काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कृष्ण सेन ‘इच्छुक’ बहुआयामिक प्रतिभा भएको बताउनु भएको छ ।
दश वर्षे जनयुद्धका महान् शहीद, वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा आज नेकपाको केन्द्रीय कार्यालय, पेरिसडाँडामा प्रेस संगठन, नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कृष्ण सेन ‘इच्छुक’ बहुमुखी प्रतिभा हुनुहुन्थ्यो । एउटै व्यक्तिमा त्यति धेरै प्रतिभा बिरलै पाइन्छ । फूल चढाएर, श्रद्धाञ्जली गरेर मात्र कृष्ण सेन ‘इच्छुक’प्रति सच्चा सम्मान हुँदैन । हामीले यहाँले लिएको लक्ष्य र विचारधारात्मक चेतबाट सिक्न सके, अनुशरण गर्न सके मात्र इच्छुकप्रति सच्चा श्रद्धाञ्जली हुन्छ।’
‘कृष्ण सेन एक जना प्रसिद्ध कवि हुनुहुन्थ्यो, साहित्यकार हुनुहुन्थ्यो, कुशल पत्रकार हुनुहुन्थ्यो’ प्रचण्डले भने, ‘यहाँ पत्रकार र साहित्यकार मात्र हुनुहुन्थेन, एक क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो। जनयुद्धका क्रममा जनमत निर्माणमा उहाँले खेलेको भूमिकाको विशेष स्मरण गर्नुपर्छ। उहाँले विचारधाराका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ।’

‘उहाँको कलम तिखो र कुशलताका साथ चल्थ्यो, संस्मरण र लेखहरु वर्ग पक्षधरतामा आधारित हुन्थे।’ प्रचण्डले भने, ‘पार्टीभित्रको अन्तरसङ्घर्षमा उहाँले पेचिलो सङ्घर्ष गर्नुहुन्थ्यो। उहाँ जहिले पनि क्रान्तिको पक्षमा, वर्गको पक्षमा, क्रान्तिकारी कित्ताको पक्षमा, एकताको पक्षमा हुनुहुन्थ्यो। उहाँ जहिले पनि अवसरवाद र व्यक्तिवादका विरुद्ध उभिनुहुन्थ्यो। कहिल्यै पनि फुटको पक्षमा उभिनुभएन।’
अध्यक्ष प्रचण्डले विचारधारात्मक एकताकै आधारमा पार्टी एकता गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपयलाई लागेको होला, विचारमा एकता नगरी पार्टी एकता गरियो। तर, त्यो भ्रामक कुरा हो। हामीले निश्चित विचारका आधारमा, मान्यताका आधारमा, समाजवादी क्रान्तिको तयारी गर्ने मान्यताका आधारमा एकता गरेका छौं। कोही पनि भ्रममा नपरौं।’
उहाँले कसैले इतिहासबाट पछाडि फर्कन खोजे पनि त्यो सम्भव नहुने बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कसैले नेतृत्वका विरुद्ध, क्रान्तिकारी विचारका विरुद्ध उभिन्छ भने त्यो उसको समस्या हो, पार्टीको समस्या होइन। कसैले विचारमा अग्रगामी बाटो समाप्न सक्दैन भनेर हामी त्यही अल्झिन सक्दैनौं। अघि बढ्ने कोशिसमा छौं।’











