White House, south facade, american presidential palace
 

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा रहेका नेपाली संघ/संस्था तथा नेपाली समुदायले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध जनप्रदर्शन गर्ने भएका छन् ।

सार्वभौम देश नेपालको सीमा अतिक्रमण गरेकोमा भारती विस्तारवादको चौतर्फी विरोध भइरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट उद्यान (पार्क) मा जम्मा भई डिसेम्बर १४ शनिबारका दिन विरोध प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

संयुक्त राज्य अमेरिकामा विभिन्न प्रयोजनका लागि गएर त्यतै लामो समयदेखि बस्दै आएका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको टेली कन्फेरेन्स बैठकबाट सो प्रदर्शन गर्ने योजना बनाएका हुन् ।

नेपाली जनताले आफूले निर्वाचित गरेको संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्दा सन् २०७२ सालमा भारत सरकारले अघोषित आर्थिक नाकाबन्दी गरेको थियो र त्यतिबेला पनि अमेरिकामा बस्ने नेपालीहरुले एकताबद्ध भई भारतीय विस्तारवादका विरुद्ध प्रदर्शन गरेका थिए र सो प्रदर्शनमा उल्लेख्य संख्यामा नेपाली समुदायको उपस्ठिति रहेको थियो । ४ बर्षपछि हुन लागिरहेको यो प्रदर्शनमा अझ व्यापक सहभआगिता हुने अपेक्षा गरिएको आयोजकहरूको भनाई छ ।

nepali protest, against India, US, white house
२०७२  मा भारतीय आर्थिक नाकाबन्दीका विरुद्ध अमेरिकामा भएको नेपालीहरूको जनप्रदर्शन

भारतीय विस्तारवाद विरुद्ध जुलुस प्रदर्शन गर्नका लागि व्यापक प्रचार-प्रसार गर्ने अभियानमा नेपाली समुदायलाई जुटाउन आफ्ना गतिविधिहरु सुरुवात गरिसकेको आयोजकहरूको दाबी छ । सो दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ । जसमा सबै नेपाली समुदाय सदस्य र अमेरिकाका सबै राज्यका नेपाली संघ/संस्थाको प्रतिनिधि हुने र अटाउने गरी लिपुलेक र कालापानीको अतिक्रमण विरुद्ध प्रदर्शन गरिनेछ ।

आयोजकहरूले सबैलाई जनप्रदर्शनमा सहभागी भएर नेपालीहरु जहाँसुकै भए पनि भारतीय सत्ताधारीहरूलाई  नेपाली भूमिको अतिक्रमण हुन दिँदैनन् भनी स्पष्ट रुपमा सन्देश पठाउन आग्रह गरेका छन् ।