Hou Yanqui, chinese ambassdor to nepal
 

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण फैलिएमा जनवादी गणतन्त्र चीनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको पूरा सहयोग रहने बताउनु भयो । उहाँले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सतर्कता र तयारीको प्रशंसासमेत गर्नुभयो ।

चीनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधी र सूचना नेपाललाई दिन चीन तयार रहेको उहाँको भनाइ थियो ।

भेटमा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनले गरेको अनुभवका बारेमा जानकारी दिँदै राजदूत यान्छीले कोरोना भाइरसको सङ्क्रमणबाट पीडित भएका ८० हजार ९ सय बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताउनुभयो ।

मन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरिरहेको जानकारी गराउनुभयो ।