गौतम बुद्ध, Lord Buddha, gautam buddha, गाैतम बुद्ध, सिद्धार्थ गाैतम
 

आज बैशाख शुक्ल पूर्णिमा र २५६२ औँ बुद्ध जयन्ती । अर्थात् आजभन्दा २५६२ वर्ष अगाडि लुम्बिनीमा सिद्धार्थ गौतम – जो आज विश्वभर गौतम बुद्ध भनेर चिनिन्छन् – को जन्म भएको दिन । आजको दिनमा विश्वका धेरै देशहरुमा बौद्धचैत्य तथा गुम्बाहरु र बुद्धका (हिन्दु) मन्दिरहरुमा पुगेर बौद्ध तथा हिन्दु धर्मावलम्बीहरुले बुद्धलाई ईश्वर मान्दै उनका मूर्तीहरुमा पूजा, अर्चना र आराधना गर्ने प्रचलन छ ।

नेपाल र भारतमा बुद्ध कसको देशमा जन्मेका हुन् भन्ने रस्साकस्सी छ । बुद्ध हिन्दुहरुका देवता हुन् वा होइनन् । यो अर्को बहसको विषय छ । बुद्धको बारेमा विशेषतः आजको दिनमा विभिन्न सञ्चारमाध्यमहरु, बौद्ध धर्मावलम्बी र स्वघोषित बुद्धविज्ञहरुले विभिन्न माध्यमबाट गौतम बुद्ध र बौद्ध धर्मका विषयमा विभिन्न प्रकारका समाचार र विचारहरु प्रस्तुत गर्ने गर्दछन् । तीमध्ये बुद्धज्ञानको रुपमा धर्म, संस्कृति र सञ्चारमाध्यमको बजारमा पस्किएका अधिकांश कुराहरु गलत र झुठा छन् । यसबारे केही कुरा छलपफल गराैँ ।

१. बुद्ध नेपालमा जन्मेका होइनन् । उनी लुम्बिनीमा जन्मेका हुन् । यो कुरा बुझ्नलाई नेपाल राष्ट्र राज्यको ऐतिहासिक विकासक्रम बुझ्नु जरुरी छ ।

सिद्धार्थ गौतम जन्मँदा यो विश्व ब्रम्हाण्डमा नेपाल नामको कुनै देश थिएन । अहिलेको नेपाल त्यतिबेला सयौँ गणराज्यहरुको रुपमा रहेको थियो । बाइसे चौबिसे राज्यहरु पनि धेरै पछि अस्तित्वमा आएका हुन् । नेपाल विभाजित भएर, टुक्रिएर वा छरिएर त्यसो भएको होइन । त्यतिबेलासम्म अहिलेको नेपालभित्र विभिन्न समुदायका आ-आफ्नै भाषा र संस्कृतिअनुसार आ-आफ्ना पहिचानसहितका धेरै गणराज्यहरु थिए ।

सिद्धार्थ गौतमको जन्मकालसम्म आजको नेपाल भन्ने देश बनेकै थिएन । देशको रुपमा नेपाल गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले राज्य बिस्तारको क्रममा वरिपरिका साना राज्यहरु कब्जा गर्दै अगाडि बढ्दै जाँदा काठमाडौँ उपत्यकाका किर्तिपुर, कान्तिपुर, पाटन र भादगाउँसहितका विभिन्न राज्यहरु जितेर राजधानीलाई काठमाडौँमा सारेपछि मात्रै बनेको हो ।

तसर्थ बुद्ध नेपालमा जन्मेका होइनन् । बुद्ध कपिलवस्तुकाे लुम्बिनी (शाक्य राज्य) मा जन्मेका हुन्, जुन अहिलेको नेपाल देशभित्र पर्दछ । त्यसैले शुद्ध भाषामा भन्नुपर्दा गौतम बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा पर्दछ । यो भाषागत र राजनीतिक रुपमा सही हुन आउँछ ।

नहेन्द्र खड्का Nahendra Khadka
लेखक

२. बुद्ध भारतमा जन्मेका त झन् हुँदै होइनन् । भारतीय सञ्चार माध्यमहरु, त्यहाँका कथित हिन्दु धर्मभीरुहरु, भारतीय शासक वर्ग र तिनका चाटुकारहरुले बेलाबखतमा बुद्ध भारतमा जन्मेको दाबी गर्ने गरेका छन् । त्यतिमात्र नभएर कहीँ त तिनका विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरुमा समेत बुद्ध भारतमा जन्मेको कुरा उल्लेख गर्ने गरिएको छ । यो लज्जास्पद र घृणित कुरा हो ।

सामान्य एवम् निरक्षर मानिसहरुले त्यस्तो कुरा गरे भने त बरु तिनलाई सामान्य गल्ति सम्झेर क्षमा गर्न सकिएला तर भूगोल र राजनीतिको सामान्य ज्ञान भएको कुनै पनि विवेकशील मानिसले यस्तो दाबी गर्न सुहाउँदैन ।

सिद्धार्थ गौतम अर्थात् बुद्ध जन्मँदा यो विश्व ब्रम्हाण्डमा भारत भन्ने देश कहीँ कतै थिएन । हालको भारत पनि त्यतिबेला सयौँ गणराज्यहरुको रुपमा रहेको थियो । ती गणराज्यहरु निरन्तर युद्धमा जाने र एक अर्कामा गाभिने प्रक्रिया निरन्तर चलिरहेको थियो । हालको भारतमा रहेका ती गणराज्यहरुलाई बेलायती साम्राज्यवादले युद्धमा पराजित गरी आफ्नो उपनिवेश बनाएपछि मात्रै ती सबै बेलायती उपनिवेशको मातहतमा एकीकृत भएका हुन् ।

भारत देशको जन्म बेलायती साम्राज्यवादले भारतीय उपनिवेश त्यागेर भारत स्वतन्त्र भएपछि मात्रै भएको हो । त्यसको अर्थ भारत देशको निर्माण (जन्म) सिद्धार्थ गौतम जन्मेको झण्डै २५ सय वर्ष पछि र नेपाल देश निर्माण भएको झण्डै २०० वर्ष पछि मात्रै भएको हो । सिद्धार्थ गौतम जन्मनुभन्दा २५ सय वर्ष पछाडि जन्मेको भारतमा बुद्धको जन्म कसरी हुन सक्छ ? सक्दैन । त्यसमाथि सिद्धार्थ गौतम जहाँ जन्मिए, त्यो ठाउँ लुम्बिनी हो । त्यो हालको नेपालमा पर्छ र इतिहासमा लुम्बिनी भारत वा हालको भारतभित्र पर्ने कुनै पनि तत्कालीन गणराज्यको अधिनस्ध कहिल्यै पनि थिएन ।

लुम्बिनीलाई भारतकाे भन्नु वा बुद्ध भारतमा जन्मिएकाे दाबी गर्नु भारतकाे बिस्तारवादी साेच र दरिद्र चिन्तन बाहेक अरू केही हाेइन । आफ्नो बिस्तारवादी चरित्र देखाउनलाई भारतीयहरु बेला बखतमा नेपाल र अन्य दक्षिण एसियाली देशहरुलाई ‘छोटे भाइ बडे भाइ’को रुपमा प्रस्तुत गर्न खोज्दछन् । यदि राष्ट्र राज्यको निर्माणका आधारमा भन्ने हो भने नेपाल भारतको छोटा भाइ नभएर २ सय वर्ष अगाडि जन्मिएको बाप हो । त्यसैले नेपाल र भारतको सम्बन्ध पिता–पुत्रको रुपमा रहेको दाबी गर्न सकिन्छ, जहाँ पिता २ शताव्दी अगाडि निर्माण भएको राष्ट्र राज्य नेपाल हो । हामीले सबै देशहरुलाई समानताको आधारमा व्यवहार गर्नुपर्छ र गर्न चाहन्छौँ । हामीलाई न त भारतको बाऊ हुनुपर्ने आवश्यकता छ, न त सानो भाइ भएर उसको पाऊ पर्नुपर्ने वाध्यता नै छ । यी दुवै सार्वभौम, स्वतन्त्र, स्वाधीन र समान अस्तित्व भएका छिमेकी देशहरु हुन् ।

यसर्थ गौतम बुद्ध अर्थात् सिद्धार्थ गौतम भारतमा जन्मेका हुन् भनेर कुनै विवेकशील मानिसले तर्क गर्न सक्दैन । यस्तो तर्क गर्ने मानिस या त बाहिरी संसारबारे कुनै ज्ञान नभएको गँवार हुनुपर्छ या पागल ।

३. सिद्धार्थ गौतमका पिता राजा थिए, यो कुरा सत्य हो । तर सिद्धार्थ गौतम राजकुमार वा राजगद्दीका उत्तराधिकारी थिएनन् ।

उनका पिता राजा हुनुका कारणले उनले दरबारको सुख सयल छोडेर हिँडेको कुरा साँचो हो । परन्तु उनी राजगद्दीका हकदार थिएनन् किनभने बुद्धका पिता शुद्धोधन शाक्य तत्कालीन गणराज्यका जननिर्वाचित गणराजा अर्थात् गणपति थिए । त्यतिबेला त्यहाँ राजाको सन्तान नै राजा बन्ने प्रचलन् थिएन, बरु समुदायले आफ्नो राजाको चयन आफै गर्दथ्यो । राजाको चयन राजाको छोराको रुपमा हुँदैन्थ्यो, जोसुकै पनि हुनसक्थ्यो ।

शुद्धोधन शाक्य अहिलेको भाषामा भन्नुपर्दा लुम्बिनीका जननिर्वाचित राष्ट्रपति अर्थात् गणपति थिए । उनको मृत्युपछि नयाँ राजा (गणपति) निर्वाचित हुनु अनिबार्य थियो । यसलाई सहज रुपमा भन्दा सिद्धार्थ गौतमको हैसियत हाम्रा पूर्व राष्ट्रपति रामवरण यादव र वर्तमान राष्ट्रपति विद्या भण्डारीका सन्तानको जस्तै हो । अझ मिल्ने उदाहरण दिने हो भने उनको हैसियत अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका सन्तानको जस्तै हो । ट्रम्प राष्ट्रपति रहेसम्म त उनका सन्तान अमेरिकाका मात्रै नभएर संसारकै राजकुमार-राजकुमारी जस्ता होलान् । परन्तु जुन दिन डोनाल्ड ट्रम्पको ठाउँमा अर्को राष्ट्रपति निर्वाचित भएर आउनेछ, त्यो दिन उनीहरु यदि आफै राष्ट्रपतिमा निर्वाचित भएनन् भने आफ्ना सबै झोली तुम्बा बोकेर हिँड्नु पर्छ ।

बौद्धमार्गीहरुले बुद्धलाई राजगद्दी त्यागेर शान्तिको खोजिमा हिँडेका महान् र देवता साबित गर्दै बौद्ध धर्मको निर्माण गर्नका लागि यो भ्रम फैलाए भने हिन्दुहरुले उनी राजाका सन्तान एवम् हुनेवाला राजा थिए र राजाहरु विष्णुका अवतार हुने भएकाले गौतम बुद्ध हिन्दु धर्मका देवता हुन् भन्दै गौतम बुद्धको हिन्दुकरण गर्नका लागि यो भ्रम फैलाएका हुन् ।

४. बुद्ध जन्मँदासाथ ७ पाइला हिँडेका थिएनन् । धेरैजसो बुद्धसँग सम्बन्धित किंवदन्तीहरुमा बुद्ध जन्मँदासाथ ७ पाइला हिँडेको कुरा उल्लेख गरेको पाइन्छ । यसबारे आधुनिककालका स्वघोषित बुद्धविज्ञहरु पनि केही बताउन चाँहदैनन् ।

पशुहरुको हकमा जन्मँदासाथ ७ पाइला हिँड्ने कुरा संभव भए पनि मानवजातिको हकमा यो एउटा असंभव कुरा हो । सिद्धार्थ गौतम एक जना मानव शिशुको रुपमा जन्मेका थिए । मानव शिशुको शारीरिक बनावटका हिसाबले कुनै पनि शिशु जन्मँदासाथ उठ्न र हिँड्न सक्ने गरी उसका मेरुदण्ड (ढाड) तथा खुट्टाका हाडहरु र खुट्टाका मांसपेशीहरुको विकास भएको हुँदैन । यसमा बुद्ध अपवादको रुपमा रहन सक्ने कुनै संभावना छैन र हुन सक्दैन ।

उनी जन्मँदासाथ पल्टिएर वा गुल्टँदै सात पाइला (सात बित्ता) परसम्म पुगेकाे र त्यसाे हुँदा पनि उनलाई कुनै घाउ चाेटपटक नलागी स्वस्थ रहेकाे हुनसक्छ । यही घटनालाई पछि बुद्धलाई देवताको रुपमा प्रस्तुत गर्नका लागि बढाइचढाई प्रस्तुत गरिएको कुरा हुनसक्छ ।

५. बौद्ध धर्म नभएर दर्शन हो किनभने गौतम बुद्ध जसलाई देवताको रुपमा पूजा गरिन्छ, उनी स्वयम्  धर्म, ईश्वरको अस्तित्व र मूर्तीपूजाका विरोधी नास्तिक थिए । उनले मानिसको जीवन व्यवहारसँग सम्बन्धित अध्ययन र चिन्तन गरेका थिए ।

उनले ईश्वर, पूर्वजन्म वा पश्चजन्मको नाम लिँदै धर्मको नाममा गरिने शोषणको विरुद्ध आफ्ना शिक्षाहरु दिएका थिए । उनी वास्तवमा घर छोडेर वैरागिनुको एउटा मूल कारण नै त्यही थियो । उनको गृहत्यागसँग जोडिएका किंवदन्तीहरुलाई गहिरिएर हेर्ने हो भने उनी जन्म, रोगव्याधी, बुढौली, गरिबी र मृत्युबाट भागेर हिँडेका कायर थिएनन् । तत्कालीन समाजमा तीसँग जोडिएर आएका शोषण र प्राचीन रुढिवादी परम्पराको विरुद्ध विद्रोह गर्ने एक जना साहसी व्यक्ति थिए ।

उनले ज्ञान प्राप्त गर्नुको अर्थ पनि उनले धर्मको नाममा तत्कालीन अध्यात्मवादी दर्शनमा आधारित भएर गरिएको शासन, शोषण र कुरीतिकाे  विरुद्ध नयाँ भौतिकवादी विचारको संष्लेषण गरेका थिए, जसको सारमा मानव जीवन ईश्वर र भाग्यको आधारमा नभएर वर्तमानमा उसले गर्ने कर्म (काम र क्रियाकलाप) का आधारमा निर्धारित हुने हुनाले बाँचुञ्जेल असल कार्यहरु गर्नुपर्ने प्रेरणा र शिक्षाहरु छन् । बुद्धका शिक्षाहरूमा हिन्दु वा क्रिश्चियन धर्ममा जस्तै कहीँ कतै पनि आफू सृष्टिकर्ता, भाग्यविधाता वा साेकाे दूत भएकाे र आफ्नाे पूजा तथा भक्ति गर्नुपर्ने कुरा उल्लेख छैनन् । वास्तवमा बुद्धका शिक्षाहरु भौतिकवादी दर्शनमा आधारित थिए, जसलाई बौद्ध दर्शनको रुपमा लिन सकिन्छ ।

६. नेपाल र भारतमा धेरैले यतिबेला गौतम बुद्धसँग आफ्नो देशको गहिरो नाता देखाउन खोजेको पाइन्छ तर यी दुवै देशबाट बुद्धलाई अपमान गर्दै (ढुंगा हानेर) र खान बस्न नदिएर लखेटिएको थियो ।

बुद्ध अहिलेकाे नेपालमा पर्ने लुम्बिनीमा जन्मेकाे र भारतकाे गयामा  चिन्तनका लागि समय व्यतित गरेकाे कुरा प्रमाणित भइसकेकाे छ । याे हिसाबले त यी दुवै देशहरूकाे मुख्य धर्म त बाैद्ध हुनुपर्ने हाेइन र ? तर यी दुवै देशमा प्रकृतिपूजकहरू र अादिवासी जनजातिहरूकाे सानाे हिस्साले बाहेक बुद्ध धर्म अपानाएकाे छैन ।

भारतमा अम्बेडकरले हिन्दु धर्मको दलित विरोधी चिन्तनप्रतिको विद्रोहस्वरुप बुद्ध धर्म ग्रहण गर्ने आव्हान गरेपछि यसको बिस्तार भएको पाइन्छ भने पछिल्लो समयमा नेपालमा हिन्दुवादीहरुले आदिवासी जनजातिहरुलाई धर्मको नाममा गरेको उत्पीडनबारे ज्ञान भएपछि त्यसप्रतिको विद्रोहको रुपमा बौद्ध धर्म फैलँदै गएको पाइन्छ ।

वास्तवमा बुद्धले ज्ञान प्राप्त गरेर (आफ्नो चिन्तनको निष्कर्ष निकालेर) फर्केपछि उनको नास्तिक चिन्तनलाई तत्कालीन नेपाल र भारतमा रहेको ईश्वर र धर्मको डर देखाएर आमजनतामाथि शासन र शोषण गर्ने तत्कालीन कठमूल्लावादी हिन्दु समाज र त्यसको शासक वर्गले पचाउन सक्ने कुरा थिएन । विज्ञानको यतिधेरै विकास र बिस्तार हुनुको बाबजुद त यी दुई देशको हिन्दु सत्ताधारी वर्ग यस्तो रुढिग्रस्त छ भने त्यतिबेलाको समाज कस्तो थियो होला ? बुद्धले ईश्वरको अस्तित्वलाई अस्विकार गर्दै हिन्दु धर्ममाथि प्रहार गर्दा नेपाल र भारतमा कस्तो स्थिति बेहोरेका होलान्, त्यसको सहजै कल्पना गर्न सकिन्छ ।

उनलाई यहाँबाट अपमानपूर्वक लखेटियो र उनी एसियाका अरु विभिन्न देशहरुमा जान बाध्य भए । उनी र उनका शिष्यहरु जहाँ जहाँ उनका शिक्षाहरुको प्रचारमा गए, त्यहीँ त्यही उनको भौतिकवादी दर्शनले व्यापकता पायो ।

पछि विष्णुकाे अवतार मानेर बुद्धकाे हिन्दुकरण गरिँदा समेत उनीहरूले बुद्धकाे बारेमा पर्याप्त जानकारी पाउन सकेनन् । त्यसैले नेपाल र भारतमा  विशेषतः  हिन्दु मन्दिरहरूमा बुद्धकाे ध्यान मुद्रा र  प्रवचन दिइरहेका तस्वीर र मूर्तीहरू मात्रै पाइन्छन् । जबकी अरू बाैद्ध धर्म अपनाउने देशहरूमा बुद्धका सबै मुद्राका तस्वीर र मूर्तीहरू पाइन्छन् ।

बुद्धको मृत्युपछि उनका ज्ञानहरुलाई अगाडि बढाउन उनका शिष्यहरुसँग पर्याप्त ज्ञान, तर्कबुद्धि र वैचारिक क्षमता पुगेन । त्यसपछि तिनीहरुले नास्तिक बुद्धलाई नै क्रमिक रुपमा देवत्वकरण गर्दै गए र बिस्तारै बुद्धको भौतिकवादी दर्शन बौद्ध धर्मको रुपमा अध्यात्मवादी दर्शनमा पतन हुन पुग्यो । यसको बाबजुद पनि प्राकृतिक धर्महरु बाहेक हाल विश्वमा अपनाइने मूलधारका सबै धर्महरुमा बुद्ध धर्म तुलनात्मक रुपमा भौतिकवादी छ ।

७. बुद्ध हिन्दु धर्मका देवता होइनन् । पहिलो कुरा त बुद्ध नास्तिक र आफै धर्म नमान्ने मान्छे थिए । त्यसैले उनी ईश्वर वा देवता हुन सक्ने कुरै भएन । दोस्रो कुरा उनी धर्म विरोधी हुनुको अर्थ उनी तत्कालीन नेपाली र भारतीय समाजको मूल धर्मको रुपमा रहेको हिन्दु धर्मको विरुद्ध हुनु हो । त्यसैले उनी हिन्दु धर्मका देवता त कुरै छौडौँ, हिन्दु धर्मावलम्बी समेत थिएनन् ।

बुद्धको मृत्युपछि समयक्रमसँगै बौद्ध धर्म संसारका अन्य देशहरुमा प्रचलित र प्रख्यात हुँदै गयो । उनको जन्मस्थान लुम्बिनी र उनले ज्ञान प्राप्त गरेको ठाउँ गया विश्वप्रसिद्ध भयो । त्यतिबेलासम्म बुद्धलाई ढुंगा हानेर लखेट्नेहरुको पुस्ता पनि सकियो ।

नयाँ पुस्तालाई बुद्धका ज्ञान र शिक्षाहरु असल भएको र ती विश्वभर फैलँदै गएको महशुस भयो । नेपाल र भारतमा पनि क्रमिक रुपमा मानिसहरु हिन्दु धर्म परित्याग गरेर बौद्ध धर्मतर्फ आकर्षित हुन थाले ।

त्यसपछि हिन्दु धर्मलाई शासन र शोषण गर्ने मुख्य अश्त्र बनाउँदै आएका धर्मभिरुहरुले बुद्धलाई नै हिन्दु देवता र विष्णुको दसौँ अवतार बनाइदिए । दसावतार सम्बन्धी मन्त्रको एउटा सानो श्लोक मार्फत यो पक्रियालाई वैधानिकता दिइयो ।

परिणामतः नेपाल र भारतमा बौद्ध धर्मको बिस्तार र विकास रोकियो भने हिन्दु धर्मको प्रभुत्व कायमै रह्यो । एउटा नास्तिक मानिसलाई कसरी देवता बनाइन्छ भन्ने कुरा बुझ्नका लागि केही वर्ष अगाडि भारतमा बनेको अक्षय कुमार, मिथुन चक्रवर्ती र परेश रावल आदिले अभिनय गरेको ‘ओ माई गड (ओएमजी)’ नामक हिन्दी चलचित्र हेर्ने हो भने केही मद्दत मिल्नेछ, त्यसमा यो पक्रियाको सामान्य झल्को पाइन्छ ।

अर्को महत्त्वपूर्ण कुरा के छ भने हिन्दु धर्मका देवताहरुको नाममा विभिन्न शास्त्रहरु छन् । वेद, उपनिषद्हरु, पुराणहरु, रामायण, महाभारत र भाग्वत् गीता लगायतका विभिन्न शास्त्रहरु छन् । सबैजसो हिन्दु देवताहरुको नाममा विभिन्न होमहरु र विशेष पूजापाठहरु गरिन्छ । सबैजसो देवताहरुमा समर्पित प्राचीन भजन किर्तनहरु छन् । तर हिन्दु धर्मको मुख्य माध्यमको रुपमा रहेको संस्कृत भाषा र देवनागरी लिपीमा बुद्धसँग सम्बन्धित त्यस्ता कुनै पनि शास्त्रहरु, होम, पूजा, आराधना र अर्चनाहरु छैनन् । बुद्धका नाममा जपिने मन्त्रहरु पनि संस्कृत भाषा र देवनागरी लिपीमा थिएनन् । बौद्ध गुम्बाहरुमा प्रयोग गरिने मूल भाषा र बौद्ध धर्मसँग जोडिएका प्राचीन ग्रन्थहरुको मूल भाषा संस्कृत र मूल लिपी देवनागरी रहेको छैन ।

यसबाट पनि उनी हिन्दु होइनन् भन्ने कुरा पुष्टि हुन्छ । जो आफू स्वयम् हिन्दु थिएनन्, उनी हिन्दु धर्मका देवता कसरी बन्न संभव भयो ? यो बुद्धका नाममा ठगी बाहेक अरु केही होइन ।

८. कसैले बुद्धलाई भगवान, देवता वा ईश्वर मान्नुमा मेरो कुनै आपत्ति छैन । बौद्ध धर्म र त्यसका अनुयायीहरु प्रति पनि मेरो सम्मान नै छ । तर विभिन्न तथ्य र तर्कहरूले के पुष्ट षदर्छन् भने बुद्ध भगवान, देवता वा ईश्वर थिएनन् । यसमा अझ स्मरण गर्नुपर्ने कुरा के हो भने यी ३ शव्दहरु पर्यायवाची वा एउटै अर्थ जनाउने शव्द होइनन् ।

ईश्वर भन्नाले ब्रम्हाण्डको आदि अर्थात् ब्रम्हाण्डको सृष्टिकर्ता र स्वयं यसको पहिलो व्यक्ति बुझाउँछ । यसले देवताहरुको देवता भनेर बुझिन्छ । हिन्दु धर्मअनुसार त्यो शव्दले सामान्यतया शिवलाई जनाउँछ, त्यसैले उनलाई देवादि देव महादेव भनिन्छ । केही हिन्दु धर्मावलम्बीहरुले ब्रम्हा, विष्णु र महेश्वर (शिव) गरी ३ जनालाई ईश्वरको रुपमा लिन्छन् । यहाँ पनि महेश्वरको अर्थ महा (ठूलो) ईश्वर भन्ने हो । यी तिनैलाई ब्रम्हाण्डका आदिकर्ता अर्थात् सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको रुपमा लिइन्छ । यो ब्रम्हाण्डलाई यिनै ३ देवताको सृष्टिको रुपमा लिइन्छ । हिन्दु वा बौद्ध कुनै पनि शास्त्रले गौतम बुद्धलाई ब्रम्हाण्डको सृष्टिकर्ताको रुपमा ब्याख्या गरेको छैन । हिन्दु धर्मले त उनलाई विष्णुकोअवतार मात्रै ठान्दछ, त्यो पनि दसौँ । त्यसरी त नेपालका मन्दिरकै मूर्तीहरू चाेरेको अाराेप लागेका राजाहरुलाई समेत विष्णुको अवतार भनिन्थ्यो । गौतम बुद्ध स्वयंले पनि आफू संसारको सृष्टिकर्ता भएको दाबी गरेका थिएनन् । त्यसैले उनी ईश्वर होइनन् र थिएनन् ।

भगवानको अर्थ शिवलिङ्ग हो । शिव, महादेव वा पशुपतिको मन्दिरमा जुन दियो आकारको आधारमा ओखलको मुसल आकारका ठाडो वस्तु मिलाएर बनाइएको मूर्ती देखिन्छ, त्यसलाई भगवान भनिन्छ । भग भनेका योनि हो भने वान भनेको लिङ्ग हो । तसर्थ भगवानको अर्थ पार्वतीको योनिमा आसिन शिवको लिङ्ग हो, जुन स्त्री र पुरुषको द्वन्द्वात्मक, प्राकृतिक र परस्पर सम्बन्धलाई परिभाषित गर्ने प्रतीकात्मक अभिव्यक्ति हो । यसर्थ बुद्ध भगवान होइनन् ।

तत्कालीन मातृसत्तात्मक समाजका नेतृत्वकर्ता महिला विराङ्गानाहरु अर्थात् महिला गणपतिहरुलाई हिन्दु धर्मले देवी मान्दछ । एकलपति र बहुपतिप्रथा रहेका ती समाजमा त्यस्ता विराङ्नाहरुका पति वा पतिहरु वा पतिहरु मध्येको पराक्रमी र देवीले मनपराउने पतिलाई देवता भनिन्थ्यो । हिन्दु धर्ममा जहाँ जहाँ देवता शव्दको उल्लेख भएको छ, त्यहाँ नारीहरुको भूमिका महत्त्वपूर्ण रहेको पाइन्छ । तिनको नाम लिँदा समेत महिलाहरुको नाम पहिले लिइन्छ । जस्तैः राधाकृष्ण, सीताराम, उमाशंकर, लक्ष्मीनारायण, कुन्तिपुत्र अर्जुन आदि । तर शुद्धोधन शाक्य आफै गणपति हुनुले सिद्धार्थ गौतम मातृसत्तात्मक व्यवस्थामा नभएर पितृसत्तात्मक व्यवस्थामा जन्मेको बुझिन्छ । समाजको विभिन्न कालखण्डमा राम्रो काम गरेका र नाम कमाएका राजाहरुलाई पनि देवताको संज्ञा दिइएको छ । तर गौतम बुद्ध राजा भएनन् । तत्कालीन समाजमा बुद्धजस्ता चिन्तकहरूलाई बरू आचार्य वा ऋषि वा महर्षीकाे रूपमा लिएकाे पाइन्छ, तर बुद्धलाई त्यसाे पनि गरिएकाे छैन । यसर्थ उनी देवता होइनन् ।

एसियाका तारा, एसियाका ज्याेति, एसियाका प्रकाश र शान्तिका अग्रदूत आदि उपनामले समेत विभुषित एवम् गाैतम बुद्धका नामले सुप्रसिद्ध सिद्धार्थ गाैतम एक महान् दार्शनिक, चिन्तक र शिक्षक थिए । उनले ज्ञान र शिक्षाको रूपमा विकास गरेको विचार वास्तवमा एक महान् भौतिकवादी दर्शन थियो । वास्तवमा उनी विश्वका प्राचीन भौतिकवादीहरु मध्येका एक थिए । उनका शिक्षाहरुसँगै उनी अमर छन् । उनले विजारोपण गरेको भौतिकवादी दर्शन विभिन्न विकासका चरणहरु पार गर्दै आज मालेमावादी दर्शनको रुपमा विश्वप्रसिद्ध भएको छ ।

तसर्थ आज बुद्ध जयन्तीकाे महत्त्व  विभिन्न बाैद्ध चैत्य, गुम्बा वा मन्दिरमा गएर बुद्धकाे मूर्तीकाे पूजा गर्नुमा हाेइन, उनका  शिक्षाहरूलार्इ ग्रहण गर्दै समस्त मानव जातिकाे हितमा अगाडि बढ्नुमा  निहित छ । बुद्ध जयन्तीकाे शुभअवसरमा महान् आदि भाैतिकवादी दार्शनिक गौतम बुद्धलाई हार्दिक अभिवादन ।

याे पनि पढ्नुहाेस्ः दर्शन, वर्गसङ्घर्ष र सामाजिक क्रान्तिको सम्बन्ध – क. प्रचण्ड

याे पनि पढ्नुहाेस्ः नेपाली कृषिलाई ध्वस्त गर्ने र बामपन्थी सरकारलाई बद्नाम गर्ने साम्राज्यवादी षड्यन्त्र बारे – क. नहेन्द्र खड्का