Agni sapkota, Agni prasad sapkota, Kanchan
 

क. अग्नि सापकोटाः संक्षिप्त चिनारी

भर्खरै निर्विरोध रूपमा सभामुखमा निर्वाचित क. अग्निप्रसाद सापकोटा ‘कञ्चन’को जन्म सिन्धुपाल्चोक जिल्ला चौतारा – ६ कुविण्डे टोलमा २०१४ साल फागुन २४ गते भएको हो । पिता धनपति सापकोटा र माता तिलमाया सापकोटाका सुपुत्र हुनुहुन्छ ।

क. अग्नि सापकोटा सानै उमेरदेखि पढ्नमा रूचि राख्ने एक प्रतिभावान विद्यार्थी हुनुहुन्थ्यो भने उहाँसँग विद्रोही स्वभाव र अन्याय-अत्याचारको विरूद्ध आवाज उठाउने बानी थियो ।

क. अग्नि सापकोटा तत्कालीन विद्रोही नेकपा (माओवादी)को नेताको रूपमा राज्यबाट पटकपटक पीडित व्यक्ति हुनुहुन्छ। २०३५ सालबाट बामपन्थी राजनीतिमा सक्रिय क. सापकोटाले पटक–पटक गरी २ वर्ष राजनीतिक आस्थाको बन्दीको रूपमा जेल जीवन बिताउनु भएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधान सभामा (२०६४ र २०७०)  दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो २०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी हुनुभयो । सांसद सापकोटा विगतमा २ पटक मन्त्री भएर कुशलतापूर्वक नेपाल सरकारको सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी बहन गरिसक्नु भएको छ ।

२०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा उमेदवार बन्नुभएका सापकोटा पराजित हुनुभएको थियो । २०५१ सालमा पार्टी केन्द्रीय सदस्य बन्नुभएका सापकोटा माओवादी र सरकार बिच भएको दोस्रो चरणको वार्तामा वार्ता टोलीका सदस्य समेत हुनुहुन्थो ।

सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । साँगा चोकस्थित जनजागृति माध्यामिक विद्यालयमा १५ वर्ष अध्यापन गर्नु भएका उहाँ त्यतिबेलै देखि उनी शिक्षक राजनीतिमा सक्रिय हुनुहन्थ्यो ।

पछि उहाँ विद्यालयको प्रधानाध्यापक पद र जागिर छोडेर पूर्णकालीन रूपमा राजनीतिमा होमिनु भयो । २०५२ सालबाट भूमिगत हुनुभएका क. सापकोटा माओवादी शान्ति प्रक्रियामा नआउँदासम्म भूमिगत नै हुनुहुन्थ्यो ।

युद्धकालीन मुद्दालाई पेशाको रुपमा अपनाउँदै आएका दिनेश त्रिपाठी नामका एकजना अधिवक्ताद्वारा क. सापकोटालाई सभामुख पदमा निर्वाचन हुन रोक्नका लागि उहाँको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । द्वन्द्वकालीन मुद्दालाई उचालेर डलरको धन्दा गर्ने तप्काले क. सापकोटाको एक पक्षीय रूपमा चर्को विरोध गर्दै आएको छ । शान्ति प्रक्रियापछि निरन्तर सापकोटाविरुद्ध केही संघसंस्था र व्यक्तिले अभियान नै सञ्चालन गरिरहेका छन् ।

क. अग्नि सापकोटा आफै एकजना युद्धका पीडित व्यक्ति हुनुहुन्छ । युद्धका क्रममा थुप्रै घटनामा बल्ल बल्ल जीवन बँचेका घटनाहरु धेरै छन् उहाँसँग । एक पटक त सैन्य आक्रमणमा उहाँलाई अमेरिकामा निर्मित अत्यन्तै खतरनाकक मानिने एम-१६ बन्दुकका ३ गोली लागे ।

अर्कोतिर उहाँको परिवारबाट ७ जनाको सहादत भएको छ भने आफ्नै गाउँबाट धेरै मानिसहरू सहिद र बेपत्ता हुनुको पीडा पनि ताजै छ ।

परिवारका सातजनाको बलिदानः

नवनिर्वाचित सभआमुख क. अग्नि सापकोटाको परिवारका  ७ जना सदस्यहरू तत्कालीन नेकपा (माओवादी) मा आस्था राखेकै कारणले मात्रै जीवन गुमाएका छन् । उहाँको गाउँ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविन्डेबाट मात्रै राज्यको तर्फबाट २१ जना मारिएका छन् भने दुई जना छिमेकीहरू अहिले पनि बेपत्ता छन् ।

सापकोटाको परिवारबाट राज्य पक्षले हत्या गरेका ७ जना निर्दोष मानिसहरूको बारेमा डलरवादी मानव अधिकारवादीहरू कहिल्यै केही बोल्दैनन् । तर सापकोटा परिवारका ती ७ जना सिन्धुपाल्चोकका जनताका महान सन्तति हुन्, सहिद हुन् । क. अग्नि सापकोटाको परिवारबाट क. प्रेम सापकोटा, क. रेवती सापकोटा, क. सुभद्रा सापकोटा, क. गणेश सापकोटा, क. मिना सापकोटा, क. टोकनाथ सापकोटा र क. सविता सापकोटा सहिद भएका छन् ।

उहाँको गाउँका वडाध्यक्ष चुडामणि नेपाल भन्नुहुन्छ, ‘जहाँ अग्नि सर नजोडिएको हत्याकाण्डमा जोड्ने अदालतले कुविन्डेमा माओवादीको आरोपमा हत्या गर्नेहरुबारेमा पनि सोच्नु पर्छ,’ उहाँले भन्नुभयो, ‘इमान्दार नेतालाई आरोप लगाउन सजिलो छ, तर हाम्रो गाउँले जनयुद्धको समर्थन गर्दा राज्यले पुर्‍याएको क्षतिको मूल्यांकन गर्न अग्नि सरलाई मुद्दा लगाउनेहरुले सक्छन् ?’

कुपिण्डेः सहिदहरुको गाउँ

वडाध्यक्ष नेपाल भन्नुहुन्छ, ‘अग्नि सरको गाउँ र मेरो गाउँ एउटै हो । हाम्रो गाउँबाट मात्र २१ जनासहित भएका छन्, दुईजना अझै बेपत्ता छन्।’

अग्नि सापकोटाको परिवारबाट क. प्रेम सापकोटा, क. रेवती सापकोटा, क. सुभद्रा सापकोटा, क. गणेश सापकोटा, क. मिना सापकोटा, क. टोकनाथ सापकोटा र क. सविता सापकोटा सहिद भएका छन् । ‘सापकोटा परिवारका सहिदहरु अग्नि सरकारका भतिज, भतिजा, दाजुभाइहरु हुन्,’ उहाँले भन्नुभयो, ‘गाउँका अन्य पनि धेरै नातेदार छन्।’

यसैगरी सापकोटाको गाउँबाट सहिद हुनेहरुमा क. जितबहादुर श्रेष्ठ, क. रेशमबहादुर श्रेष्ठ, क. विन्दा शर्मा, क. वेदप्रसाद शर्मा, क. कमलप्रसाद शर्मा, क. गोविन्द बजगाईं, क. प्रेम नेपाल, क. कुस्माखर शर्मा, क. भोजप्रसाद सुवेदी, क. भिमप्रसाद शर्मा, क. सेरकु लामा, क. विमला श्रेष्ठ, क. नतिजा श्रेष्ठ र क. सरिता श्रेष्ठ हुनुहुन्छ ।

यसैगरी क. माधव नेपाल र क. सुकुमान तामाङ बेपत्ता रहेको वडा कार्यलयले जनाएको छ। वडाध्यक्ष नेपाल भन्नुहुन्छ, ‘अग्नि सरलाई आरोप लगाउन सजिलो छ, तर अग्नि सरको परिवार र हाम्रो गाउँले राज्य व्यवस्था परिवर्तन गर्न दिएको बलिदान र योगदानको मूल्यांकन गर्न गाह्रो छ।’