Nirmal Lama, निर्मल लामा
 

डाक्टर हुने, इन्जिनियर हुने सब सपना चकनाचुर भइसकेका थिए । अघिल्लो वर्ष मात्रै करिब डेढ महिना थुनेर मलाई महेन्द्र मोरङ क्याम्पस, बिराटनगरबाट रेस्ट्रिकेट गरिसकेका थिए । त्यो पनि ६ महिना मोरङ नपस्ने गरी डाँडो कटा’र । एक वर्षपछि, ०३३ सालको माघ फागुन हुनुपर्छ, म बनारस आईएको प्राइभेट परीक्षार्थी भएर गएको थिएँ ।

वनारसको घाँसी टोला । उबेला निर्मल लामा जीहरु यहीँ बस्नु हुन्थ्यो । मलाई निर्मल लामा भेट्ने छुद्धे जागेर आयो । यसो हुनुमा कारण थियो, आफू ‘ठुटे’ ‘झापाली’ भएर अन्य कम्युनिस्ट समूहबारे पढिएको थियो, ‘मोहन विक्रम-निर्मल लामा जीहरुको ‘चौथो महाधिवेशन’ चाहिँ ‘अलिक क्रान्तिकारी’ हो । मूलमै भेटेर प्रत्यक्ष जाँच पड्ताल गर्ने यो राम्रो अवसर पनि थियो । उस्तो गाह्रो पनि भएन, साथीहरुले निर्मलजीको डेरामा पुर्‍याइदिए ।

जब म उनको डेराभित्र छिरेँ, एकजना अधबैँशे जस्तो मानिस भान्से छ र परिपन्चिसले खानाको भाग लाउँदै छ । ध्रुव नारायणले परिचय गराए, ‘उहाँ नै हो निर्मल लामा !’ । मैले आदरपूर्वक नमस्कार गरेँ ।

टंक कार्की, Tanka Karki, former Ambassador of Nepal to China
लेखक

‘म टंक कार्की, साथीहरुले मेरो बारेमा बताउनु भ’को होला !’ मैले लम्बेतान इतिबृतान्त पस्किन उचित ठानिन । समयको तकाजा पनि त्यस्तो थिएन । साथीहरुले सुनाका हुनन्, ‘यो हाम्रोतिरको सानोतिनो कम्मुनिस्ट नेतै हो ।’

‘अँ, मैले सुनेको छु तपाईंको बारेमा ।’ अन्यथा नबरालिइकन उनले भने, ‘खाना यतै खाऊँ है, कामरेड !’ (कमरेड नभ’र कामरेड ! खैर केही छैन । नसुनेको धेरै भयो ।)

‘होइन, धन्दा मान्नु पर्दैन । मेरो खाना उतै बनेको छ ।’ मैले आश्वस्त पारे ।

त्यसपछि भने हामीले एकछिन वार्ता गर्‍यौँ । म अक्सर श्रोता थिएँ तर उनले कुनै पाण्डित्याइँ छाँटेनन् । पञ्चायती राजशाहीको चरित्र सम्झाए र कम्युनिस्टहरुको उपचार (prescription) बताए, ‘यस शासनको सबभन्दा थिचोमिचो र उत्पीडनमा पर्ने गरिब निमुखा नै हुन् र यसको विरुद्धमा उनीहरु नै पहिला जागृत हुनु पर्दछ, संगठित हुनु पर्दछ र लड्नु पर्दछ ।’

उनले मसँग कुरा गरिरहँदा यो चाहिँ प्रक्षेपण हुन्थ्यो कि नेपाली कम्युनिस्ट आन्दोलनमा ‘चौम’ नै मूल र प्रतिनिधि धार हो – पार्टी यत्रतत्र फिँजिएको छ र ठुलो जनसमर्थन छ ।

तर उनले ‘झापाली जस्तो उग्रवामपन्थी चाहिँ हुनु हुँदैन नि !’ कहीँ भनेनन् । (उनलाई म ‘झपाली’ भन्ने भेउ पनि भएन होला । मेरै साथीलाई त त्यस बारे अत्तोपत्तो थिएन । यदि उनलाई त्यो थाहा हुन्थ्यो भने मेरो पनि बुद्धि भुट्न उनी कहाँ चुक्थे होला र ? त्यसो गर्नु राजनीतिमा अक्सर चल्ने खेल हो ।)

तर यसले मलाई भने एउटा छाप के पर्‍यो भने उनी ‘झापाली विरोधी’ भने होइन रहेछन् । छुट्टिने बेलामा तल गल्लिसम्मै आएर विदा गरे ।

फर्किँदै गर्दा म गम्न थालेँ । त्यत्रो नेता तमोर खोले लिम्बु जस्तो सामान्य छ, कतै कुनै सामन्ती शान छैन, कुनै लप्पन छप्पन छैन, एक्लै पनि भन्दैन मिलिजुली खाऊँ भन्छ, मालिक जस्तो पनि छैन आफै भान्से छ, पक्षपाति पनि छैन । परिपन्चिसले भाग लगाउँछ । म नायक हुँ पनि भन्दैन । भन्छ त, गरिव निमुखाहरु नै तात्नु पर्छ ।

उसले यति त भनेन नि, ‘सशस्त्र संघर्ष गरी हाल्नु पर्छ, हतियार उठाई हाल्नुपर्छ । स्थानीय सत्ता कब्जा गर्दै केन्द्रीय सत्ता नियन्त्रणमा लिनु पर्दछ । त्यसको निम्ति स्थानीय सामन्त जमिन्दारको सफाई गर्नु पर्दछ ।’

‘लड्नु पर्दछ’ त भन्छ । कार्यकर्तालाई कारिन्दा पनि मान्दैन । कमरेड न भने पनि कामरेड त भन्छ । मैले सन्तोषको सास फेरेँ । “हो र’छ, यिनीहरु अलिक क्रान्तिकारी नै हुन् ।” जिन्दगीभर उनी आफ्ना आदर्श र सिद्धान्तमा निष्ठावान रहे ।

निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनका विलक्षण जननेता हुन्, राजनीतिमाथि व्यभिचार नगरेका नेता । उनको सादगी, समर्पण र प्रतिबद्धताको यो आन्दोलन सँधै ऋणी रहनेछ ।

श्रद्धा सुमन कमरेड निर्मल लामा ।

(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा चीनका लागि नेपालका पूर्व राजदूत हुनहुन्छ ।)