अखिल नेपाल किसान महासंघ , Flag of ANPFa, All Nepal Peasants' Federation,
 

काठमाडौँ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल नेतृत्वको) निकटको अखिल नेपाल किसान युनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघसहित चार वटा वामपन्थी किसान संगठनहरूले चालु बजेट अधिवेशनबाट भारतद्वारा भएको लिपुलेक अतिक्रमण को विरुद्ध प्रस्ताव पारित गर्न माग गरेका छन् ।

भारतीय रक्षामन्त्री राजनाथसिंहले नेपाली भूमि मिचेर कैलाश मानसरोवर यात्रा मार्ग उद्घाटन गरेको खबर सार्वजनिक भएसँगै २०७७ वैशाख २७ गते अखिल नेपाल किसान महासंघका अध्यक्ष क. भैरवराज रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष क. सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष क. लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका इन्चार्ज क. कृष्ण रानाको संयुक्त हस्ताक्षरसहित एक प्रेस वक्तव्यमा सार्वजनिक गर्दै यस्तो माग गरेका हुन् ।

वक्तव्यमा “नेपालको स्वाधीनता र सार्वभौमिक अखण्डताको ठाडो र नग्न उल्लङ्घन गर्दै हाम्रो दार्चुला जिल्ला ब्यास क्षेत्रको लिपुलेक भएर चीनको स्वायत्त प्रदेश तिब्बतको मानसरोबर पुग्ने बाटो बनाई त्यसको भारतका रक्षामन्त्री राजनाथसिंहले हिजो उद्घाटनसमेत गरेको खबरले हामी चार किसान सङ्गठन अत्यन्तै गम्भीर र चिन्तित छौँ,” भनिएको छ ।

“पटक पटक सीमा अतिक्रमण गर्ने, नेपाली किसानहरूको जग्गा मिच्ने र नेपालको सार्वभौमिक अखण्डताको घोर अमपान गर्ने भारतीय सत्ताको यो नाङ्गो विस्तारवादी हस्तक्षेपको घोर विरोध र भत्र्सना गर्दछौँ । नेपाल सरकारले तुरुन्तै यसको विरोध गरोस् र नेपाली भूमि र जनताको रक्षा गरोस् भन्ने जोडदार मागसमेत गर्दछौँ,” वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमार्फत चार किसान संगठनहरूले, “अहिले संसदको बजेट अधिवेशन चलिरहेकाले नेपालको भूमि लिपुलेक जबर्जस्ती मिचेको कुराको जोडदार विरोध गरेर प्रस्ताव पारित गरोस् र भारतलाई दार्चुलाको अतिक्रमित सम्पूर्ण कालापानी क्षेत्र फिर्ता गर्न र लिपुलेकबाट तत्कालै सेना फिर्ता लैजान आवाज उठाउनका साथै अन्य थप प्रभावकारी कदम चाल्न जोडदार माग गर्दछौँ, भनेका छन् ।

वक्तव्य मार्फत, “भारतीय सत्ताको यस्तो विस्तारवादी चरित्र र मिचाहा प्रवृत्तिले नेपालकको सीमा मिच्ने, भूमि अतिक्रमण गर्ने र नेपालमाथि बारम्बार हस्तक्षेप गर्ने यस्ता कदमहरूको अन्त्य गर्न तथा दुई देशबिचको सीमालाई व्यवस्थित र सुरक्षित राख्न बङ्गलादेशसँग जस्तै भारतले नेपालसँग पनि सीमामा तारबार लगाउन र निश्चित नाकाबाट मात्र आवातजावत गर्ने व्यवस्था मिलाउन आवश्यक छ भन्ने कुरा हामी पुनः औँल्याउँछौँ । त्यसका निम्ति तुरुन्तै पहल गर्न पनि आग्रह गर्दछौँ,” भनिएको छ ।