काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको संक्रमणको लक्षण नदेखिएका विद्यार्थीहरुलाई मात्र नेपाल ल्याइने भएकाले संक्रमणको त्रासमा नरहन सबैलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै जनवादी गणतन्त्र चीनबाट नेपाल झिकाउन लागिएका विद्यार्थीहरु मार्फत संक्रमण फैलन्छ भन्ने भ्रममा नबस्न आग्रह गर्दै चीनबाट विद्यार्थी ल्याउने सरकारको कार्यमा सहयोग गरिदिन हुन सबैलाई अपिल गर्नुभएको छ ।
नेपाल फर्कनका लागि विमानमा बस्नुअघि चीनमा नै सबैको स्वास्थ्य परीक्षण गरिने र परीक्षणका क्रममा कोरोना भाइरसको लक्षण देखिएमा उनीहरुलाई उतै आइसोलेसनमा राखेर उपचार गरिने भएकाले उनीहरुबाट कुनै पनि संक्रमण फैलने खतरा नरहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
यस्तै अवतरण पश्चात संक्रमणको लक्षण देखिएका विद्यार्थीहरुलाई त्रिभुवन विमानस्थलबाट सिधै अस्पताल लाने व्यवस्था गरिएकाले संक्रमणको डर नरहेकोले क्वारेन्टाइन व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरिएको छ ।
सरकारले संक्रमणको लक्षण नदेखिएका विद्यार्थीहरुलाई मात्र क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । क्वारेन्टाइका लागि शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरि चार स्थानमा क्वारेन्टाइन बनाउने सरकारको तयारी छ ।
खरिपाटीमा आइसोलेसन वार्डको तयारी
चीनको उहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराइएको छ।
प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराइएको हो। त्यस्तै चीनको उहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइनका दुई भवन खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिनुभयाे ।
होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिएको र वातावरण विभाग भवनको सामान पनि सारिएको उनले जानकारी दिए। भवन खाली गराउन होस्टेलमा रहेका बिरामीलाई फर्काइएको र दुवै भवनका सबै सामान झिकेर माथिल्लो प्रशासनिक भवनमा सारिएको छ।
नेपाली सेनाको प्राविधिक, स्वास्थ्य मन्त्रालयलगायत टोलीले अध्ययन गरी उक्त ठाउँको छनौट गर्दै प्रतिवेदन बुझाएपछि सरकारले भक्तपुरको खरिपाटीस्थित प्राधिकरणमा आइसोलेसन वार्डका रुपमा क्वारेन्टाइन राख्ने निर्णय गरेको बताइएको छ।
टोलीले अध्ययनका क्रममा १२४ जनालाई यहाँ राख्न सकिने जानकारी गराउँदै ठाउँ खाली गराएको प्राधिकरणले जनाएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सवीन प्रधानलगायत सुरक्षा निकायको टोलीले हिजो शुक्रवार उक्त स्थानको अवस्था र तयारीको बारेमा अवलोकन गरी जानकारी लिएको कर्मचारीले बताएका छन् ।
विद्युत प्राधिकरणका कर्मचारी त्रस्त
टोलीले यो ठाउँको छनौट गर्दा स्वास्थ्य मन्त्रालयबाट आएका कर्मचारीले चीनबाट फर्काउन लागिएका नेपालीलाई राख्न आइसोलेसन मात्रै भएकाले माथिल्लो भवनमा कर्मचारीले काम गर्न सक्ने जानकारी गराएको बताउँदै सहनिर्देशक ओलीले सरकारको यो निर्णयसँगै यहाँका कर्मचारीमा त्रास फैलिएको बताए ।
कर्मचारीमा त्रास फैलिएकाले त्यस क्षेत्रमा बसेर काम गर्न सक्ने वातावरण नभएको भन्दै कर्मचारीलाई कहाँ लैजाने भन्ने निर्णय नभएको बताइएको छ। प्राधिकरणभित्र अहिले विभिन्न २६ वटा विभाग एवं कार्यालय रहेको र सबै विभाग बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ।
स्थानीयवासी र नगरपालिकाको विरोध
कोरोना भाइरसबाट उत्पन्न त्रासका कारण खरिपाटीमा क्वारेन्टराइन राख्ने नेपाल सरकारको निर्णयलाई स्थानीयवासीले भने विरोध गर्दै आएका छन् । स्थानीयवासीले यो ठाउँमा क्वारेन्टाइन राख्न नदिने भन्दै दैनिक आन्दोलन गर्दै आएका छन् । चाँगुनारायण नगरपालिकामार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
चाँगुनारायण नगरपालिकाको छैँठौ नगरसभाले चीनको युहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।
उहाँले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको नगरसभाले ठहर गर्दै त्यसको विकल्प खोज्न आग्रह गरेको जानकारी दिनुभयो । चाँगुनारायणको केन्द्र र बस्तीको बिचमा रहेको यो क्षेत्र कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको भन्दै यो क्षेत्रमा क्वारेन्टाइन राख्दा स्थानीयबाट आउने अवरोध र सङ्कटलाई मध्यनजर गर्दै सरकारलाई अन्यत्र विकल्प खोज्न आग्रह गरेको उहाँको भनाइ थियो ।