प्रणव मुखर्जी, pranab mukharjee
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले एक शोक वक्तव्य जारी गर्दै मुखर्जीको निधनले आफू स्तब्ध तुल्याएको भन्दै उहाँप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै “उहाँको दुःखद निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता एवं नेपालले एक अनन्य मित्र गुमाएको’ उल्लेख गर्नुभएको छ । अध्यक्ष प्रचण्डले शोक वक्तव्यमा भन्नुभएको छ, “मैले प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिको रूपमा नेपालमा स्वागत गर्न पाएको अवसरको स्मरण गर्दै यस दुःखद क्षणमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त भारत सरकार र सम्पूर्ण भारतीय नागरिकमा गहिरो समवेदना प्रकट गर्दछु ।”

कोरोना संक्रमणबाट ८४ वर्षीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी को सोमबार साँझ निधन भएको हो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको उहाँको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।