Nepal Communist Party (NCP)
 

कामरेडहरु, समाजवादको सपनामा होइन, हामी विपनाकै यात्रामा छौँ अहिले । तर, यसका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य नेताहरुको विचार, निष्ठा र व्यवहार समाजवादी सभ्यता अनुकूलको हुनु पर्दछ । आफ्ना लागि समाजवाद होइन, समाजवादका लागि आफ्नो भूमिका खोज्नुपर्नै स्थिति हो अहिले ।

Nil Kantha Tiwari Ekyabaddhata masik ashtha ja Abhiyan
क. निलकण्ठ तिवारी

नेतृत्वको शीर्ष तहले पार्टी एकतापछिको समाजवादको यात्रालाई बोली र आश्वासनमा होइन, व्यवहार र आचरणमा देखाउन जरुरी छ । अब पनि व्यक्तिवादी बन्ने, गुटको अहंकार गरेर अरुलाई निषेध गर्छु भन्ठान्ने र अकर्मण्यतामा फसिरहने हो भने जनताको कडा सजाय भोग्न पर्नेमा कुनै द्विविधा छैन ।

नेकपाको सचिवालय बैठकले यी ३ मुख्य कुरालाई ध्यान दिन सकोस् ।

१. पार्टी एकताको विशिष्ट परिस्थितिमा प्रस्तावित समाजवाद उन्मुख ‘जनताको जनवाद’ लाई उर्वरा, रसिलो, भरिलो र गर्विलो बनाउन सबैको ध्यान पुयाइयोस् ।

२. एउटा व्यक्तिलाई धेरै जिम्मा दिँदा परिणाम प्रभावकारी नहुने र अरु आकांक्षीहरु जिम्मेवारविहीन हुने गैरन्यायिक स्थितिबाट पार्टी र आन्दोलनलाई बचाउन ‘एक व्यक्ति, एक कार्यकारी पद/ जिम्मेवारी’ सहित पार्टी एकताका सबै काम टुंग्याइयोस् र पार्टी तथा जन वर्गीय संगठन र विभागका सबै तहमा निर्देशिका जारी गरियोस् ।

३. पुँजीको न्यायिक वितरण विना समाजवाद नहुने अर्थराजनैतिक मान्यता अनुरुप माटोलाई माया गर्ने संस्कृतिको विकास गर्दै उत्पादन, आत्मनिर्भरता, स्वाधीनता र समृद्धि सहितको वैज्ञानिक समाजवाद उन्मुख ओरियन्टेसनमा जाने शाहसिलो निर्णय गरियोस् साथै हजारौँ कार्यकर्ता, लाखौँ समर्थक, झण्डै दुई तिहाइ मत दिएका जनता र आम नेपालीको मनोबल उठाउने गरी पार्टी कार्यक्रम सार्वजनिक गरियोस् ।

(तिवारी लामो समयदेखि कम्युनिस्ट आन्दोलनको बौद्धिक फाँटमा क्रियाशील हुनुहुन्छ ।)