काठमाडौं । नेपाली नागरिकता परित्याग गरी लामो समय अमेरिका बसेर त्यहीँको नागरिकता लिएका र नेपाल फर्केर वर्कपर्मिट बिना गैरकानुनी रूपमा न्युज-२४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ नामक विवादास्पद कार्यक्रम सञ्चालन गरिरहेका रवि लामिछाने नामक व्यक्तिलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणसँग जोडेर प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व रेकर्ड गरेको भिडियोमा नाम पोलेका लामिछाने र युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । उनीहरुलाई पुडासैनीको आत्महत्याका लागि दूरूत्साहन (नकरात्मक प्रोत्साहन) गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोधमा पक्राउ गरिएको हो ।

Rabi Lamichhane and Shalikram Pudasaini

पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा न्युज-२४ टेलिभिजनको कार्यक्रम ‘सिधाकुरा जनतासँग’ सञ्चालक रवि लामिछाने र युवराज कँडेलसँगै अस्मिता कार्की अनुसन्धान घेरामा छन् । अनुसन्धानकै बेलामा घटनासँग जोडिएका पात्रहरु मिलेर युवतीलाई लाइभ कार्यक्रममा उपस्थित गराउन लागेपछि नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतको भनाई छ । लामिछाने र कँडेललाई जिल्ला प्रहरी चितवनको जिम्मा लगाइएको प्रहरी उच्च स्रोतले बतायो ।

यस अघिनै ओखलढुंगा घर भएकी अस्मिता भनिने रूकु कार्कीलाई पनि जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो । नर्ससमेत रहेकी अस्मितालाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको हो ।

मृतक शालिकरामको मोबाइलको फोरेन्सिक रिपोर्ट र पोस्टमार्टम रिपोर्ट तयार भएको बताइएको छ । सोही आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जनाइएकाे छ । ती रिपोर्टहरु भने प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

के हो शालिकराम पुडासैनी प्रकरण ?

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते कामको शिलशिलामा चितवन आएका थिए । उनी सोमबार दिउँसो साढे ३ बजेको हाराहारीमा होटल प्रवेश गरेका थिए ।

होटलका कर्मचारीले साँझको खाना खान बोलाउन जाँदा उनी बसेको कोठा नम्बर २०२ नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । राति १० बजे आएको प्रहरीले ढोका फोडेर हेर्दा उनी पंखामा झुण्डिएको अवस्थामा फेला पारेको थियो ।

घटनाको प्रकृति हेर्दा आत्माहत्या नै भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको चितवन प्रहरी प्रमुख दानबहादुर मल्ल बताउँछन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी हाल माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । यसअघि उनी न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा कार्यरत थिए ।

मृत्युअघि उनले खिचेको भिडियो सार्वजनिक भएको छ र सो भिडियोमा सिधा कुरा जनतासँगका सञ्चालक लामिछानेसहित युवराज कँडेल र अस्मिता भनिने रूकु कार्कीले आत्महत्या गर्न बाध्य पारेको मृतक पुडासैनीले उल्लेख गरेका छन् ।

किटानी जाहेरी दिने तयारीमा परिवार

यतिबेला मृतक पत्रकार शालिकराम पुडासैनीको परिवार भने उनको काजकिरियामा छ । मृतकको १४ औं पुण्यतिथिको काम सकेर भिडियोमा नाम आएका तिनै जना विरुद्ध दुरुत्साहन किटानी जाहेरी गर्ने तयारीमा परिवार रहेको छ ।

छिमेकी गोकर्ण न्यौपाने भन्छन्, “हामी अहिले काममा छौं, शोकमा छौँ । अब यो काजकिरिया सकिएपछि चितवन पुगेर तीनै जनाको नाममा किटानी जाहेरी दिन्छौ । यसअघि पत्रकार पुडासैनीको शव फेला परेको होटल सञ्चालकको नाममा किटानी दिने मनस्थिति बनाए पनि पछि कसैको नाम नराखिकन किटानी जाहेरी दिएका थियौं । अब हामीसँग प्रमाण छ । मर्नुभन्दा अगाडि कसैले गलत बोल्न सक्दैन । आफ्नो ज्यानको माया मारेको मान्छेले कसरी झुठ बोल्छ ? अब हामीसँग प्रमाण भयो  । त्यसैलाई आधार बनाएर १४ औँ दिनमा दुरुत्साहनको किटानी जाहेरी दिन्छौं ।”

के हुन सक्छ सँजाय ?

मुलुकी अपराध संहिता अनुसार के हुन सक्छ कारबाही ? मुलुकी अपराध संहिताले भने यदि कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति गर्न गराउन नहुने उल्लेख गरेको छ । साथै, त्यस्तो अवस्था सिर्जना गराउनेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

Law against Promotion of Suicide - muluk samhita

यो पनि पढ्नुहोस्ः

रवि लामिछाने, मलाई मर्न बाध्य पार्ने तिमी हौ – शालिकराम पुडासैनी (भिडियो सहित)