Chairman Prachanda Pushpa Kamal Dahal Prachanda
 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कम्युनिस्टहरुको एकतालाई निर्वाचन मार्फत नेपाली जनताले दिलैदेखि गरेको स्वागत र अनुमोदनको योगदानलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताउनुभएको छ ।

वन तथा वातावरण मन्त्रालय र सामुदायिक वन उपभोक्त महासंघ, नेपालद्वारा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याई पुर्‍याइदियो । हामी असफल भयौं भने नेपाल राष्ट्र असफल हुन्छ । राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ ।’

उहाँले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली स्थापना गरेको जनतालाई बोझ थप्न नभएको भन्दै जनतामा भएको बोझलाई हल्का गर्न र जनतालाई सेवा प्रदान गर्नका लागि भएको बताउनुभयो । सबैले कर उठाएर करको भार जनताको थाप्लोमा थोपर्ने बिल्कुल उद्देश्य नभएको उहाँको भनाई थियो । ‘हामीले त जनतालाई घरदैलोमा नै सेवा दिने भनेका हौं । हामीले रोपेको एउटा अर्कै उर्मेला जस्तो भएको छ, ’ उहाँले भन्नुभयो ।

उहाँले अहिले हामी ढिलै भएपनि पार्टी एकतालाई अन्तिम रुप दिने ठाउँमा आई पुगेको बताउनुहुँदै अबको दशक भनेको समृद्धि र विकासको दशक भएको स्पष्ट पार्नुभयो । उहाँले सो अवसरमा नेपाल कम्युनिस्ट पार्टीको बलियो सरकार सबैका लागि अवसर हो भन्दै जनतालाई बलशाली बनाउने कार्यमा सबै पक्ष लागी पर्न अपिल पनि गर्नभयो ।

‘सबै प्रगतिशील, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामहरुलाई अगाडि बढाउने अवसर नेपालमा फेरि प्राप्त हुन्छ कि हुन्न । यो भन्दा राम्रो अवसर हुनै सक्दैन । हामीले वन पैदावरको वैज्ञानिक व्यवस्थापनका लागि अझै धेरै गर्न काम बाँकी छ,’ उहाँले भन्नुभयो । उहाँले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुसार निर्वाचन र त्यस अन्तर्गत ऐन नियमहरुको निर्माणको प्रक्रियामा रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघीयताको प्रयोग आफूहरुले सोचेजस्तो नभएकोमा चिन्ता व्यक्त गर्दै ‘गाउँ–गाउँमा सिंहदरबार भनिए पनि कतिपय ठाउँमा उल्टो भएको’ र ‘जनताले एउटै विषयमा दोहोरो वा तेहरो कर तिनुपर्ने अवस्था आएको’ बताउनु भयो । ‘सबैले कर लगाएर जनताको थाप्लोमा करको भारी थोपर्न तीन तहको सरकार स्थापना गरेको होइन।’

तीन तहको सरकारले एउटै विषय कर लगाउँदा संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको अधिकार स्थापित गर्छ भन्ने विश्वासमाथि प्रश्न उठ्ने भन्दै उहाँले, ‘आफैंलाई विडम्बना लाग्छ। रोपेको एउटा थियो, अर्कै उम्रिन खोजेको छ।’

उहाँले थप्नुभयो, ‘जनताले हिजो जिल्लामा पाएको सेवाका लागि काम प्रदेशमा जाने भनेको होइन, घरदलौमा दिने भनेको हो । तर, कयौं ठाउँमा उल्टो भएको छ, जनताले हिजो जिल्लाबाट पाउने अधिकार स्थानीय तहमा पाउनुपर्थ्यो, उल्टो प्रदेश धाउनुपरेको छ।’

सबै सरकारले विधेयकहरु बनाउन क्रममा एकआपसमा बाझिनसक्ने भन्दै नेकपाका अध्यक्ष प्रचण्डले सामुदायिक वनलाई दोहोरो कर लगाउन नदिइने आश्वासन दिनुभयो ।