अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), Flag of ANPFa RC, All Nepal Peasants' Federation (Revolutionary centre)
 

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा सँधैभरि व्यस्त प्रधानमन्त्री केपी ओली र उनको सरकारसँग प्राकृतिक प्रकोपहरू आउन नदिन, आइहालेमा तिनको सामना, रोकथाम र नियन्त्रण गर्दै नागरिकहरूको जिउधनको रक्षा गर्न राज्यको तर्फबाट गर्नुपर्ने कुनै पूर्वतयारी नभएकोले ठुलो संख्यामा जनधनको क्षति भएको र दर्दनाक अवस्था भोग्न वाध्य हुनुपरेको विचार व्यक्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र) निकट जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आज एक विज्ञप्ति प्रकाशित गर्दै महासंघ र घटक संगठनहरूका सम्पूर्ण कमिटीहरू तथा सदस्यहरूलाई राहत, उद्दार र सहयोगमा जुट्न अपील समेत गरेको छ ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष क. चित्रबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा “नेपालमा मनसुनको प्रवेशसँगै केही दिन यता भइरहेको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले ठुलो रुपमा जनधनको क्षति पुगेको” उल्लेख गर्दै “बाढी पहिरोमा परी जीवन गुमाउने सबैप्रति अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ,” भनिएको छ । महासंघले घाइते भएकाहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले मुलुकको दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरूले आफ्नो मुख्य बाली धानका साथै कोदो, भटमास, मौसमी तथा बेमौसमी बर्खे तरकारी तथा सदाबहार फलफूल रोप्ने र चैते धान भित्राउने समयमा बाढी, पहिरो र डुबानका साथै सिँचाइको नहर, कुला र कुलेसाहरू भत्काउने, थुनिने, पाइपहरू बगाएर लैजाने लगायतका समस्याहरु भोग्न बाध्य भएको र कैयौँ किसानहरूका घरगोठका साथै बिउब्याड, बालीनाली, पशुपन्छी तथा चौपायाहरू बगाउने र पुरिने भएको एवम् ठुलो संख्यामा जनताको घरगोठ तथा खेतबारी जोखिममा परेकोले सन्त्रासको वातावरणमा जिउन बाध्य हुनु परेको बताएको छ ।

विज्ञप्तिमा, “नेपाली जनताले दुईतिहाइ बहुमत प्रदान गरेर सरकारको नेतृत्व गर्ने अवसर प्रदान गर्दा समेत केपी ओली सरकारले पर्यावरणको संरक्षण गर्दै विकास निर्माणलाई अगाडि बढाउन दिगो विकाससम्बन्धी ठोस नीति तथा कार्ययोजना तयार गर्न नसक्नु, विना पूर्वयोजना जथाभावी रुपमा बाटो खन्ने, खोला नाला च्यापेर निर्माण कार्य गर्ने, पूर्वाधार निर्माण सम्बन्धी कुनै ठोस आर्थिक तथा वातावरणीय मापदण्ड तयार गर्न नसक्नुका कारणले देशव्यापीरूपमा भयावह स्थितिको सामना गर्नु परिरहेको छ,” भनिएको छ ।

“जतिसुकै नीच र तल्लोस्तरका क्रियाकलाप गरेर भए पनि आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा सँधैभरि व्यस्त प्रधानमन्त्री केपी ओली र उनको सरकारसँग यस्ता प्राकृतिक प्रकोपहरू आउन नदिन, आइहालेमा तिनको सामना, रोकथाम र नियन्त्रण गर्दै नागरिकहरूको जिउधनको रक्षा गर्न राज्यको तर्फबाट गर्नुपर्ने कुनै पूर्वतयारी थिएन । जसका कारण एकातिर ठुलो संख्यामा जनधनको क्षति भएको छ भने अर्कोतर्फ बाँचेकाहरूले पनि उद्दार र राहतको महसुस गर्न सकेका छैनन् र दर्दनाक अवस्था भोग्न वाध्य छन्,” विज्ञप्तिमा उल्लेख छ ।

महासंघले यस प्रकोपमा परी जीवन गुमाउने र प्रभावित परिवारहरूलाई तत्काल राहतको व्यवस्था गर्न, घाइतेहरूको तत्काल स्वास्थ्योपचार गराउन, भत्किएका र नष्ट भएका संरचनाहरू तत्काल पूनर्निर्माण गरी खेतीपाती गर्ने वातावरण तयार गर्न र देशव्यापीरूपमा रासायनिक मलको हाहाकारको स्थिति भएकोले तत्काल मल उपलब्ध गराउन हामी नेपाल सरकारसँग जोडदार माग गरेको छ भने संविधान र कानुन विपरीत अध्यायदेशबाट ल्याइएको बजेटमार्फत अघि सारिएका भूमि बैंकका साथै कन्ट्य्राक्ट फार्मिङ, कृषि क्षेत्रमा विदेशी लगानी भित्राउने र कृषि क्षेत्रको बजेट घटाउने जस्ता किसानविरोधी निर्णयहरूको घोर भर्त्सना गर्दै तिनलाई तत्काल सच्चाउन समेत माग गरेको छ ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्वारा जारी विज्ञप्तिको पूर्णपाठः

नेपालमा मनसुनको प्रवेशसँगै केही दिनयता भइरहेको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले ठुलो रुपमा जनधनको क्षति पुगेको छ । बाढी पहिरोमा परी जीवन गुमाउने सबैप्रति अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ । साथै, घाइते भएकाहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

मुलुकको दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरूले आफ्नो मुख्य बाली धानका साथै कोदो, भटमास, मौसमी तथा बेमौसमी बर्खे तरकारी तथा सदाबहार फलफूल रोप्ने र चैते धान भित्राउने समयमा बाढी, पहिरो र डुबानका साथै सिँचाइको नहर, कुला र कुलेसाहरू भत्काउने, थुनिने, पाइपहरू बगाएर लैजाने लगायतका समस्याहरु भोग्न बाध्य भएका छन् । कैयौँ किसानहरुका घरगोठका साथै बिउब्याड, बालीनाली, पशुपन्छी तथा चौपायाहरू बगाउने र पुरिने भएको छ भने ठुलो संख्यामा जनताको घरगोठ तथा खेतबारी जोखिममा परेकोले सन्त्रासको वातावरणमा जिउन बाध्य हुनु परेको छ । नेपाली जनताले दुईतिहाइ बहुमत प्रदान गरेर सरकारको नेतृत्व गर्ने अवसर प्रदान गर्दा समेत केपी ओली सरकारले पर्यावरणको संरक्षण गर्दै विकास निर्माणलाई अगाडि बढाउन दिगो विकाससम्बन्धी ठोस नीति तथा कार्ययोजना तयार गर्न नसक्नु, विना पूर्वयोजना जथाभावी रुपमा बाटो खन्ने, खोला नाला च्यापेर निर्माण कार्य गर्ने, पूर्वाधार निर्माण सम्बन्धी कुनै ठोस आर्थिक तथा वातावरणीय मापदण्ड तयार गर्न नसक्नुका कारणले देशव्यापीरूपमा भयावह स्थितिको सामना गर्नु परिरहेको छ । जतिसुकै नीच र तल्लोस्तरका क्रियाकलाप गरेर भए पनि आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा सँधैभरि व्यस्त प्रधानमन्त्री केपी ओली र उनको सरकारसँग यस्ता प्राकृतिक प्रकोपहरू आउन नदिन, आइहालेमा तिनको सामना, रोकथाम र नियन्त्रण गर्दै नागरिकहरूको जिउधनको रक्षा गर्न राज्यको तर्फबाट गर्नुपर्ने कुनै पूर्वतयारी थिएन । जसका कारण एकातिर ठुलो संख्यामा जनधनको क्षति भएको छ भने अर्कोतर्फ बाँचेकाहरूले पनि उद्दार र राहतको महसुस गर्न सकेका छैनन् र दर्दनाक अवस्था भोग्न वाध्य छन् ।

तसर्थ यस प्रकोपमा परी जीवन गुमाउने र प्रभावित परिवारहरूलाई तत्काल राहतको व्यवस्था गर्न, घाइतेहरूको तत्काल स्वास्थ्योपचार गराउन, भत्किएका र नष्ट भएका संरचनाहरू तत्काल पूनर्निर्माण गरी खेतीपाती गर्ने वातावरण तयार गर्न र देशव्यापीरूपमा रासायनिक मलको हाहाकारको स्थिति भएकोले तत्काल मल उपलब्ध गराउन हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । साथै, संविधान र कानुन विपरीत अध्यायदेशबाट ल्याइएको बजेटमार्फत अघि सारिएका भूमि बैंकका साथै कन्ट्य्राक्ट फार्मिङ, कृषि क्षेत्रमा विदेशी लगानी भित्राउने र कृषि क्षेत्रको बजेट घटाउने जस्ता किसानविरोधी निर्णयहरूको घोर भर्त्सना गर्दै तिनलाई तत्काल सच्चाउन पनि जोड्दार माग गर्दछौँ । यसका साथै, महासंघ र घटक संगठनहरूका सम्पूर्ण कमिटीहरू तथा सदस्यहरूलाई राहत, उद्दार र सहयोगमा जुट्न हार्दिक अपील गर्दछौँ ।

क्रान्तिकारी अभिवादनसहित ।

मिति: २०७८/०३/०५

चित्रबहादुर श्रेष्ठ
अध्यक्ष

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), press release, landslide, ANPFA RC,