माओवादी केन्द्र निकट चार जनसंगठन , चित्रबहादुर श्रेष्ठ, जगत सिम्खडा, दलजित श्रीपाली, अमर परियार
 

काठमाडौँ । यही २०८१ चैत्र १५ गते तीनकुने सहित विभिन्न स्थानमा रक्तपातपूर्ण र विवेकहीन घटना घटाउने राजावादीहरू र तिनका मतियारहरूलाई गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) निकट आधारभूत वर्गका ४ जनसंगठनहरू – क्रमशः अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्षहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “आफूलाई राजावादी भन्न रुचाउने पूर्वपञ्चहरू, तिनको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रविन्द्र मिश्रसहित धवलसमशेर राणा, ज्ञानबहादुर शाही, दीपक सिंह लगायतका राप्रपाका नेताहरू, नेपाललाई भारतमा गाभ्नुपर्छ भन्ने दुर्गा प्रसाईँ, आफै कानुनकर्मी भएर असंवैधानिक र कानुनविपरीत अभिव्यक्ति दिने स्वागत नेपाल, हिन्दु धर्म र धर्मावलम्बीहरूको बेइज्जत हुने गरी गेरूवस्त्रमै प्रहरी र सर्वसाधारणमाथि ढुङ्गामुडा गर्ने र सर्वसाधारणको घर जलाउन आदेश दिने केही स्वघोषित धर्मगुरुहरू, प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिहरू र देशी-विदेशी प्रतिक्रियावादीहरूले योजनाबद्ध रूपमा २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुने, कोटेश्वर, जडिबुटी लगायतका स्थानमा घटाएको रक्तपातपूर्ण र विवेकहीन घटना, त्यसक्रममा श्रमजीवी टेलिभिजनकर्मी सुरेश रजकलाई जिउँदै जलाएर गरिएको हत्या, आन्दोलनका नेतृत्वकर्ताहरूले मञ्चबाटै संसद, एअरपोर्ट, विभिन्न राजनीतिक दलका नेताहरूको घर कब्जा गर्न गरेको अपिल, सर्वसाधारण जनताको घरमा गरिएको आगोलागी, विभिन्न कार्यालय, पसल र सुपर मार्केटहरूमा छिरेर लुटपाट गर्ने, जनतालाई थर्काउने-तर्साउने र निहत्था प्रहरीप्रति भौतिक आक्रमण गर्ने लगायतका घटनाहरू र त्यसबाट उत्पन्न परिस्थितिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ” ।

विज्ञप्तिमा २०८१ चैत्र १५ गतेका लागि समाजवादी मोर्चा, नेपालद्वारा काठमाडौँमा विशाल र्‍याली तथा जनप्रदर्शनको घोषणा गरेको केही दिनपश्चात मात्रै त्यसलाई असफल पार्ने, सो जुलुसमा जाने मानिसहरूलाई बिच बाटोमा रोक्ने र जनतालाई भिडाएर जनताको रगतमा होली खेल्ने आफ्नो पुरानो बानीको निरन्तरताको रूपमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका मतियारको रूपमा रहेका कथित राजावादीहरूले योजनबद्धरूपमा चैत्र १५ गते नै काठमाडौँको तीनकुनेमा जनप्रदर्शन राख्नु आफैमा गलत र बद्‌नियतपूर्ण बताउँतै, “समाजवादी मोर्चाले आफ्नो जुलुसलाई सुझबुझपूर्ण तरिकाले कोटेश्वरबाटै डाइभर्ट गरेर भीडन्त निम्तिन नदिएपछि दिमागी सन्तुलन गुमाएका कथित राजावादीहरूले प्रहरीमाथि जथाभावी आक्रमण गर्ने, दुर्गा प्रसाईँले प्रहरीको जिउमाथि गाडी चलाउने, कथित आन्दोलनका नेताहरूले मञ्चबाटै जनतालाई उत्तेजित हुने गरी अपिल गर्ने र सर्वसाधारणको घरमा आगो लगाउने निकृष्ट कार्य गरेर सो रक्तपात निम्ताएका हुन् भने अनावश्यक बल प्रयोग गरेर काँग्रेस-एमाले सरकारले जनतालाई उत्तेजित बनाउँदै सो रक्तपात मच्चाएको हो,” भनिएको छ । सो घटनामा राप्रपा लगायतका राजावादीहरू र काँग्रेस-एमाले सरकार मात्र नभई यत्रो घटना हुँदासमेत सरकारको पुच्छर बनेर बसेका राजनीतिक दलहरूसमेत जिम्मेवार भएको चार जनसंगठनको दाबी छ ।

विज्ञप्तिमार्फत चार जनवर्गीय संगठनहरूले चैत्र १५ गते सरकारले गोली हानी हत्या गरेका सबिन महर्जन र राजावादीहरूले आगो लगाएर जिउँदै जलाएका श्रमजीवी पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै विज्ञप्तिमा कथित राजावादी शक्तिहरूले निर्लज्जताका साथ घटाएका सबै रक्तपातपूर्ण घटनाहरू तथा गैरजिम्मेवार हर्कतहरू र तिनलाई प्रोत्साहित गर्न सो कार्यक्रममा ऐक्यबद्धता जनाउने स्वघोषित बुद्धिजीवी, सञ्चारकर्मी, सञ्चारगृहका मालिक, पूर्व सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरू र कथित कलाकारहरू लगायतका प्रतिगमनका मतियारहरूको सम्पूर्ण हर्कतहरूको घोर निन्दा तथा भर्त्सना गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का सबैभन्दा प्रभावशाली मानिएका ४ जनसंगठनले सो घटनामा संलग्न र त्यसका मतियारहरू सबैलाई तत्काल गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न, जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गर्न र शान्तिपूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् भने आफैले नेतृत्व गरेको आन्दोलनमा आफ्नो पार्टीको झण्डासमेत बोक्न नसकेर राष्ट्रिय झण्डाको दुरुपयोग गर्नुपर्ने अवस्थामा पुगेका राप्रपाका नेताहरू, कलंकित पूर्वपञ्चहरू र विभिन्न स्वार्थका कारण पूर्वराजा ज्ञानेन्द्रलाई शिखण्डीको रूपमा प्रयोग गरिरहेका सबै देशी-विदेशी प्रतिक्रियावादीहरूले फैलाएका भ्रमहरूमा नपरी नेपाली जनताको महान् त्याग, तपस्या र बलिदान, १० वर्षे महान् जनयुद्ध र ऐतिहसिक जनआन्दोलन, मधेस, थरुहट, आदिवादी-जनजाति आन्दोलन लगायतका संघर्षको प्रतिफलस्वरूप स्थापित संघीय लोकतिन्त्रक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक तथा समावेशी प्रतिनिधित्वको व्यवस्थाप्रति दृढतापूर्वक उभिन र प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिहरू र देशी-विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई गहिरोसँग बुझेर त्यसको दृढतापूर्वक प्रतिरोध गर्न सबै किसान, मजदुर, दलित, सुकुम्बासी, महिला, बुद्धिजीवी, युवा र विद्यार्थीहरूसहित आम जनसमुदायसँग जोडदार अपिल गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठः

आफूलाई राजावादी भन्न रुचाउने पूर्वपञ्चहरू, तिनको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रविन्द्र मिश्रसहित धवलसमशेर राणा, ज्ञानबहादुर शाही, दीपक सिंह लगायतका राप्रपाका नेताहरू, नेपाललाई भारतमा गाभ्नुपर्छ भन्ने दुर्गा प्रसाईँ, आफै कानुनकर्मी भएर असंवैधानिक र कानुनविपरीत अभिव्यक्ति दिने स्वागत नेपाल, हिन्दु धर्म र धर्मावलम्बीहरूको बेइज्जत हुने गरी गेरूवस्त्रमै प्रहरी र सर्वसाधारणमाथि ढुङ्गामुडा गर्ने र सर्वसाधारणको घर जलाउन आदेश दिने केही स्वघोषित धर्मगुरुहरू, प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिहरू र देशी-विदेशी प्रतिक्रियावादीहरूले योजनाबद्ध रूपमा २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुने, कोटेश्वर, जडिबुटी लगायतका स्थानमा घटाएको रक्तपातपूर्ण र विवेकहीन घटना, त्यसक्रममा श्रमजीवी टेलिभिजनकर्मी सुरेश रजकलाई जिउँदै जलाएर गरिएको हत्या, आन्दोलनका नेतृत्वकर्ताहरूले मञ्चबाटै संसद, एअरपोर्ट, विभिन्न राजनीतिक दलका नेताहरूको घर कब्जा गर्न गरेको अपिल, सर्वसाधारण जनताको घरमा गरिएको आगोलागी, विभिन्न कार्यालय, पसल र सुपर मार्केटहरूमा छिरेर लुटपाट गर्ने, जनतालाई थर्काउने-तर्साउने र निहत्था प्रहरीप्रति भौतिक आक्रमण गर्ने लगायतका घटनाहरू र त्यसबाट उत्पन्न परिस्थितिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

२०८१ चैत्र १५ गतेका लागि समाजवादी मोर्चा, नेपालद्वारा काठमाडौँमा विशाल र्‍याली तथा जनप्रदर्शनको घोषणा गरेको केही दिनपश्चात मात्रै त्यसलाई असफल पार्ने, सो जुलुसमा जाने मानिसहरूलाई बिच बाटोमा रोक्ने र जनतालाई भिडाएर जनताको रगतमा होली खेल्ने आफ्नो पुरानो बानीको निरन्तरताको रूपमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका मतियारको रूपमा रहेका कथित राजावादीहरूले योजनबद्धरूपमा चैत्र १५ गते नै काठमाडौँको तीनकुनेमा जनप्रदर्शन राख्नु आफैमा गलत र बद्‌नियतपूर्ण थियो । तर समाजवादी मोर्चाले आफ्नो जुलुसलाई सुझबुझपूर्ण तरिकाले कोटेश्वरबाटै डाइभर्ट गरेर भीडन्त निम्तिन नदिएपछि दिमागी सन्तुलन गुमाएका कथित राजावादीहरूले प्रहरीमाथि जथाभावी आक्रमण गर्ने, दुर्गा प्रसाईँले प्रहरीको जिउमाथि गाडी चलाउने, कथित आन्दोलनका नेताहरूले मञ्चबाटै जनतालाई उत्तेजित हुने गरी अपिल गर्ने र सर्वसाधारणको घरमा आगो लगाउने निकृष्ट कार्य गरेर सो रक्तपात निम्ताएका हुन् भने अनावश्यक बल प्रयोग गरेर काँग्रेस-एमाले सरकारले जनतालाई उत्तेजित बनाउँदै सो रक्तपात मच्चाएको हो । तसर्थ सो घटनामा राप्रपा लगायतका राजावादीहरू र काँग्रेस-एमाले सरकार मात्र नभई यत्रो घटना हुँदासमेत सरकारको पुच्छर बनेर बसेका राजनीतिक दलहरूसमेत जिम्मेवार छन् ।

हामी नेकपा (माओवादी केन्द्र) निकट चार जनवर्गीय संगठनहरू चैत्र १५ गते सरकारले गोली हानी हत्या गरेका सबिन महर्जन र राजावादीहरूले आगो लगाएर जिउँदै जलाएका श्रमजीवी पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ । कथित राजावादी शक्तिहरूले निर्लज्जताका साथ घटाएका सबै रक्तपातपूर्ण घटनाहरू तथा गैरजिम्मेवार हर्कतहरू र तिनलाई प्रोत्साहित गर्न सो कार्यक्रममा ऐक्यबद्धता जनाउने स्वघोषित बुद्धिजीवी, सञ्चारकर्मी, सञ्चारगृहका मालिक, पूर्व सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरू र कथित कलाकारहरू लगायतका प्रतिगमनका मतियारहरूको सम्पूर्ण हर्कतहरूको घोर निन्दा तथा भर्त्सना गर्दछौँ । सो घटनामा संलग्न र त्यसका मतियारहरू सबैलाई तत्काल गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न, जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गर्न र शान्तिपूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । साथै, आफैले नेतृत्व गरेको आन्दोलनमा आफ्नो पार्टीको झण्डासमेत बोक्न नसकेर राष्ट्रिय झण्डाको दुरुपयोग गर्नुपर्ने अवस्थामा पुगेका राप्रपाका नेताहरू, कलंकित पूर्वपञ्चहरू र विभिन्न स्वार्थका कारण पूर्वराजा ज्ञानेन्द्रलाई शिखण्डीको रूपमा प्रयोग गरिरहेका सबै देशी-विदेशी प्रतिक्रियावादीहरूले फैलाएका भ्रमहरूमा नपरी नेपाली जनताको महान् त्याग, तपस्या र बलिदान, १० वर्षे महान् जनयुद्ध र ऐतिहसिक जनआन्दोलन, मधेस, थरुहट, आदिवादी-जनजाति आन्दोलन लगायतका संघर्षको प्रतिफलस्वरूप स्थापित संघीय लोकतिन्त्रक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक तथा समावेशी प्रतिनिधित्वको व्यवस्थाप्रति दृढतापूर्वक उभिन र प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिहरू र देशी-विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई गहिरोसँग बुझेर त्यसको दृढतापूर्वक प्रतिरोध गर्न सबै किसान, मजदुर, दलित, सुकुम्बासी, महिला, बुद्धिजीवी, युवा र विद्यार्थीहरूसहित आम जनसमुदायसँग जोडदार अपिल गर्दछौँ ।

हार्दिक क्रान्तिकारी अभिवादनसहित ।                                                 मितिः२०८१ चैत्र १ गते

चित्रबहादुर श्रेष्ठ, अध्यक्ष, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

जगतबहादुर सिम्खडा, अध्यक्ष,  अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)

दलजित श्रीपाली, अध्यक्ष, नेपाल दलित मुक्ति मोर्चा

अमर परियार, अध्यक्ष,  अखिल नेपाल सुकुम्बासी संघ

monarchist, चैत्र १५ गते