएको पुस्तक “The Rise and Falls of Communism” नामक पुस्तकको चर्चा पढेँ । निकै चर्चित यस पुस्तकमा उनले भारतीय कम्युनिस्ट पार्टीको उत्थान र पतनबारे एक लेख लेखेका छन्, यस लेखको चर्चा भएको छ ।

यो चर्चा मेरो फेसबुक कक्षमा जानेमाने कम्युनिस्ट नेता कमरेड स्वनाम साथीको सहयोगबाट प्राप्त भएको हो । यसले भारतीय कम्युनिस्ट पार्टीको स्थापना, कम्युनिस्ट सरकारको उदय र अस्तबारे संक्षिप्त तर पुग्दो मात्रामा टिप्पणी गरेको छ, जसलाई सरसर्ती अध्ययन गर्दा केही समययता मैले लिएका धारणासँग मेल खाएको अनुभव भयो ।

Sheshmani Acharya
लेखक

त्यसैको सेरोफेरोमा रहेर मैले यहाँ यो छाेटो टिप्पणी तयार गरेँ । यसलाई सबैभन्दा पहिले मेलै कमरेड स्वनामलाई नै भेट गरेँ । उहाँले यसलाई हार्दिकतापूर्वक स्वीकार गर्नुभयो । त्यसरी नै भारतमा “हिन्दुस्तान शोसलिस्ट रिपब्लिकन एसोसिएसन”का केन्द्रीय संयोजक कामरेड आई.जे. राय र अरु केही वाम कमरेडहरुलाई पनि यसको हिन्दी अनुवाद पठाएको छु । उहाँहरुको भने अहिलेसम्म प्रतिक्रिया पाएको छैन ।

भारतमा भर्खरै आमचुनाव सम्पन्न भएको छ । विश्वमा भारत आधुनिक शक्ति-राष्ट्रको रुपमा उदाउँदै गरेको देश हो, जहाँ ठूलो मजदुर वर्गको अस्तित्व छ । त्यसैगरी अर्को विडम्बना पनि छ, त्यहाँ करोडौँको सङ्ख्यामा गरिबी, भोकमरी, सडकवास भएका गरिब वर्गको अस्तित्व बिझाउने गरी छ । त्यसैगरी अनेक आदिवासी जनता पनि समस्याग्रस्त छन् ।

भारतीय समाजको संरचना हेर्दा त्यहाँको समृद्धि, समानता मार्क्सीय समाजवाद बाहेक अरु विकल्प हुन सक्दैन तर यसपटक भारतीय कम्युनिस्ट पार्टीहरुले आफ्नाे विगतको छवीलाई कायम राख्न सकेनन् । लगभग ३४-३५ वर्षसम्मको बङ्गालको कम्युनिस्ट शासन नराम्ररी ढल्यो । यस्तै समस्यालाई मनन गरी याे छोटो अभिलेख तयार पारेको छु र यसले हाम्रो विद्यमान नेपाली समाजलाई पनि केही इशारा गर्न सक्छ ।

निश्चय नै, भारतीय कम्युनिस्ट पार्टीको लामो इतिहास हुँदाहुँदै पनि यसको उत्थान हुन नसक्नुमा यसको सिद्धान्त र व्यवहारमा तालमेल नहुनु नै मुख्य कारण हो । बृटिश शासनताका भारतीय कम्युनिस्टहरूको भूमिका चित्त बुझ्दो भएन । तर भारतको स्वतन्त्रतापछि सम्पन्न आम चुनावहरुमा उसको उपस्थिति त्यति कमजोर पनि रहेन । तर सोभियत संघ र पूर्वी यूरोपका साम्यवादी शासन नराम्ररी जब ढले तिनका केही कारण र भारतीय कम्युनिस्ट पार्टीको पतनका कारणमा सदृश्य हुन आउँछ ।

मुख्यतः भारतीय कम्युनिस्ट पार्टीको मानसिकता सुरुदेखि नै पराधीनतामा आधारित रह्यो । यसले कहिले दक्षिणपन्थी र कहिले उग्रवामपन्थी गल्ति गरिरह्यो, जुन कुरा पहिलो भारतीय कम्युनिस्ट नेता (?) एम.एन. रायको पालादेखिपछि डाँगे, बिटी रणदिवेदेखि अहिलेसम्म नै रहिरह्यो ।

चीनमा स्टालिनसँग मतभेद भएपछि माओले चिनियाँ क्रान्तिको मौलिकताको विकास गर्नुभयो भने भारतीय कम्युनिस्ट पार्टी भने कहिले रुसजस्तो, कहिले चीनजस्तो हुँदै गयो । यो भारतमा डाँगेको पालामा सिपिईको माध्यमबाट काँग्रेसको पुच्छर नै बन्यो ।

मार्क्सवादी इतिहासकार एवं उत्कृष्ट विद्वान् श्रीपाद अमृत डाँगे र एम.एन. रायसमेत कम्युनिस्ट आन्दोलनबाटै विचलित र पलायन हुन पुगे । यसरी नै बिटी रणदिवेको पालामा भएको तेलङ्गाना क्रान्ति पनि असफल भयो ।

पछि चारु मजुमदारले नेतृत्व गरेको नक्सलवादी सशस्त्र किसान क्रान्तिदेखि अहिलेसम्मकै भारतीय माओवादीहरुकाे चालु क्रान्ति पनि खालि धर्म निर्वाह जस्तै भएको छ । करिब ३४-३५ वर्ष लगातार शासनमा रहेको पश्चिम बङ्गाल र त्रिपुराजस्ता राज्यबाट कम्युनिस्ट पार्टीले शर्मनाक हार बेहोर्नुपर्यो ।

वास्तवमा यसको कारण उसभित्र जरो गाडेको नोकरशाहीतन्त्र नै हो । जसको कारणले कार्यकर्ताहरुमा उत्पन्न भ्रष्टाचार र ठालुपनले नै पार्टी पूर्णतया जनताबाट अलग-थलग भयो । एकपटक देखापरेको यस्तो पुच्छरवादी गलत प्रवृत्ति जति सुधार्न खोजेपनि सफल हुन सकेन । यो काम सम्पन्न गर्न न त डाँगे, रणदिवे, ज्योति वसु, नम्बुदिरिपाद, चारु मजुमदारले सके, न ती पछिका वा अहिलेका नेताहरूले सके ।

आचरणमा देखापरेका यस्ता विकृतिले नै भारतीय कम्युनिस्ट आन्दोलनको यस्तो नियति बनायो ।अबका दिनमा भारतीय कम्युनिस्ट आन्दोलन जटिल जीवनमरणको संघर्षबाट गुज्रन बाध्य हुनेछ ।

(लेखक पुराना कम्युनिस्ट नेता हुनुहुन्छ ।)