काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपाल सरकारले कोरोना भाइरस संक्रमण र नियन्त्रणका लागि उच्च सतर्कताका साथ काम गरिरहेको बताउनु भएको छ ।
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारबाट भएका कामकारवाहीको जानकारी गराउँदै सो कुरा बताउनु भएको भएको हो ।
मन्त्री ढकालका अनुसार कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा दुईपटक मन्त्रीहरु र सम्बन्धित विज्ञ सम्मलित बैठक बसेको, स्वास्थ्य मन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाइएको छ भने प्राविधि र आन्तरिक व्यवस्थापनको काम संयोजनका निम्ति स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भइरहेको छ । स्वास्थ्य मन्त्री ढकालले संक्रमणबाट बच्न जनचेतनामूलक विज्ञापन बनाइएको र सम्बन्धित विज्ञहरुसँग विभिन्न चरणमा बैठक गरी अन्तरक्रिया, परामर्श गर्ने काम भइरहेको जानकारी पनि दिनुभयो ।
उहाँले चीनमा रहेका विद्यार्थीलाई ल्याउने विषय गम्भीर प्रश्नको रुपमा रहेको बताउँदै बिलम्ब नगरी ल्याउने क्रममा सरकार जुटेको स्पष्ट पार्नुभयो । उहाँले सरकार नेपाल फर्कन चाहनेलाई ल्याउन तयारी अवस्थामा रहेको र उनीहरुलाई ल्याएपछि अरुलाई संक्रमण नसरोस् भनेर पनि गम्भीर हुनुपर्ने आवश्यकता रहेकाले त्यहीअनुसारको सतर्कता अपनाउने तयारी अघि बढाएको बताउनुभयो । वुयान प्रान्तमा विमानस्थल बन्द रहेको र यातायात पनि सञ्चालनमा नरहेकाले स्थानीय सरकारसँगको समन्वयनमा त्यहाँका नेपालीलाई नेपाल ल्याई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै सार्वजनिक सम्पर्कमा पठाउने गरी आवश्यक तयारी गरिएको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिनुभयो ।
कुनै पनि रोगको संक्रमण फैलिएको अवस्थामा संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अन्तर्गत सरकारले आदेश जारी गरेर व्यक्तिहरुलाई राख्न सक्ने कानुनी प्रावधानअनुसार आदेश जारी पनि गरिसकेको उहाँले जानकारी दिनुभयो । मन्त्री ढकालले तत्कालका लागि तीनवटा अस्पतालमा ४३ वटा बेडको व्यवस्था मिलाइएको र अन्य अस्पतालमा पनि आवश्यक परामर्श भइरहेको जानकारी दिनुभयो । यस्तै, तत्कालका लागि काठमाडौं उपत्यकाबाहिर पोखरा, चितवन, र भैरहवामा हेल्प डेक्सको व्यवस्था गरिएको तथा रसुवा र तातोपानी नाकालाई पनि सम्भावित जोखिमको ठाउँमा राखेर आवश्यक तयारी गरिएको जानकारी दिनुभयो ।
मन्त्री ढकालले सरकारले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याएर राख्ने ठाउँ नपाएको भन्ने भनाइमा सत्यता नभएको र ढिलाई गरेको भन्ने भनाइमा पनि सत्यता नभएको प्रष्ट पार्नुभयो । ‘ल्याएका विद्यार्थीलाई कुन स्थानमा राख्ने भन्ने कुराको नजिक निष्कर्षमा पुगेका छौं । बस्तीभन्दा टाढा रहेको ठाउँहरु नै छान्नु उपयुक्त हुन्छ भन्ने बुझाइमा सरकार रहेको छ,’ मन्त्री ढकालले भन्नुभयो, ‘ठाउँ नै नपाएर बानेश्वरको हलमा राख्ने कुराले रोग न्यूनीकरण हुन्छ भन्ने हामीलाई लाग्छ र त्यही गर्दा हुने हो भने यस्ता ठाउँहरु त पर्याप्त नै पाउछौँ । तर त्यो पूर्णरुपमा रोगलाई संक्रमित हुन नदिने भन्दा पनि अभिव्यक्ति स्वतन्त्रताको उपयोग मात्रै हो भन्न मेरो बुझाइ रहेको व्यहोरा पनि म गरिमामय सदनलाई जानकारी गराउन चाहन्छु ।’