Karl Marx
 

कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले आफूभन्दा अगाडि युरोपमा विकसित भएका भौतिकवाद र द्वन्द्ववादलाई परिमार्जन गरेर नयाँ दर्शन मार्क्सवादलाई जन्म दिएकाले युरोपेली परिवेशमा शास्त्रीय दर्शनहरू कस्तो अवस्थामा देखा परे र ती कसरी अगाडि बढे भन्ने कुराको जानकारी आवश्यक छ । यही विषयवस्तुलाई यहाँ प्रक्षेपण गरिएको छ ।

१. भौतिकवाद

पश्चिमी जगतमा दर्शनको जन्म प्राचीन ग्रीसमा भएको देखिन्छ । त्यहाँका पहिला भौतिकवादी दार्शनिक थेल्स हुन् । सर्वप्रथम उनले जगत्को सृष्टि पदार्थबाट भएको हो भनी प्रचलित अध्यात्मिक मान्यताको खण्डन गरे । पदार्थको मूल तत्त्वका रूपमा उनले पानीलाई लिए । त्यस्तै उनका चेला अनक्षिमन्दरले थेल्सकै विचारमा टेकी यो जगत् प्रकृतिको नियमअनुसार चल्दछ भन्ने विचार अघि सारे । इ.पू. पाचौँ शताब्दीका ग्रिक दार्शनिकहरू ल्यूकिपस र डिमोक्रिटसको नाम सँगै जोडिएर आउँछ । तिनीहरूले जगत्को निर्माण पदार्थबाट भएको हो र हरेक वस्तुको सञ्चालन प्रकृतिको नियमअनुसार हुन्छ भने । तिनीहरूको भनाइअनुसार जे जति घटना घट्छन्, ती पदार्थका कणहरू (परमाणु) को गति र संयोगका कारण घट्छन् । यहाँ घटना भनी क्षयीकरण, वास्पिकरण, वायु र आवाजलाई लिइएको छ ।

त्यसपछि लामो समयसम्म युरोपमा धार्मिक विचार र प्रत्ययवादले जरा गाड्यो । सत्रौँ र अठारौँ शताब्दीमा आएर बल्ल भौतिकवादी दार्शनिकहरूको उदय भयो जसले धर्मशास्त्रको तानाशाही सत्तालाई तोड्दै ज्ञानलाई स्वतन्त्र विषयवस्तुका रूपमा अगाडि बढाए (सुनुवार, २०५८ः १२) । युरोपमा भौतिकवादको उदय हुनुमा वैज्ञानिक आविस्कारको ठूलो हात छ । तिनै नवीन आविस्कारका कारण दर्शनशास्त्रीहरूले नयाँ विचारलाई अघि बढाउन सके । परिणामस्वरूप मन अथवा चेतनालाई पदार्थको श्रेणीमा गणना गर्ने कार्यको थालनी भयो । भौतिकवादी दार्शनिकहरूले प्राणी जीवित भएको अवस्थामा मन शरीरमा रहन्छ र शरीरको अवसानसँगै त्यसको अस्तित्व पनि समाप्त हुन्छ भन्ने धारणालाई अघि बढाए ।

Ram Raj Regmi, communist leader and economist
लेखक

सत्रौँ शताब्दीका भौतिकवादी दार्शनिकहरूमा अँग्रेज दार्शनिक फ्रान्सिस वेकन, फ्रान्सेली चिन्तक रेने डेकार्ट, डच दार्शनिक स्पिनोजा, अँग्रेज दार्शनिक जोन लक आदिको नाम आउँछ । फ्रान्सिस वेकन (१५६१–१६२६) ले प्राचीन ग्रिक भौतिकवादलाई नयाँ सिराबाट विकास गर्ने प्रयत्न गरे । उनले कुनै पनि वस्तु शून्यबाट बनेको होइन र शून्यमै गएर बिलाउन सक्दैन भन्ने विचार अघि सारे । उनको भनाइअनुसार भौतिक संसारको न कुनै प्रारम्भ छ न त त्यसको अन्त्य नै हुन्छ, यो सदा रहिआएको छ र रहिरहने छ । बेकनले पदार्थमा धेरै गुणहरू हुन्छन् र तीमध्येको एउटा गुण गति हो भन्ने विचार अघि सारे । उनको विचारमा गति भनेको यान्त्रिक भौतिकवादीले सोचे जस्तो आन्तरिक प्रेरणा (Impulse) का कारण पैदा हुने विषय होइन, यो पदार्थमै विद्यमान गुण हो । यो एक प्रकारले भित्री अन्तरद्वन्द्वबाट उत्पन्न हुने विषय हो । जीवित प्राणीमा झैँ पदार्थभित्र पनि शक्तिको सञ्चार हुन्छ । पवित्र परिवार नामक कृतिमा मार्क्सले वेकनको विचारमा भविष्यको भौतिकवादी सोचको वीज विद्यमान भएको कुरा उल्लेख गरेका छन् । (Woods, 2013 : 67) । बेकनले अबलोकन र प्रयोगमा आधारित व्यावहारिक पद्धतिको पनि विकास गरे । उनले शास्त्रीयतावादका विपरित आगमन पद्धतिलाई अघि बढाऐ । मार्क्सले बेकनलाई भौतिकवाद र समकालीन प्रयोगमूलक विज्ञानका पीता भनेका छन् (सुनुवार, २०५८ः १३) ।

द्वैतवाद र तर्कशास्त्रका प्रवर्तक डेकार्टे (१५९६–१६५०) ले चर्चद्वारा लादिएको जडसूत्रवादी धर्मशास्त्र र पादरीका रचनाहरूलाई अस्वीकार गर्दै परीक्षण पद्धतिको विकास गरे । उनी भन्दछन्, “यदि हामीले नयाँ वैज्ञानिक प्रणाली स्थापना गर्ने हो र नयाँ दर्शनको विकास गर्ने हो भने अपरीवर्तनीय र अकाट्य भनिएका विचारहरूलाई त्याग्नु पर्छ ।” (सुनुवार, २०५८ः १३) । उनको भनाइअनुसार जे जति वस्तु अस्तित्वमा छन्, ती तीनवटा प्राथमिक तत्त्व अग्नी, वायु र पृथ्वीका परिणाम हुन् र ती तीन तत्त्वबाट चक्रवात निर्माण हुन्छ । अग्नीमय तत्त्वको चक्रवातबाट सूर्य र तारा, वायुमय तत्त्वको चक्रवातबाट आकाश र पृथ्वीमय तत्त्वको चक्रवातबाट खगोलीय पिण्डहरूको निर्माण हुन्छ ।

स्पिनिजा (१६३२–१६७७) ले पदार्थ मानवको सृष्टि हुनुभन्दा पहिले नै विस्तारित र चिन्तनशील दुई गुणका रूपमा प्रकट भएको हो भन्ने सवाल अघि सारे । उनले जगत् सञ्चालनको कारण यसैभित्र अन्तर्निहित छ, यसको सञ्चालक ईश्वर होइन भनी ईश्वरवादीहरूको धारणाको खण्डन गरे । तर उनले जनावर र निर्जीव वस्तुमा समेत चेतना हुन्छ भन्ने विचार अघि सारे जुन उनको कमजोर पाटो हो । लक (१६३२–१७०४) ले ज्ञान मानिसमा हुने जन्मजात गुण होइन भन्ने धारणालाई अघि बढाए । उनको भनाइ अनुसार ज्ञान बाह्य स्रोतका रूपमा संवेदनाबाट प्राप्त हुने र चिन्तनमूलक गरी दुई खाले हुन्छ ।

अठारौँ शताब्दीका भौतिकवादी दार्शनिकहरूमा इमानुएल कान्ट, मिखाइल लामोनोसोव, अलेक्ज्याण्डर र्‍याडिश्चेव, डनिस दिदेरो र ल्काउडएड्रिएन हेल्वेटिसको नाम आउँछ । तिनीहरूले संझौतारहित ढङ्गले अनिश्वरवादको वकालत गरे र ईश्वरवादीहरूको जोडदार आलोचना गरे । तर प्रकृति र मानवबीचको सम्वन्धको व्याख्यामा तिनीहरू यान्त्रिक दृष्टिकोण अपनाउन पुगे । जर्मन दार्शनिक कान्ट (१७२४–१८०४) ले सौर्यमण्डलको निर्माण सम्वन्धि निहारिका अवधारणा प्रस्तुत गरे । यसमा उनले सौर्यमण्डल उष्ण ग्यास नेबुलाबाट बनेको हो भनेका छन् । तर उनी भौतिकवादमा टिकिरहन सकेनन् । चेतनाको विश्लेषण सम्वन्धि सवालमा उनी अध्यात्मवादी र अज्ञेयवादी हुन पुगे । लोमोनोसोव (१७११–१७६५) ले पदार्थको निर्माण अणुबाट र अणुको निर्माण परमाणुबाट हुन्छ भन्ने विचार अघि सारे । उनको भनाइअनुसार वस्तुको परिवर्तनको कारण आन्तरिक गति हो र यो वाह्य र आन्तरिक गरी दुई किसिमको हुन्छ । उनी भन्दछन् कि संसार ज्ञेय छ र बाहिरी वस्तुहरू अबलोकन गरेपछि ज्ञान प्राप्त हुन्छ । उनका अनुसार ज्ञान प्राप्तिमा प्रयोग र चिन्तन दुवैको भूमिका हुन्छ । रुसका अर्का भौतिकवादी चिन्तक र्‍याडिश्चेव (१७४०–१८०२) ) ले लामोनोसोवको दर्शनलाई अझ बढी समृद्ध बनाए । फ्रान्सेली दार्शनिक दिदेरो (१७१३–१७८४) सुरुमा ईश्वरवादी थिए, पछि उनी भौतिकवादी हुन पुगे । मानव चिन्तन स्वतः स्फूर्त हो भन्ने प्रत्ययवादी विचारको खण्डन गर्दै उनले चिन्तन र तर्कको मूल आधार प्रकृति हो भन्ने कुरामा जोड दिएका छन् । उनका अनुसार अवलोकन र प्रयोग ज्ञानका विधि हुन् जसको माध्यमबाट सत्यतातर्फ अघि बढ्न सकिन्छ । हेल्वेटिस (१७१५–१७७१) ले लकको दर्शनको प्रत्ययवादी पक्षलाई हटाएर भौतिकवादी पक्षको विकास गरे । जर्मनीको नागरिकता भए पनि जीवनको अधिकांश समय फ्रान्समा बिताएका भौतिकवादी दार्शनिक पाउल होल्वासले धर्म भनेको जनतामा रहेको अज्ञानता र भयका साथै मानव धूर्त्यांइको परिणाम हो भन्ने विचार अघि सारी प्रत्ययवादको धूवाँदार रूपमा खण्डन गरे । उनले पदार्थ आफ्नै भित्री कारणले परिचालित हुन्छ र त्यसको सञ्चालनमा बाह्य शक्तिको कुनै हात हुँदैन भन्ने कुरालाई जोडतोडले उठाएका छन् ।

पश्चिमी जगत्का अन्तिम शास्त्रीय भौतिकवादी दार्शनिक लुडविग फायरवाख (१८०४–१८७२) हुन् । उनी हेगेलकै प्रभावबाट दर्शनशास्त्रप्रति आकर्षित भएका थिए र सुरुमा उनी प्रत्ययवादकै समर्थक थिए । तर पछि उनी हेगेलको विचारबाट टाढिँदै गए । सन् १८३० मा जब उनले मृत्यु र अमरत्व सम्वन्धि विचार नामक कृति प्रकाशनमा ल्याए, त्यतिखेर हेगेलको प्रत्ययवादी अवधारणासँग पूरै सम्वन्ध विच्छेद गरेको देखिन्छ । सन् १८३९ मा प्रकाशित उनको कृति हेगेलपन्थी दर्शनको आलोचनामा योगदान मा उनी प्रत्ययवादविरुद्ध चर्को गरी खनिएका छन् । सन् १८४१ मा लेखिएको कृति इशाइ धर्मको वास्तविकता मा त उनी पूर्ण भौतिकवादीका रूपमा देखिएका छन् । यस पुस्तकमा उनी भन्दछन् कि मानिसले मान्दै आएको उच्चतम सत्ता अरू कोही नभएर मानिस स्वयं हो । प्रकृति र मानवभन्दा माथि कुनै अलौकिक शक्तिको अस्तित्त्व छैन, कल्पनाको उडानमा मानिसले आफ्नै स्तरको काल्पनिक प्रतिविम्बको रूपमा उच्चस्तरका प्राणीहरू (देवताहरू) सृष्टि गरेको हो । फायरवाख के पनि भन्दछन् भने एक मात्र सत्य इन्द्रियगोचर भौतिक जगत् हो जसका अङ्ग हामी स्वयं हौँ (एङ्गेल्स, २०६०ः१४–१५) ।

प्रत्ययवादीहरूले चेतनालाई वस्तु जगत्भन्दा पृथक ठान्दछन् । उनीहरूले चेतना र भौतिक जगत्बीचको सम्वन्धलाई बुझ्दैनन् । उनीहरू भन्दछन् कि हामीले ‘म’ भनेर जुन भन्दछौँ, त्यो अस्तित्त्वमा भएको अदृश्य शक्ति हो । तर यो पदार्थभन्दा चेतना प्रथम हो भनी सिद्ध गर्नका लागि गरिएको तर्क हो । यसको खण्डन गर्दै फायरवाख भन्दछन्, “एक व्यक्तिका लागि प्रयोग गरिने ‘म’ अर्को व्यक्तिका लागि ‘तिमी’ हुन्छ । यदि म तिमीमा बदलिन्छ भने यो अर्काका निम्ति वस्तु हुन जान्छ । यसरी म कर्ता र कर्म दुवै हुन जान्छ र एक अर्कोमा बदलिन्छ । त्यसो भएकाले यो पहिचान नभई एकत्वको सवाल हो । प्रत्ययवादीहरूले सोचेझैँ म कुनै अदृश्य पहिचान हुन सक्दैन । म भनेको मानिस हो, एउटा हाडछाला रगत र मासुले बनेको प्राणीहो ।” (Wright, 1956 : 9)। फायरवाख भन्दछन् कि विचार कुनै अदृश्य वस्तुमा होइन, शरीरमै उत्पन्न हुने विषय हो । यो पदार्थको विकासको उन्नत परिणाम हो । फायरवाखका अनुसार हाम्रा इन्द्रियहरूले बाहिरी वस्तुलाई बुझ्दछन्, जिब्रोले गुलियो, नूनिलो, अमिलो आदि स्वाद थाहा पाउँछ, आँखाले वस्तुहरू देख्दछन् र कानले विभिन्न आवाज सुन्दछन् । यी सबै इन्द्रियजन्य अनुभूतिहरू हाम्रै इन्द्रियहरूको करामत होइन, बाहिरी वस्तुको प्रतिविम्व हो । वस्तुमा विभिन्न गुणहरू र विशेषताहरू हुने हुनाले नै ती जानिने हुन् ।

जगतको सृष्टि हुनुुभन्दा पहिले नै पूर्ण विचार अस्तित्वमा थियो भन्ने हेगेलको मान्यतालाई फायरवाखले चुनौति दिएका छन् । उनी भन्दछन् कि त्यसो भन्नु भनेको भौतिक जगत्को सृष्टिकर्ता कोही थियो भन्नु हो । पूर्ण विचार सम्वन्धि सोच फगत् एक कल्पना हो । हामीले जुन संसार देखेका छौँ, त्यो मात्र सत्य हो । हाम्रा विचार, भावना, दृष्टिकोण आदि सबै भौतिक संसारकै उत्पादन हुन् । पदार्थ विचारको उत्पादन होइन, विचार पदार्थको उत्पादन हो (Engels, 1994 : 13) । हेगेलको पूर्ण विचारलाई खण्डन गर्ने सिलसिलामा फायरवाख अझ अगाडि बढेर भन्दछन् कि हेगेलको यो विचार दिग र कालभन्दा बाहिरको कुरा हो । दिग र काल केवल भौतिक जगत्का लागि मात्र आवश्यक होइनन् कि ज्ञान र विवेकका लागि पनि आवश्यक आधार हुन् । समयविनाको चेतना, इक्षा र विचार काल्पनिक दन्त्यकथा जस्तै असत्य हुन्छन् । समयभन्दा बाहिरको अस्तित्वबारे सोच्नै पनि सकिन्न । हेगलको प्रत्ययवादको खण्डन गर्दै फायरवाख भन्दछन् कि कुनै पनि वस्तुको अस्तित्व विचारमा होइन, विचारभन्दा बाहिर भौतिक जगत्मा रहन्छ । जुन व्यक्ति हेगेलको विचारमा अडिग रहन्छ उसले आफूलाई धर्मशास्त्रबाट मुक्त गर्न सक्दैन । हेगेल आफैँले जुन कुरा देखिन्छ, त्यो नै सत्य ठहरिन्छ भनेका थिए । तर उनको प्रत्ययवादले आफ्नो त्यही भनाइलाई लत्याएको छ । फायरवाखको भौतिकवाद सम्वन्धमा मार्क्सको प्रतिक्रिया के छ भने उनले केवल सैद्धान्तिक पाटोलाई लिए र व्यवहारिक पाटोलाई बेवास्ता गरे । महत्वपूर्ण कुरा मानव क्रियाकलापमा भौतिकवादलाई जोड्नु हो । माक्र्सको भनाइअनुसार दार्शनिकहरूले केवल संसारको व्याख्या गरेका छन्, महत्वपूर्ण सवाल त्यसलाई बदल्नु हो (Engels, 1994 : 37) ।

यद्यपि फायरवाखको विचार त्यतिखेरको विश्व इतिहासमा महत्वपूर्ण पाइला थियो । कठिन परिस्थितिका बेला उनी धर्मशास्त्र र प्रत्ययवादका विरुद्ध उभिए, जुन साहसिक कदम थियो । त्यो भनेको धार्मिक सत्ताका आडमा उभिएको राजनीति प्रणालीकै विरोध थियो । त्यस्तो विचार व्यक्त गरेकै कारण सत्ताधारीहरूले उनलाई अध्यापन गरिरहेको विश्वविद्यालयबाट निकाले । यति मात्र होइन, उनलाई नराम्रो यातना पनि दिइयो जसका कारण एक निर्जन गाउँमा गएर एकान्त जीवन बिताउनु पर्‍यो ।

विचारका क्षेत्रमा फायरवाखको कमजोरी के हुन गयो भने प्रत्यवादको विरोध गर्ने क्रममा उनले हेगेलमा भएको सवल पक्ष द्वन्द्ववादी अवधारणामाथि पनि प्रहार गरे । यतिमात्र होइन भौतिकवादको सटिक व्याख्या विश्लेषण गरे पनि धर्म र नीति शास्त्रको सवालमा उनी आफैँले विरोध गरेको प्रत्ययवादको दलदलमा भासिन पुगे । हुनत उनले धर्म भनी मानिसबीच हुने माया प्रेमलाई लिएका छन् । यसमा पनि उनको जोड दुई विपरित लिङ्गीबीच हुने सम्वन्धमा देखिन्छ । धर्मको परिभाषा दिँदै उनी भन्दछन्, “धर्म भनेको माया प्रेममा आधारित मानवबीचको सम्वन्ध हो (Engels, 1994 : 18) । उनको भनाइअनुसार धर्मबाट निर्देशित भएर नै महिला पुरुषले यौन सम्वन्ध लगायत विभिन्न क्रियाकलापमा सहकार्य गर्दछन् । फायरवाखका अनुसार धर्मको निम्ति प्रयोग हुने अँग्रेजी शब्द Religion हो र यो Religare बाट बनेको हो जसको अर्थ हुन्छ ‘बाचा–बन्धन’ । यसकारण मानवबीचको कुनै पनि आत्मिक सम्बन्धलाई धर्मका रूपमा लिनुपर्छ । निश्चय नै धर्म भनेर फायरवाखले परम्परागत रूपमा मानिसहरूले मान्ने परमात्मा प्रतिको आस्था र विश्वासलाई लिएका होइनन् । देवतालाई उनी वास्तविक मान्दैनन्, त्यसलाई ऐनामा देखिने प्रतिविम्वसँग तुलना गर्दछन् । तर पनि धर्म शब्दप्रतिको मोहले उनलाई प्रत्ययवादको कित्तातर्फ धकेलिदियो । भौतिकवादको व्याख्या गर्ने उनी जस्तो दार्शनिकले भावनात्मक संसारलाई महत्वदिन हुँदैनथ्यो । प्रत्ययवादकै फन्दामा परेका फायरवाख विभिन्न समयमा भएका सामाजिक परिवर्तनलाई धार्मिक परिवर्तनको परिणाम ठान्दछन् । उत्पादन सम्वन्धमा आएको परिवर्तनका कारण समाज बदलिएको कुरालाई उनी देख्दै देख्दैनन् । समाजमा सम्पत्ति सम्वन्धका कारणले मानिस मानिसबीच देखिने वर्गीय भिन्नता र थिचोमिचोतिर उनको नजर पुग्दैन । उनी भन्दछन्, “दरवारमा र झोपडीमा बस्ने मानिसका सोचाइ बेग्लाबेग्लै हुन्छन् । जो मानिस गरिबी र भोकमरीमा बाँचेको हुन्छ उसको मन पनि द्ररिद्र हुन्छ । उसमा नैतिकता र इमान्दारी भन्ने कुरा हुँदैन ।” (Engels, 1994 : 20) । वास्तवमा फायरवाखले भौतिक संसारमा रहने मानिसबीचको आर्थिक, राजनीतिक र सांस्कृतिक सम्बन्धलाई केलाउँदैनन् । लोभ लालचा त भौतिक सम्पत्तिप्रतिको मोहका कारण उत्पन्न हुने परिणाम हुन् । अनैतिकता त बरु सम्पत्तिका लागि मरिहत्ते गर्ने सामन्त र पुँजीपतिमा हुन्छ । यसरी फायरवाखले जुन दर्शनलाई उचाइमा पुर्‍याए आफू त्यसमा अडिग रहन सकेनन् । उनको भूमिका आफैँले जन्माएको बच्चा पोखरीमा फ्याँकी हत्या गर्ने आमाको जस्तो हुन गयो (Woods, 2013 : 124) । यस प्रकारको दूर्घटना हुनमा तत्कालीन परिस्थिति जिम्मेवार छ किन कि भौतिकवादलाई समृद्ध बनाउनका लागि सहयोगी हुने कोशिकाको आविस्कार, उर्जाको रूपान्तरण र डार्विनको विकासवाद उनको समयभन्दा पछि मात्रै जानकारीमा आए ।

२. द्वन्द्ववाद

पश्चिमी जगत्मा शताब्दीयौँसम्म मानिसमा भौतिक जगत् ईश्वरीय सत्ताले सञ्चालन गरेको हो भन्ने विश्वास थियो । ग्रिक दार्शनिक हेराल्टिस (इ.पू. ५४४–४८४) ले प्रकृतिका सम्वन्धमा भन्ने आफ्नो कृतिमा सबैभन्दा पहिले प्रकृतिमा द्वन्द्व छ भन्ने विचार अघि सारेपछि भने यस सोचाइमा निकै ठूलो हलचल मच्चियो । हेराल्किटसको समय भीषण युद्धको समय थियो र मानिसहरूबीच हुने गरेको काटमारले उनको सोचाइलाई त्यस दिशातिर मोडेको थियो । उनी भन्दछन्, “सबै वस्तुहरू मानिस झैँ द्वन्द्वरत छन्, सबै वस्तुमा अन्तर्विरोध हुन्छ र तिनको विकास पनि त्यही कारणले गर्दा हुन्छ । अन्तर्विरोधमा जीवन र गति दुवै हुन्छ ।” (Woods, 2013 : 25) । हेराल्किटसको भनाइअनुसार मानिसहरू विरोध, संघर्ष, निषेध, अभाव जस्ता कुरालाई नराम्रो ठान्दछन् तर ती समाजका लागि आवश्यक हुन् । सामान्य मानिसलाई तिनको महत्वबारे जानकारी हुँदैन । समाजमा हुने परिवर्तन द्वन्द्वकै कारणले गर्दा हुन्छ । ‘हे प्रभु ! सङ्घर्ष गर्ने प्रबृत्तिबाट मानिसलाई मुक्त गर’ भनी भगवानसँग प्रार्थना गर्ने होमरको आलोचना गर्दै हेराल्किटस भन्दछन्, “सङ्घर्ष नै जीवन हो यो समाप्त भएपछि त जीवन नै समाप्त हुन्छ ।” हेराल्किटसका अनुसार विरोध भएपछि नै समन्वय सम्भव हुन्छ र सम्पूर्ण अस्तित्त्व त्यही समन्वयमा निर्भर गर्दछ । संगीतमा स्वर पनि घरी तीव्र र घरी मन्द हुन्छ, त्यहाँ विरोधी ध्वनीबीच समन्वय स्थापित भएको हुन्छ (निगम, २०११ः २२) । हेराल्किटस सबै विरोधी पक्षलाई समान ठान्दछन् । उनको दृष्टिमा शुभ, अशुभ, जीवन मृत्यु, युवावस्था बृद्धावस्था, जागृति सपना यी सबै समान छन् किनभने ती एक अर्कामा बदलिन सक्छन् ।

हेराल्किटसका अनुसार वायुको मृत्युमा अग्नी बाँच्दछ भने अग्नीको मृत्युमा वायु बाँच्दछ । त्यस्तै पृथ्वीको मृत्युमा पानी बाँच्दछ भने पानीको मृत्युमा पृथ्वी बाँच्दछ । एउटै वस्तु बाँच्छ र मर्छ, सुत्छ र बिउँझिन्छ । हामी वस्तुलाई स्थिर अवस्थामा देख्छौँ, त्यो हाम्रो भ्रम हो । चारैतिर परिवर्तनकै साम्राज्य छ । सूर्यलाई हामी देख्दा सधैँ उस्तै देख्छौँ, तर प्रत्येक दिन सूर्य नयाँ भइरहेको हुन्छ । केटाकेटी तन्नेरी बन्छन् भने तत्न्नेरीहरू बूढा हुन्छन् । हामी एउटै नदीमा दुई पटक नुहाउन सक्दैनौँ । दोस्रो पटक नुहाएका बखत पहिलो पल्ट नुहाएको पानी बगिसकेको हुन्छ । हरेक वस्तु हेर्दा उस्तै देखिए पनि ती पुरानै अवस्थामा रहँदैनन् । तिनमा निरन्तर परिवर्तन भइरहेको हुन्छ (Ted, 1970 : 3) । हेराल्किटस भन्दछन् कि वस्तुमा हुने परिवर्तनको गति वर्तुलाकार हुन्छ । उनका अनुसार विपरित पक्षहरूको द्वन्द्वका कारण हुने विकास पेच किल्ला झैँ दाया बाया घुम्दै माथिमाथि पुग्छ । त्यो एउटै विन्दुको वरिपरि चक्कर काट्छ, तर उही कक्षमा होइन (Ted, 1970 : 4) ।

हेराल्किटस भन्दछन् कि प्रकृतिको प्रत्येक सृष्टिमा दुई पक्ष हुन्छन् । पृथ्वीमा पहाड र मैदान छन्, पानी नुनिलो र ताजा हुन्छ, हावापानी सर्दी र गर्मी हुन्छ । ती विपरीत वस्तुहरू,एक अर्काका विरोधी छन्, तर तिनीहरू भित्री रूपमा एकगठ पनि हुन्छन् । पदार्थको निश्चित रूप दुई परस्पर विरोधी शक्तिको सन्तुलनको परिणाम हो । तर उक्त सन्तुलन विपरित पक्षहरूको गति र अन्तर्विरोधका कारण खलबलिइरहन्छ । हेराल्किटसले यस प्रकारको द्वन्द्ववादी धारणा जुन ल्याए, त्यो सरसरति हेर्दा वस्तुहरूमाझ देखिने बाहिरी अन्तर्विरोध थियो । उनले प्रत्येक एकाइ भित्री रूपमा अन्तर्विरोधले भरिपूर्ण हुन्छ र त्यसमा दुई पक्ष हुन्छन् भन्ने कुरा बताउन सकेनन् । उनले त्यतिखेर ग्रिसेली समाजमा जुन दासप्रथा थियो, त्यसभित्रको विपरीत पक्ष दास मालिक र दासबीचको अन्तर्विरोधलाई केलाउन सकेनन् । त्यसको कारण त्यतिखेरको वैज्ञानिक व्यवस्था थियो जसले गहिराइमा पुगेर आविस्कारहरू गर्न सकेको थिएन ।

हेराल्किटसका अनुसार प्रत्येक वस्तुमा द्वैध गति हुन्छ । आपसी अन्तर्विरोधले वस्तु कहिले अघि बढ्छ त कहिले पछि हट्छ, कहिले टाढा पुग्छ त कहिले नजिक आउँछ । पछि तानिएको धनुषको डोरी अघिल्तिर हुत्तिने हुनाले नै त्यसले बाणलाई लक्ष्यमा पु¥याउँछ । दुई पक्षको तानातानमा एउटाले अर्कोमाथि विजय प्राप्त गर्दछ । हेराल्किटस वस्तुमा हुने अन्तर्विरोधलाई सवल दृटिकोणबाट हेर्दछन् । उनका अनुसार रोग नलाग्ने हो भने मानिसको स्वास्थ्य राम्रो हुन्न र भोक नलाग्ने हो भने खानाबाट सन्तुष्टि मिल्दैन । यस कुरालाई उनी अझ पेच किल्लाको उदाहरणद्वारा पुष्टि गर्दछन् । उनी भन्दछन् कि किल्लाका पेचहरू दायाबाया घुमेकै कारण किल्लाले काठलाई बलियो गरी समात्न सक्छ । नबटारिकन कुनै पनि वस्तु सिधा हुँदैन (Ted, 1970 : 3) ।

हेराल्किटसको दर्शनले परम्परागत सोचाइमा तरङ्ग उत्पन्न गरिदियो । त्यसले धार्मिक विश्वासमाथि नराम्रो चोट पुर्‍यायो । त्यस भएकाले आफ्नो समयमा हेराल्टिसले चर्को विरोधको सामना गर्नुपर्‍यो । युरोपमा अर्को द्वन्द्ववादी अवधारणा हेराल्किटसको समयको दुई शताब्दीपछि उत्पन्न भएको देखिन्छ । उनीपछिका द्वन्द्ववादी दार्शनिकमा एरिस्टोटल (इ.पू. ३८४–३२२) को नाम आउँछ । ग्रिक दार्शनिक एरिस्टोटल प्रत्ययवादी दार्शनिक ल्पेटोका चेला हुन् । उनले झण्डै २० वर्षसम्म गुरुको दर्शनको अध्ययन गरे, तर सन्तुष्ट भने भएनन् । ल्पेटोको दर्शनमा विचार पक्षलाई बढी प्राथमिकता दिइएको थियो । एरिस्टोटलले निरीक्षण र प्रयोगलाई प्राथमिकता दिए । उनले सिद्धान्तको निर्माण गर्न आगमन विधि (Inductive Method) अपनाए । यस विधिमा विशेषबाट सामान्यतर्फ गइन्छ । उदाहरणका लागि विमल, दिलिप, हरि, इन्दु आदि मानिस मर्छन् भन्ने पुष्टि गर्दै ‘मानिस मरणशील प्राणी हो’ भन्ने निस्कर्ष निकालिन्छ । आगमन विधिको विपरित निगमन विधि हो जहाँ सामान्यबाट विशेषतर्फ गइन्छ । उदाहरणका लागि मानिस मरणशील प्राणी हो भन्ने भनाइका आधारमा श्याम एकदिन मर्दछ भन्ने निस्कर्ष निकालिन्छ ।

एरिस्टोटलको तर्कशास्त्रमा द्वन्द्ववाद पाइन्छ । उनले तीनवटा नियम प्रतिपादन गरेका छन् । अन्तर्विरोधको नियम, पहिचानको नियम र मध्यमार्गीे नियम । अन्तर्विरोध नियमले के कुरामा जोड दिन्छ भने वास्तविक जीवनमा वस्तु उही हुन्छ र हुँदैन पनि किनकि वस्तुमा निरन्तर परिवर्तन भइरहेको हुन्छ । तिमी तिमी नै हौ यसमा शङ्का छैन, तर भित्री रूपमा तिम्रो शरीरमा निरन्तर परिवर्तन भइरहेछ – कोषिकाहरू मरिरहेछन्, एउटा कोशिकाको स्थान अर्काले लिएको छ, तिम्रो शरीरभित्र खानेकुरा पस्ने र त्यो मलमूलका रूपमा बाहिर निस्कने गर्दछ, तिमीले अक्सिजन लिन्छौ र कार्वनडाइअक्साइड फ्याँक्छौ, तिम्रो शरीरमा पानी पिएपछि रगत भरिने र पिशाव भएपछि यो कम हुने क्रिया भइरहेछ आदि । तिमीमा हुने यी नियमित परिवर्तनले गर्दा तिमी ५ मिनेट पहिले जस्तो अवस्थामा थियौ, त्यही अवस्थामा रहन्नौ । पहिचानको नियमले के तर्क गर्दछ भने वस्तु जुन हो त्यही हो, अरू होइन । तिमी तिमी नै हौ, अरू होइनौ । यस नियमले वस्तुभित्र हुने शुक्ष्म परिवर्तनलाई ध्यान दिँदैन । तर लामो समयको अन्तरालपछि वस्तुमा परिवर्तन देखापर्दछ र त्यस अवस्थामा यो नियम गलत सावित हुन्छ । त्यसो भएकाले एरिस्टोटल भन्दछन् कि पहिचानको नियम सामान्य अवस्थामा मात्र लागू हुने नियम हो । सामान्य परिवर्तन जम्मा हुँदै गएपछि परिवर्तनको थुप्रो लाग्छ र त्यसले फड्को मार्छ जसका कारण वस्तु फेरिन्छ ।

एरिस्टोटलको मध्यमार्गी नियमले वस्तुहरूबीचको सम्वन्धलाई नकार्छ । त्यसले वस्तुको अस्तित्वलाई कि समर्थन गर्छ कि विरोध गर्छ । मध्यमार्गी नियम वास्तवमा अधिभूतवादी नियम हो जसले स्पष्ट र उचित विचार अभिव्यक्त गर्दैन । यस नियमअनुसार वस्तु कि बाँच्छ कि मर्छ, कि त्यो कालो हुन्छ कि सेतो । एकै अवस्थामा वस्तुका दुई रूप हुन सक्दैनन् । अधिभूतवादीहरूका निम्ति विचारहरू एक अर्काबाट पृथक एक्लो स्थितिमा हुन्छन् । ती निर्धारित र निश्चल वस्तुका रूपमा हुन्छन् । तिनले रुखबाट काठ पैदा हुन्छ भन्ने कुरा देख्दैनन् । अधिभूतवादीहरू भन्दछन् कि सकारात्मक पक्षले नकारात्मक पक्षलाई पाखा लगाउँछ जुन द्वन्द्ववादी दृष्टिकोण होइन । (Woods, 2013 : 46-47) ।

एरिस्टोटलको तर्कशास्त्र अनुसार वस्तुमा हुने सकारात्मक र नकारात्मक दुई विपरित पक्ष केलाउँदा ती अभिन्न अङ्गका रूपमा रहेका देखिन्छन् । एक अर्काका विपरित भएर पनि ती एक अर्कामा समाहित हुन्छन् । कारण र असरलाई हेर्ने हो भने सामान्य अवस्थामा ती एकै ठाउँमा हुन्छन् र एक अर्कामा बदलिन्छन् । एरिस्टोटल तर्कशास्त्रको क्षेत्रमा द्वन्द्ववादी भएर पनि दृष्टिकोणका हिसावले पूर्ण भौतिकवादी थिएनन् । लेनिनको विश्लेषणअनुसार उनी प्रत्ययवाद र द्वन्द्ववाद दुई थरी भेलको बीचमा थिए (Woods, 2013 : 50) । उनको द्वन्द्ववादी अवधारणा उनको मृत्युपछि बेवारिस बन्यो । पुनर्जागरणको आँधीको सामना गरी उनका उत्तराधिकारीले त्यसलाई अगाडि बढाउन सकेनन् ।

एरिस्टोटलको धेरै समयपछि अठारौँ शताब्दीको आखिरतिर द्वन्द्ववादलाई अँगाल्ने दार्शनिकका रूपमा जर्मन विद्वान विल्हम फ्रेडरिक हेगेल (१७७०–१८३०) मञ्चमा देखापरे । उनले प्राचीन ग्रिक दार्शनिकका द्वन्द्ववादी अबधारणाहरूलाई आफ्नो दर्शनको प्रस्थानविन्दु बनाए । सन् १८०७ मा घटना विज्ञान (Phenomenology) नामक कृतिको प्रकाशनपछि उनको दार्शनिक यात्रा प्रारम्भ भयो । उनले त्यस यात्रालाई आविस्कारतर्फको यात्रा भनेका छन् । तर हेगेलको प्रस्तुति निकै ल्किष्ट र जटिल थियो । साधारण पाठकले उनको भनाइको छेउटूप्पो केही पनि पहिल्याउन सक्दैनथे । लेनिनले साधारण पाठकका निम्ति हेगेलको कृति टाउको दुखाइ थियो भनेका छन् (Woods, 2018 : 2) ।

हेगेल दृष्टिकोणमा प्रत्ययवादी देखिन्छन् । उनी चिन्तनलाई प्रथम स्थानमा र पदार्थलाई दोस्रो स्थानमा राख्दछन् । उनी भन्दछन् कि मानिससँग प्राकृतिक रूपमा कुनै पनि विषयवस्तुको जानकारी लिन सक्ने पूर्ण विचार (Absolute Idea) रहेको हुन्छ जुन प्रत्येक मानिसको जन्मसँगै मस्तिकभित्र प्रवेश गर्दछ । यो विचार संसारको उत्पत्ति हुनुपूर्व अस्तित्वमा रहिरहेको थियो । उनका अनुसार मानव मस्तिष्कमा भएको यही विचारबाट नै वस्तुगत वा प्राकृतिक यथार्थता प्रकट हुन्छ । हेगेल के तर्क गर्दछन् भने समान वस्तुलाई समान वस्तुले नै पहिचान गर्न सक्छ । (Like knows a like.) यसका आधारमा उनले के निस्कर्ष निकाल्छन् भने यदि वाह्य जगत् मानव विचार जस्तै नभएको भए त्यसले त्यसबारे जानकारी लिन सक्दैनथ्यो । उनको भनाइ “जुन कुरा सत्य हुन्छ, त्यो विवेकसम्मत हुन्छ र जुन विवेकसम्मत हुन्छ, त्यो सत्य हुन्छ” (What is real is rational and what is rational is real.) । तत्कालीन समाजमा निकै चर्चित बन्यो (निगम, २०११ः ३३१) । यसरी हेगेलले विचारको नामबाट चिन्तन प्रक्रियालाई एउटा स्वतन्त्र कर्ता बनाउँछन् र पूर्ण विचारलाई ईश्वरको स्थानमा राख्छन् । सृष्टिमा ईश्वरको जुन भूमिका हुन्छ, हेगेलको पूर्ण विचारको पनि त्यही स्थान देखिन्छ ।

हेगेल प्रत्ययवादी भएपनि उनले वैचारिक क्षेत्रमा द्वन्द्ववादलाई अँगालेका छन् । उनी भन्दछन् कि विचार विभिन्न चरण भएर गुज्रन्छ । यो तल्लो तहबाट माथिल्लो तहमा विकसित हुन्छ । हेगेलका अनुसार एक थरी विचारको अर्कोथरी विचारसँग अन्तर्सम्बन्ध र अन्तद्र्वन्द्व हुन्छ । कुनै पनि विचार यदि त्यो विकसित हुने हो भने त्यसले आफैँलाई नकार्नु पर्छ । पुराना विचार नत्यागी नयाँ विचार लिन सकिन्न । हेगेल भन्दछन् कि छलफलका क्रममा पहिले एक जनाले एउटा वाद (Thesis) प्रस्तुत गर्दछ, यसका विरुद्ध अर्काले प्रतिवाद (Antithesis) राख्दछ । अनि यी दुईको मन्थनबाट संश्लेषण अथवा संयोजित विचार (Synthesis) को जन्म हुन्छ जुन विचार पहिलेका दुईभन्दा उन्नत खालको हुन्छ ।

हेगेल भन्दछन् कि सकारात्मक र नकारात्मक विचारले भिन्नता प्रस्तुत गरे पनि तिनको आधार एउटै हो, ती एक अर्कोमा बदलिन सक्छन् । ऋण र धन एउटै सम्पत्तिका अभिन्न दुई पक्ष हुन् । असामीलाई जुन लेनदेन बोझ हुन्छ, त्यो साहूका लागि लाभदायी हुन्छ । पूर्वतिरको बाटो अर्कोतिरबाट हेर्दा पश्चिमतिरको पनि बाटो हुन्छ । उत्तरी ध्रुवको अस्तित्व नहुने हो भने दक्षिणी ध्रुवको अस्तित्व रहन्न । दुई ध्रुव देखाउने चुम्बकलाई बीचमा काटे पनि प्रत्येकले फेरि दुई धु्रव नै देखाउँछन् ।

एरिस्टोटलले प्रस्तुत गरेको पहिचानको नियम (Law of Identity) लाई हेगेलले सामान्य ज्ञानको नियम मानेका छन् । उनी भन्दछन् कि ‘क’ बराबर ‘क’ नै हुन्छ, ‘ख’ हुँदैन, यो सबैले जानेबुझेकै सवाल हो । तर यसलाई निश्चित सीमासम्मको सत्यका रूपमा मात्र लिन सकिन्छ । पहिचानको नियमले वस्तुको अस्तित्वबारे जानकारी गराउँछ र कुनै एक विषयवस्तुमा हाम्रो ध्यान केन्द्रित गराउँछ । तर पहिचानको अस्तित्व भिन्नतामा टिकेको हुन्छ । एउटालाई चिन्न अर्कालाई पनि चिन्नु पर्छ । प्रत्येक वस्तु सापेक्षतामा रहेको हुन्छ, निरपेक्षतामा होइन (Woods, 2013 : 115) । कुनै वस्तुको आफ्नो विशेष पहिचान भए पनि अरूसँग नदाँजिकन त्यसको पहिचान हुँदैन । हो, बिरालो भनेको बिरालो नै हो तर त्यसलाई राम्ररी बुझ्न अन्य जनावरसँग तुलना नगरी हुँदैन । बिरालो भनेको बाघ, चितुवाभन्दा यसयस सवालमा फरक छ भनी जानेपछि मात्र त्यसबारे ठोस ज्ञान आर्जन गर्न सकिन्छ ।

हेगेलले एरिस्टोटलले औँल्याएको अन्तर्विरोधको नियमलाई पनि समातेका छन् र त्यसमा उपयुक्त विश्लेषण समावेस गरेका छन् । यस सम्वन्धमा उनी भन्दछन् कि प्रत्येक घटनामा उत्पत्ति र विनास दुवै हुन्छ । जुन चीज अस्तित्व मा आउँछ, त्यसको अन्त्य पनि हुन्छ । उनको विश्लेषण अनुसार हरेक परिघटनाले आफ्नो विकासको सिलसिलामा आफैँले आफूलाई निषेध गर्ने शक्ति जन्माउँछ । अन्तर्विरोध कुनै गल्ती कमजोरी हुँदै होइन । त्यसले त प्रत्येक वस्तुलाई गति दिन्छ । वस्तुको अस्तित्व त्यहाँसम्म रहन्छ जहाँसम्म अन्तर्विरोध हुन्छ । अन्तर्विरोध नहुनु भनेको अस्तित्व नै समाप्त हुनु हो ।

हेगेल भन्दछन् कि वैचारिक यात्राको अन्तिम उपलब्धीका रूपमा हामी सैद्धान्तिक आस्थामा पुग्दछौँ । सुरुमा आस्था अस्पष्ट विचारका रूपमा देखापर्छ र स्पष्ट भएपछि नै त्यो सिद्धान्त बन्दछ । सिद्धान्त प्राप्तिका लागि हामी अमूर्तबाट मूर्ततर्फ जानु पर्छ । यो भनेको ज्ञानको गहिराइमा डुवुल्कि मार्नु हो । यो भनेको ज्ञानको तल्लो सिँढीबाट माथिल्लो सिँढीमा एकलनु हो । सिद्धान्त भनेकै अमूर्त र मूर्तबीचको एकत्व हो । पहिला जुन अमूर्त थियो पछि त्यो मूर्तमा परिणत हुन्छ । तर्कशास्त्रको विज्ञानमा हेगेलले द्वन्द्ववादलाई अघि बढाएका छन् । उनी सम्पूर्ण विश्व परिवर्तनको अवस्थामा छ भनेर अधिभूतवादी धारणाको खण्डन गर्दछन् । उनले ज्ञानको प्रक्रिया तलबाट माथितिर विकसित हुँदै जान्छ भन्ने विचार अघि सारेका छन् तर पूर्ण ज्ञानमा गएर उनले ज्ञान प्राप्तिको भारी बिसाउँछन् । पूर्ण ज्ञान भनेर उनले जुन भनेका छन्, त्यो प्रत्ययवादी सोचकै परिणाम हो । उनको भनाइ आफ्नै द्वन्द्ववादी विश्लेषणसँग बाझिन्छ । ज्ञान कहिल्यै टुङ्गिने सवाल होइन । पूर्णता भन्ने सवाल हुँदै हुँदैन । पूर्ण भन्ने बित्तिकै निश्चल अवस्थामा पुगिन्छ र त्यसभन्दा पछिको यात्रा समाप्त हुन्छ । पूर्ण समाज, पूर्ण सत्ता, पूर्ण विचार आदि फगत कल्पनाका सवाल हुन् (Engels, 1994 : 6) । द्वन्द्ववादको नियमले अन्तिम सत्यमा विश्वास गर्दैन । यसरी जतिसुकै वैज्ञानिक विश्लेषण गरेपनि हेगेलले त्यसको भारी प्रत्ययवादमै बिसाए र आफूले आर्जन गरेको सम्पत्ति सबै गुमाए ।

यति भएर पनि अन्य प्रत्ययवादी दार्शनिकहरूभन्दा बेग्लै किसिमले हेगेलले प्रकृति, मानव स्वभाव र मानव इतिहासप्रति चासो देखाएका छन् । मार्क्सले उनलाई ‘आफ्नो समयको विचारको विश्वकोष’ भनेका छन् । मूल रूपमा प्रत्ययवादी भए पनि हेगेलको द्वन्द्ववादी विश्लेषण त्यतिखेरका पुर्सियाका शासकहरूका निम्ति अपाच्य बन्यो । सुरुमा त तिनीहरूले उनको प्रत्ययवादी पक्षका आधारमा उनको दर्शनलाई सत्ता अनुकूलको व्याख्याका रूपमा बुझेका थिए । तर उनको द्वन्द्ववादी विश्लेषण प्रसियन सत्ताको पक्षमा थिएन । एक पटक स्वीकार गरिएको चीज पछि गएर अस्वीकृत बन्छ भन्ने उनको विचार अनुसार आज स्वीकारिएको प्रसियन सत्ता भोलि गएर नकारिन सक्छ भन्ने कुरा बुझ्न सकिन्न्थ्यो । उनको दर्शनले जानकारी गराउने कुरा थियो कि रोमन गणतन्त्र कुनै समयमा सत्य थियो र त्यसलाई जनताले स्वीकारेका थिए । पछि त्यो असत्य ठहरियो, जनताले त्यसलाई अस्वीकार गरे र त्यसको ठाउँ रोमन साम्राज्यले लियो । रोमन साम्राज्य पनि पछि असत्य ठहरिन जान्छ अथवा क्रान्तिको ज्वालामुखीमा परेर भष्म हुन सक्छ । अहिले जे जस्तो व्यवस्था अस्तित्वमा रहेको छ, त्यो भोलि रहन्न । मानव इतिहासमा पहिला स्वीकार गरिएका कुराहरू पछि त्याज्य भएका छन् (Engels, 1994 : 6) । प्रत्ययवादको खोष्टाभित्र रहेको हेगेलकोे यस प्रकारको भनाइको रहस्य खुलेपछि शासक वर्गले अनेक तरहबाट उनलाई सताउन थाले । विरोधीहरूले उनलाई गैरइशाइ र नास्तिकको संज्ञा दिए जसका कारण जीवनको अन्तिम अवस्थामा उनी बेल्जियमतर्फ बसाइ सर्न बाध्य भए ।

सन्दर्भ सामग्रीहरू

एङ्गेल्स, फ्रेडरिक, २०६०, लुडविग फायरवाख र शास्त्रीय जर्मन दर्शनको अन्त्य, प्रगति पुस्तक सदन, काठमाण्डौं ।

निगम, डा. शोभा, २०११, पाश्चात्य दर्शनका ऐतिहासिक सर्वेक्षण, थेलिससे हिगलतक, मोतिलाल वनारसी दास ।

सुनुवार, रमेश, २०५८, दर्शनशास्त्रको हाते किताव, सोभियत संघबाट प्रकाशित A Handbook of Philosophy को नेपाली अनुवाद, प्रगति पुस्तक सदन, काठमाडौँ ।

Engels, Friedrich, 1994, Ludwig Feurbuch and the End of Classical German Philosophy, www.marxist.org

Ted, tripp, 1970, An Outline of Philosophy : Materialism vs Idealism, Labour College Review, httPs//www.marxist.org

Woods, Alan, 2013, The History of Philosophy, marxistnkrumaistforum.files.wordexpress.com

Woods, Alan, 2018, What is Historical Materialism ?, https//www.marxist.com

Wright, John.G., 1956, Feurbach, Philosopher of Materialism, httPs//www.marxist.org