अध्यक्ष प्रचण्ड, पुष्पकमल दाहाल, Chairman Puspa kamal dahal prachanda
 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू फेरि क्रान्तिमा जाने र लडिरहने बताउनु भएको छ । बिहीबार जनयुद्धका क्रममा जनमुक्ति सेनासँगै रहेर स्वास्थ्यकर्मीको भूमिका खेलेका योद्धाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उमेर ढल्कँदै गए पनि हार नखाएको बताउनुभयाे ।

कार्क्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री क. प्रचण्डले भन्नुभयाे, “यो बिचमा पुराना साथीहरु छुटेको साँचो हो । अब एकपटक फेरि कोर्ष करेक्सन गर्न तयार छु, म छोड्नेवाला छैन । फेरि क्रान्तिमा जानेवाला र लड्नेवाला छु । माओले ७६ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म अहिले पनि लडिरहेको छु, लड्नेछु ।”

अध्यक्ष प्रचण्डले भन्नुभयाे, “संस्थागत ढंगले पुराना साथीहरु समेट्न ध्यान दिनुपर्ने त्यो नपुगेको हो । जुन भरोसा नेतृत्व र पार्टीप्रति राख्नुभयो, त्यसले फेरि पनि हाम्रो विजयको दिन आउनेछ भन्ने विश्वास छ । संस्थागत रुपले जति अनुगमन गर्नुपर्ने हो, त्यो हुन नसकेको साँचो कुरा हो । त्यसैले जनमुक्ति सेना कोही खाडी, कोही बेरोजगार हुनुपर्ने कुरा दुःखद हो । अब हामी केन्द्रीय कमिटी र कार्यकर्ता भेलामा जनमुक्ति सेनालगायत सबैलाई समेट्ने छौँ । जनसेनासँगै फर्मेसनमा हिँडेर योगदान गरेका स्वास्थ्यकर्मीलाई पार्टीले मात्रै भए पनि प्रमाणपत्र दिनेछौँ ।”

खाडीमा रहेकादेखि पुराना नेताकार्यकर्ताले अहिले पनि आफूलाई “प्रचण्ड हाम्रो नेता हो, फेरि पनि लड्नपर्‍यो भने हामी आउनेछौँ” भन्ने गरेको प्रसंग सम्झिएर भावुक बन्नुभएका अध्यक्ष प्रचण्डले थप्नुभयाे, “खाडीमा दुःख पाएर बस्दै गर्दा पनि उहाँहरुले त्यो कुरा गर्नु निक्कै भावुक र संवेदनशील कुरा हो । नेतृत्वप्रतिको विश्वास हो ।”

केपी प्रवृतिका विरुद्ध १९ पेजको डकुमेण्ट लेख्दैगर्दा नयाँ आन्दोलन सुरु गरेको महसुस भएको स्मरण गर्दै उहाँ भन्नुभयाे, “षडयन्त्रकारी लिडरशीपमाथि बम बर्साऊ भन्ने चिनियाँ भनाइ थियो, मैले पनि ओली प्रवृतिप्रति प्रहार गरेको हो । युद्ध भनेर अहिले हिंसामा जाने भनिएको त हैन । तर शान्ति मार्फत युद्ध गरेको हो । अहिले पनि युद्ध चलिरहेको छ । अझै पनि ठुल्ठुला षडयन्त्रहरु भइरहेका छन् । त्यसका विरुद्ध हामी अहिले फेरि आफै, आफ्नै खुट्टामा उभिने अवस्थामा आइपुगेका छौँ । सबै क्रान्तिकारीहरु माथि नै भरपर्ने अवस्था आएको छ, त्यसकै आधारमा मैले हेडक्वाटरमा बमबार्ड गरेको हो ।”

उहाँले अब २/४ वर्ष काठमाडौँभन्दा बाहिर पार्टी अभियानमा बढी समय बिताउने योजना रहेको पनि बताउनुभयो । “फेरि २/४ वर्ष जनताका बिचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठुलो षड्यन्त्र गरेर हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धिमाथि धावा बोल्ने कोशिस गरेका छन्’ उहाँले भन्नुभयो ।

उहाँले आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिने बताउँदै आफू फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको पनि बताउनुभयो ।