pushpa kamal dahal 'prachanda', अध्यक्ष प्रचण्ड
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई पत्र पठाउनुभएको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष क. प्रचण्डले २०२० मार्च २६ तारिख तद्‌अनुसार २०७६ चैत्र १३ गते पठाउनु भएको पत्रमा कोरोना महामारी नियन्त्रण गर्न सफल भएकोमा महासचिव सी चिनफिङलाई बधाईसमेत दिनुभएको छ ।

पत्रमा अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मैले सञ्चार माध्यमहरूबाट थाहा पाएको छु । कोरोना भाइरससँगको यो युद्धमा जीत हात पारेकोमा म नेकपाकोतर्फबाट बधाई दिन चाहन्छु ।”

भारचारा पार्टीकोरूपमा चिनियाँ कम्युनिस्ट पार्टीलाई लेखिएको पत्रमार्फत अध्यक्ष प्रचण्डले नेपाल अहिले यो महामारीसँग जुधिरहेको उल्लेख गर्दै सहयोगका लागि महासचिव सीलाई अपिल गर्नुभएको छ । नेपाल यो महामारीसँग जुध्‍नका लागि विशिष्ट रूपले तयार अवस्थामा नरहेको भन्दै उहाँले औषधि र अन्य चिकित्सकीय सामग्रीहरू सहयोग गर्न आग्रह गर्नुका साथै जतिसक्दो छिटो सहयोग गर्न नेपाली जनता र नेकपाका तर्फबाट अनुरोध गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड-१९) यतिबेला विश्वव्यापी महामारीको रूप लिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी र महासचिव सीको कुशल नेतृत्वका कारण चिनियाँ सरकार र जनताले कोरोना भाइरस विरूद्को संघर्षमा ऐतिहासिक विजय हासिल गर्न सफल भएका छन् । कोरोना भाइरस नियन्त्रणको अभियान सञ्चालन भइरहेको बेला महासचिव सीले यसलाई “कोरोना भाइरस विरूद्धको जनयुद्ध ” भन्नुभएको थियो, जुन सही साबित भएको छ ।