जुगेडी, किसान संघर्ष दिवस, Dasha Rath Chepang, Santa Bahadur Praja, jugedi kisan sangharsh, जुगेडी किसान सङ्घर्ष
 

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले वर्गीय मुक्तिविना किसान मुक्तिको अर्को कुनै बाटो नभएको र वर्गीय मुक्तिका लागि समाजवादी क्रान्तिको बाटो नै एकमात्र बाटो भएको दाबी गर्दै जुगेडी किसान संघर्षसहित सम्पूर्ण किसान संघर्षहरूले देखाएको वर्गीय मुक्ति र कृषि क्रान्तिको बाटोमा प्रतिबद्ध रहँदै निष्ठापूर्वक निरन्तर लागिरहने बताएको छ । आज ३० औँ किसान संघर्ष दिवस तथा ४४औँ जुगेडी किसान संघर्ष स्मृति दिवसको उपलक्ष्यमा एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष क. चित्रबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाली किसानहरूको मुक्तिकामी संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आफ्नो स्थापनाकालदेखि नै सामन्ती शोषण तथा थिचोमिचोका विरुद्ध र नेपाली  किसानहरूको हक, हित र अधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको दाबी गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०३४ साल असार ६ गते चितवनको जुगेडीमा भएको ऐतिहासिक तथा बलिदानीपूर्ण किसान संघर्ष र किसान संगठनको स्थापनाकालदेखि भएका सम्पूर्ण किसान संघर्ष तथा विद्रोहहरू र त्यसमा बलिदान गर्ने महान सहिदहरूको उच्च सम्मानमा हरेक वर्षको असार ६ गतेलाई ‘किसान संघर्ष दिवस’ को रूपमा मनाउँदै आएको छ ।

विज्ञप्तिमा, “नेपाली जनताले ७ दशक लामो संघर्षपश्चात सामन्ती राजतन्त्र ढालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छन् । कम्युनिस्ट पार्टीलाई दुईतिहाइ बहुमत प्रदान गरेर नेपाली जनवादी क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्दै समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने जनमत समेत दिएका थिए । तर प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा देशमा भ्रष्टाचार मौलाएको छ । बलत्कार र महिला हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन् । समाजवादी क्रान्तिको दिशामा कुनै काम भएका छैनन्,” भन्दै “किसान, मजदुर र श्रमजीवी वर्गको हक, हित र अधिकारको विरुद्ध एकपछि अर्को षडयन्त्र भइरहेको छ । भूमि बैंक, कृषिमा विदेशी लगानीजस्ता नवउदारवादी र किसानविरोधी कार्यक्रमहरू अघि सारिएको छ ।”

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले एमसीसी, सामन्त गोयल, नागरिकता अध्यादेश प्रकरणहरू मार्फत केपी ओलीको राष्ट्रिय आत्मसमर्पणवादको पर्दाफास भएको, दुई–दुई पटकसम्म असंवैधानिक तरिकाले प्रतिनिधि सभाको विघटन भएको, राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोमा संविधान र नियम–कानुनको घज्जी उडाइएको, केपी ओलीको प्रतिगामी तथा परिवर्तनविरोधी सोच, पदलोलुपता, द्रव्यमोह र भ्रष्ट चरित्रका कारण नेकपाको एकता भाँडिएको, जनतामा व्यापक रूपमा निराशा छाएको छ र आज आफूलाई कम्युनिस्ट भन्न समेत लाज मान्नुपर्ने अवस्था सिर्जना भएको बताएको छ ।

“अपितु १०४ वर्षे राणा शासन, ३० वर्षे पञ्चायती व्यवस्था र २४० वर्षे निरंकुश जहानियाँ राजतन्त्रलाई परास्त गरेका नेपाली जनताले अहंकारी केपी ओलीलाई पनि परास्त गरिछाड्नेछन् र त्यो संघर्षमा देशका दुईतिहाइ किसानहरूको नेतृत्व गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) संघर्षको मोर्चामा डटिरहेको छ र डटिरहने छ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा “आज ३०औँ किसान संघर्ष दिवस र ४४औँ जुगेडी किसान संघर्ष स्मृति दिवसको यो ऐतिहासिक घडीमा हामी जुगेडी किसान संघर्षको क्रममा घटनास्थलमा सहादत प्राप्त गर्ने क. दशरथ चेपाङ र क. सन्तबहादुर प्रजाका साथै पछि जेलमा यातनाका कारण मृत्युवरण गर्ने क. नन्दबहादुर प्रजा र क. भक्तबहादुर प्रजासहित नेपालको राष्ट्रिय र वर्गीय मुक्ति आन्दोलन र दश वर्षे महान् जनयुद्धका साथै सम्पूर्ण सशस्त्र तथा शान्तिपूर्ण किसान संघर्षको क्रममा आफ्नो अमूल्य जीवन बलिदानी गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछौँ । ती किसान संघर्ष र विद्रोहहरूको नेतृत्व गर्ने तथा त्यसमा सहभागी हुने सम्पूर्ण अग्रज योद्धाहरू र घाइते योद्धाहरूका साथै सहिद तथा बेपत्ता परिवारजन प्रति उच्च सम्मान प्रकट गर्दछौँ । वर्गीय मुक्तिविना किसान मुक्तिको अर्को कुनै बाटो छैन । वर्गीय मुक्तिका लागि समाजवादी क्रान्तिको बाटो नै एकमात्र बाटो हो । जुगेडी किसान संघर्षसहित सम्पूर्ण किसान संघर्षहरूले देखाएको वर्गीय मुक्ति र कृषि क्रान्तिको बाटोमा हामी आज पर्यन्त प्रतिबद्ध छौँ र निष्ठापूर्वक निरन्तर लागिरहने छौँ,” उल्लेख छ ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), Flag of ANPFa RC, All Nepal Peasants' Federation (Revolutionary centre)

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को विज्ञप्तिको पूर्णपाठः

नेपाली किसानहरूको मुक्तिकामी संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आफ्नो स्थापनाकालदेखि नै सामन्ती शोषण तथा थिचोमिचोका विरुद्ध र नेपाली किसानहरूको हक, हित र अधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको छ । २०३४ साल असार ६ गते चितवनको जुगेडीमा भएको ऐतिहासिक तथा बलिदानीपूर्ण किसान संघर्षले नेपाली किसान आन्दोलनको इतिहासमा एक विशिष्ट महत्त्व बोकेको छ । सो संघर्षका साथै किसान संगठनको स्थापनाकालदेखि भएका सम्पूर्ण किसान संघर्ष तथा विद्रोहहरू र त्यसमा बलिदान गर्ने महान सहिदहरूको उच्च सम्मानमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले हरेक वर्षको असार ६ गतेलाई ‘किसान संघर्ष दिवस’ को रूपमा मनाउँदै आएको छ ।

नेपाली जनताले ७ दशक लामो संघर्षपश्चात सामन्ती राजतन्त्र ढालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छन् । कम्युनिस्ट पार्टीलाई दुईतिहाइ बहुमत प्रदान गरेर नेपाली जनवादी क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्दै समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने जनमत समेत दिएका थिए । तर प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा देशमा भ्रष्टाचार मौलाएको छ । बलत्कार र महिला हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन् । समाजवादी क्रान्तिको दिशामा कुनै काम भएका छैनन् । किसान, मजदुर र श्रमजीवी वर्गको हक, हित र अधिकारको विरुद्ध एकपछि अर्को षडयन्त्र भइरहेको छ । भूमि बैंक, कृषिमा विदेशी लगानीजस्ता नवउदारवादी र किसानविरोधी कार्यक्रमहरू अघि सारिएको छ । एमसीसी, सामन्त गोयल, नागरिकता अध्यादेश प्रकरणहरू मार्फत केपी ओलीको राष्ट्रिय आत्मसमर्पणवादको पर्दाफास भएको छ । दुई–दुई पटकसम्म असंवैधानिक तरिकाले प्रतिनिधि सभाको विघटन भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोमा संविधान र नियम–कानुनको घज्जी उडाइएको छ । केपी ओलीको प्रतिगामी तथा परिवर्तनविरोधी सोच, पदलोलुपता, द्रव्यमोह र भ्रष्ट चरित्रका कारण एकातिर नेकपाको एकता भाँडिएको छ भने अर्कोतिर जनतामा व्यापक रूपमा निराशा छाएको छ र आज आफूलाई कम्युनिस्ट भन्न समेत लाज मान्नुपर्ने अवस्था सिर्जना भएको छ । अपितु १०४ वर्षे राणा शासन, ३० वर्षे पञ्चायती व्यवस्था र २४० वर्षे निरंकुश जहानियाँ राजतन्त्रलाई परास्त गरेका नेपाली जनताले अहंकारी केपी ओलीलाई पनि परास्त गरिछाड्नेछन् र त्यो संघर्षमा देशका दुईतिहाइ किसानहरूको नेतृत्व गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) संघर्षको मोर्चामा डटिरहेको छ र डटिरहने छ ।

आज ३०औँ किसान संघर्ष दिवस र ४४औँ जुगेडी किसान संघर्ष स्मृति दिवसको यो ऐतिहासिक घडीमा हामी जुगेडी किसान संघर्षको क्रममा घटनास्थलमा सहादत प्राप्त गर्ने क. दशरथ चेपाङ र क. सन्तबहादुर प्रजाका साथै पछि जेलमा यातनाका कारण मृत्युवरण गर्ने क. नन्दबहादुर प्रजा र क. भक्तबहादुर प्रजासहित नेपालको राष्ट्रिय र वर्गीय मुक्ति आन्दोलन र दश वर्षे महान् जनयुद्धका साथै सम्पूर्ण सशस्त्र तथा शान्तिपूर्ण किसान संघर्षको क्रममा आफ्नो अमूल्य जीवन बलिदानी गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछौँ । ती किसान संघर्ष र विद्रोहहरूको नेतृत्व गर्ने तथा त्यसमा सहभागी हुने सम्पूर्ण अग्रज योद्धाहरू र घाइते योद्धाहरूका साथै सहिद तथा बेपत्ता परिवारजन प्रति उच्च सम्मान प्रकट गर्दछौँ । वर्गीय मुक्तिविना किसान मुक्तिको अर्को कुनै बाटो छैन । वर्गीय मुक्तिका लागि समाजवादी क्रान्तिको बाटो नै एकमात्र बाटो हो । जुगेडी किसान संघर्षसहित सम्पूर्ण किसान संघर्षहरूले देखाएको वर्गीय मुक्ति र कृषि क्रान्तिको बाटोमा हामी आज पर्यन्त प्रतिबद्ध छौँ र निष्ठापूर्वक निरन्तर लागिरहने छौँ ।

क्रान्तिकारी अभिवादनसहित ।
मिति: २०७८/०३/०६

चित्रबहादुर श्रेष्ठ
अध्यक्ष

जुगेडी किसान संघर्ष, किसान संघर्ष दिवस, day of the peasant struggle