Mohan Bikram singh, Gobinda Singh Thapa Haank weekly
 

काठमाडौँ । नेकपा (मसाल) बाट हालसालै निष्कासित पुराना कम्युनिस्ट नेता तथा हाँक साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक गोविन्दसिंह थापाले हाँक साप्ताहिक बन्द नहुने बताउनु भएको छ ।

एक वक्तव्य जारी गर्दै नेता थापाले हाँक साप्ताहिकलाई जसरी आजसम्म पार्टीले चलाएको छ, त्यसैगरी पार्टीले नै चलाउनु पर्ने बताउनु भएको छ । उहाँले आफूमाथिको कार्बाही अनपेक्षित नभएको र कुनै प्राइभेट कम्पनीलाई हाँक साप्ताहिक जिम्मा लगाउइनु हुन्न भनेर आवाज उठाउँदा आफूमाथि प्रतिशोधपूर्ण ढंगले डण्डा चलाइएको पनि बताउनु भएको छ ।

वक्तव्यको पूर्ण पाठः

ने.क.पा. (मसाल) को २०७६ भाद्र ५ गते बसेको पी.वी.को बैठकले “गोविन्दसिंह थापालाई पार्टी सदस्यताबाट समेत अनिश्चितकालका लागि निष्काशित गरेको” कुरा हिजो भाद्र १० गते जारी पार्टीको वक्तत्वबाट मलाई जानकारी हुन आएको छ । यो मेरो लागि कुनै अप्रत्यासित र अनपेक्षित विषय होइन, लामो समयदेखि पार्टीभित्र क्रान्तिकारी वामपन्थी र दक्षिणपन्थी विचारका बीचमा चलेको तीब्र संघर्षको सिलसिलामा आठौं महाधिवेशन भन्दा पहिले धेरै कमरेडहरु निलम्वन र निष्काशनमा पर्नु भएको थियो भने महाधिवेशन पछिको अवस्थामा पहिलो प्रहार ममाथि गरिएको छ ।

यसबाट देश विदेश रहने कुनै पनि कमरेडहरु नआत्तिन, उत्तेजित नहुन र अनुशासित ढंगले काम गर्न म हार्दिक अपिल गर्दछु । किनकि यो भित्री पार्टी संघर्ष निरन्तर चलिरहने कुरा हो ।

हाम्रो पार्टीको आठौं महाधिवेशनमा अल्पमतको र बहुमतका विचारमा व्यापक छलफल भएको थियो । त्यो बेला म अल्पमतको क्रान्तिकारी वामपन्थी विचारको पक्षमा उभिएको थिँए । म बहुमतको दक्षिणपन्थी लाइनमा उभिएको भए सायद म निष्कासित हुने अवस्था आउने थिएन । महाधिवेशनमा प्राविधिक बहुमत जुटाएर दक्षिणपन्थी विचार पारित गराउने महामन्त्रीले महाधिवेशनपछि पनि अल्पमत पक्षका कमरेडहरुलाई एक एक गरेर अनेक प्रकारले प्रताडित गरिराख्नु भएको छ र महाधिवेशनदेखि नै अल्पमतले पार्टी फुटाउछ भनेर हल्ला गरिरहनु भएको छ । तर अल्पमतले उहाँले भने जस्तो गरी पार्टीलाई फुटाउने कहिल्यै प्रयत्न गरेन ।

आफूले भविष्यवाणी गरेजस्तो नभएपछि महामन्त्री यतिबेला अतालिनु भएको छ । महाधिवेशनपछि त्यो संघर्षलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोंचाई महामन्त्रीमा कहिल्यै देखिएन । एकातिर सिद्धान्ततः पार्टीभित्र दुई लाइन संघर्ष एउटा जीवित पार्टीभित्र चलिरहने कुरा हो भनेर स्वीकार गर्ने अर्काेतिर, पार्टीभित्र एकमनावाद लाद्न खोज्ने, यो दार्शनिकरुपले अधिभूतवादी र व्यवहारमा सामन्तवादी पद्धति हो । यो पद्धतिललाई मैले मात्र होइन, पार्टीभित्रका हजारौं पार्टी सदस्यहरुले विरोध गर्दै आउनु भएको छ ।

यो अधिभूतवाद, सामन्तवाद र प्राधिकारवादको विरुद्धको भित्री पार्टी संघर्षलाई रोक्नका लागि मलाई कार्वाही गर्दैमा रोकिन्छ भन्ने सोंच्नु सूर्यलाई हत्केलाले छेक्नु सरह हुनेछ । फरक विचारलाई सम्मान नगर्ने, कार्यकर्ताहरुलाई उचित जिम्मेवारी नदिने भिन्न विचारको सवालमा छलफल नगर्ने र जनवादी केन्द्रियताको सही प्रयोग नगरेर सबैलाई कार्वाही गरेर नै तह लगाउन सकिन्छ भन्ने सोंच्नु लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत कुरो हो । यसले एकातिर पार्टीलाई विसर्जनवाद तर्फ धकेल्दै छ भने अर्कोतर्फ क्रान्तिकारी विचारलाई योजनाबद्ध किसिमले छिन्नभिन्न पारिंदैछ ।

महामन्त्री कमरेडले विज्ञप्तिमा लेख्नुभएको छ गोविन्दसिंह थापाले “पहिले कै जस्तो गरेर हाँकलाई प्रकाशित गर्न तयार भएको तर प्रालिमा लैजान तयार नभएको” भन्ने उल्लेख गर्नु भएको छ । मैले प्रालिमा हाँकलाई लैजानु हुन्न भनेर अस्वीकार गरेकै हो । यो पत्रिका पार्टीकै निर्देशनमा मेरो नाममा दर्ता भएको हो । यो पत्रिकाको स्थापना शहिद शोभाखर धनञ्जय (सरोज शर्मा) ले गर्नुभएको थियो । कैयौं पटक पंचायती तानाशाही व्यवस्थाको आक्रमणको शिकार बन्न पुग्यो । त्यसको बाबजुद पनि क्रान्तिकारी विचारलाई निरन्तर जनतामा प्रवाह गर्दै आएको यसको गौरवपूर्ण इतिहास छ । पार्टी केन्द्रमा दक्षिणपन्थी विचार हावी भएपछि पत्रिकालाई प्रालिलाई दिने प्रस्ताव आएको थियो । तर मैले त्यसलाई स्वीकार गरिन । यो पार्टीकै पत्रिका हो । पार्टीबाटै चलाउनुपर्छ भन्ने मेरो मान्यता हो ।

यहाँसम्म हाँकको यात्रालाई निरन्तरता दिन र अहिले “क” वर्गमा स्थापित गर्नमा हजारौं कार्यकर्ता र शुभचिन्तकहरुको खुन पसिना भिजेको छ र अहिले पनि पटक पटक कार्यकर्ता र शुभचिन्तकहरुको सहयोगबाट चलिरहेको छ । यो अवस्थामा कुनै कम्पनीको जिम्मा लगाएर हाँक प्रकाशनबाट पार्टी पन्छिनु हुँदैन भन्ने मेरो मान्यता हो । हाँकको प्रकाशक र सम्पादक म भए पनि मबाट कुनै प्रकारको निर्देशन जाने गरेको छैन । त्यसको पछिल्लो उदाहरण वर्ष ३६ अंक ४० मा मेरो विरुद्ध महामन्त्रीको वक्तव्य तथा जिम्मेवार कमरेडहरुका लेखहरु प्रकाशित हुनुले पनि त्यो कुरा स्पष्ट पार्दछ । मैले पार्टीलाई पत्रिका नदिएको कसरी भयो ? म पार्टी केन्द्रसित सोध्न चाहन्छु, शहिद शोभाखर धनञ्जय र उहाँकी पत्नीले हामीलाई हस्तान्तरण गरेको क्रान्तिकारी विचार बोकेको पत्रिकालाई पार्टीले चलाउनु पर्छ कि कम्पनीलाई जिम्मा दिएर पन्छिनुपर्छ ? एउटा क्रान्तिकारी विचार बोकेको पत्रिकालाई कम्पनीलाई संचालन गर्न दिनु अनुशासनविहीनता पनि नहुने र अनैतिक पनि नहुने । तर पार्टीको हातको पत्रिका कम्पनीलाई दिन नखोज्नु कसरी अनुशासनविहीन र अनैतिक हुन्छ ? मैले महामन्त्रीलाई अहिले पनि भन्न चाहन्छु, पत्रिका बन्द गर्ने निर्णय पुनर्विचार गर्नोस, पत्रिका पार्टीले नै चलाउनु पर्छ अझै केही बिग्रेको छैन । पार्टीबाट मलाई निष्कासित गरेपनि केही फरक पर्दैन तर पत्रिका पार्टीले उही रुपमा चलाउनु पर्छ भन्ने मेरो मान्यता छ ।

यो मेरो सम्पत्ति होइन, यो क्रान्तिकारी श्रमजीवी वर्गको साझा सम्पत्ति हो । म त संरक्षक मात्र हो । म ४० वर्षदेखि सुगर रोगबाट पीडित छु । अहिले म दौडधुप गर्न र सक्रिय हुन सक्दिन । यो अवस्थामा यदि पार्टी केन्द्रले बन्द गर्छ भने त्यसलाई चुप लागेर टुलुटुलु हेरेर बस्न पनि सकिन्न । म त्यसलाई निरन्तरता दिन बाध्यताले प्रयास गर्नुपर्दछ । यो पत्रिका सबै क्रान्तिकारी साथीहरुको साझा सम्पत्ति भएको हुनाले यसलाई बन्द भएको देख्न सक्नु हुनेछैन भन्ने कुरामा पनि म पूर्णतः विश्वस्त छु ।

अन्तमा एउटा महत्वपूर्ण कुराको उल्लेख गर्न चाहान्छु । क. महामन्त्रीले शोभाखर धनञ्जयलाई शहिद भनेर लेख्नु भएको छ । त्यो देख्दा मलाई खुशी लागेको छ । शहिदलाई शहिद भन्दा खुशीलाग्नु स्वाभाविक हो । तर गणतन्त्र स्थापनापछि सरकारले सबै पार्टीसित शहिदहरुको सिफारिस माग गरेको बेला उहाँले शोभाखर धनञ्जयलाई हाम्रो पार्टीको शहिदको सूचीमा राख्नुु भएन । आज बडो दुःखको साथ यो कुरा मैले उठाउनु परेको छ । जब पत्रिका बन्द गर्नुपर्‍यो, यतिबेला मलाई “शहिद शोभाखर धनञ्जयमाथि विश्वासघात गरेको” भनेर आरोप लगाउनु भएको छ । “विश्वासघात” कसले गरेको छ ? स्वतः स्पष्ट छ । अर्को कुरा पनि जोड्न चाहान्छु, आज भदौ ११ गते शोभाखर धनञ्जय, नयाँ दिल्लीमा नेपाली एकता मासिक पत्रिका बेलारोडमा बिक्री गर्न जाँदा पडयन्त्रमूलक तथा रहस्यमय ढंगबाट हत्या गरिएको थियो । प्रत्येक वर्ष हाँक साप्ताहिकमा शहिद शोभाखर धनञ्यको स्मृतिमा लेख तथा समाचार छापिन्थे । आजको अंकमा शहिद धनञ्जयको स्मृतिमा एक शब्द पनि नलेख्ने र त्यही स्मृति दिवसको अवसरमा उहाँले स्थापना गरेको हाँक साप्ताहिकलाई सधैका लागि बन्द गर्ने पार्टी केन्द्रले शहिद भनेर गोहीका आँसु चुहाउनुको कुनै तुक छैन ।

हाँकका सम्पूर्ण शुभचिन्तक, पाठक, लेखक, स्तभकार, सम्वाददाता, सहयोगदाता तथा विज्ञापनदाताहरुसित म के अनुरोध गर्छु भने क. मोहन विक्रम सिंहले हाँक बन्द गरे पनि हाँक बन्द हुनेछैन । यसले निरन्तरता पाउने छ । “हाँकलाई प्रालिमा लैजान नदिएको” भन्ने विवाद बहाना मात्र हो मूल कुरो महामन्त्रीको दक्षिणपन्थी विचारलाई पार्टीमा स्थापित गर्न नसकेको आक्रोशपूर्ण अभिव्यक्ति हो । यो सिलसिला यही मात्र रोकिने छैन । अझै थुपै्र क्रान्तिकारी कमरेडहरुलाई अनुशासनको नाममा सफाया अभियान चलाइनेछ । भित्री पार्टी संघर्षको यो अवस्थामा सबै कमरेडहरुलाई अनुशासित, धैर्यता र संयमका साथ अगाडि बढ्न र पार्टीलाई एकताबद्ध तथा सुदृढ पार्नका लागि म सबै कमरेडहरुलाई पुनः अपिल गर्दछु ।

मितिः २०७६ भदौ ११

गोविन्दसिंह थापा
प्रधान सम्पादक/प्रकाशक

यो पनि पढ्नुहोस्ः

मोहनविक्रम सिंहका मामा गोविन्दसिंह थापा मसालबाट निष्कासित, हाँक विवाद छताछुल्ल

हाँक साप्ताहिकको प्रकाशनको निरन्तरताः आजको आवश्यकता

Statement by Gobinda singh Thapa, Haank weekly

Haank Saptahik statement, Gobinda Singh Thapa