Chairman Puspa kamal dahal prachanda
 

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले हालै प्रकाशित गरेको नक्शा आफूहरूलाई मान्य नभएको बताउनु भएको छ ।

बागलुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई शनिबार दिउँसो सम्बोधन गर्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । ‘भारतले प्रकाशित गरेको नक्शामा कालापानी क्षेत्र, लिपुलेक, लिम्पियाधुरासम्मको भू–भाग देखाइएको छ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यो हामीलाई मान्य छैन । यसका निम्ति हामी जुनसुकै किसिमको पहलकदमी लिन पनि तयार छौँ ।’

अध्यक्ष प्रचण्डले नेपाल-भारत सीमाका समस्या पुरानो भएको र कालापानी र सुस्ताको समस्या जटिल एवम् गम्भीर प्रकृतिको भएको पनि सम्बिधनका क्रममा उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले भौगोलिक अखण्डताको रक्षाका लागि राजनीतिक दल, सरकार र जनता एक भएको उद्घोष समेत गर्नुभयो । उहाँले ‘राष्ट्र एकताबद्ध छ, जनता एकताबद्ध छन्‚’ प्रचण्डले भने, ‘सबै दल र पार्टीहरु एकताबद्ध भएर राष्ट्रको भौगोलिक अखण्डताको रक्षाका लागि तयार भएका छौँ।’

अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो निर्णयले नेकपालाई एक ढिक्का बनाएको समेत बताउनु भएको छ । ‘दुईटा अध्यक्षले कता कता जोड दिने भन्ने पनि टुङ्ग्याएका छौं,’ उहाँले भन्नुभयो, ‘एउटाले सरकारमा जोड दिने र एउटाले पार्टीमा जोड दिने छौं ।’

राष्ट्रको एकता, स्वाधीनता र भौगोलिक अखण्डता कायमा गर्न नेपाली जनताको एकताभन्दा ठूलो तागत अरु केही पनि नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो‚ ‘राष्ट्रका लागि अनवरतरुपमा संघर्ष गर्दै आएका कम्युनिस्टहरुको एकता भन्दा ठूलो राष्ट्रमा अरु केही पनि हुँदैन ।’