जम्मा पाँच हजार थान त्रिपाल र एउटा सामान्य गाउँपालिकामा विनियोजित हुने परिणामको ३५ करोड सहयोग सम्बन्धी हस्ताक्षर गरेर चिनियाँ विदेशमन्त्री वाङ यी चीन फर्केपछि नेपालमा अर्को तरंग फैलिएको छ । कतिपयले यसलाई ‘नेपालको सन्तुलित विदेश नीतिमा ठूलै भुँइचालो गएको’ टिप्पणी गर्न थालेका छन् भने कतिपयले भूराजनीतिका कारण यसलाई अस्वभाविक रुपमा लिन नहुने प्रचार गरिरहेका छन् ।
ज्ञानेश्वर चोकको चिया पसलमा सदा जसो ‘मर्निङ–टक’ गर्ने मेरा एक मित्रले एकाबिहानै भने, ‘यता न उता, घर न घाट, पाउदिनौँ आमै कसैको साथ ।’ उनले यसो भनेपछि मैले कुन प्रसंगमा भनेर जान्न खोजेँ । हातमा लिएको कान्तिपुर दैनिकको अग्रपृष्ठ देखाउँदै ती मित्रले भने, ‘बडे नेताहरुको कच्चा व्यवहार’ ।
मैले उनीसँग ‘मर्निङ टक’ गर्न थालेको निकै वर्ष भइसकेको छ । ‘प्रजातान्त्रिक विचारधारा’ अर्थात् नेपाली कांग्रेस निकट ती मित्रले सुरुमा माधव नेपाल, झलनाथ र केपी ओली लगायत पूर्वएमाले नेताहरुको खोजी टिप्पणी गर्दथे । अनि विगत केही वर्षदेखि उनी प्रचण्डसँग नकारात्मक रुपमा जोडिएका, सञ्जाल, सूचना वा सामग्री फेला पार्दासाथ बिहानै फोन गरेर सुनाउने मात्र होइन, चियामा छिटो भेटिहालौँ पनि भन्छन्, । आज बिहिवार बिहान त मलाई उनैले फोन गरेर उठाएका थिए ।

कान्तिपुरका घनश्याम खड्काले आज लेखेको समाचार संवेदनशील र रोचक दुवै छ । ‘बेइजिङको विज्ञप्तिमा नेपालको दृष्टिकोण थाहा पाउनु अचम्मलाग्दो कुरो हो’ । एण्डी आर्मेन्टको प्रतिक्रिया भन्दै समाचार जोडिएको छ । ‘तथाकथित इण्डो-प्यासिफिक स्ट्राटेजीलाई नेपाल अस्विकार गर्दछ । चीनको विकासलाई रोक्ने कुनै पनि प्रयासको विरोध गर्दछ ।’ प्रचण्डको धारणाामा आधारित रहेर चिनियाँ विदेश मन्त्रालयले चिनियाँ भाषामा जारी गरेको विज्ञप्ति भनेर सम्प्रेषित पनि भएको छ ।
तीन वर्ष अगाडि बिआरआई अर्थात् बेल्ट एण्ड रोड इनिसियटिभमा सहि गरेको नेपालले झण्डै पौने वर्ष अगाडि अर्थात् सन् २०१८ को डिसेम्बर १८ मा इन्डो-प्यासिफिक स्ट्राटेजीमा सहमति गरेको समाचार सार्वजनिक भएको थियो ।
अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषकहरुका अनुसार संसारका दुई प्रमुख शक्ति अमेरिका र चीनको समग्र युद्ध उन्मुख विश्व परिस्थितिलाई कूटनैतिक ढंगले डिल गर्न नेपाल चुकेको कारण नेपालले पछिल्लो झंझट, तानातान र खिचातानी ब्यहोर्नु परेको भन्ने गरिएको छ ।
विदेशमन्त्री वाङको पछिल्लो भ्रमण उपलब्धिमूलक र उत्साहपूर्ण नभएको प्रचार गरिएकै बेला प्रचण्डले बोलेको कुरा भन्दै इण्डो–प्यासिफिक मामिलामा अमेरिका चिढिएको र जानकारी समेत मागेको भनिएको छ ।
ओवोर अर्थात् ‘वन बेल्ट, वन रोड’सँग तर्सिएको र बिआरआईलाई काउन्टर दिन अनेकौँ उपायमा रहेको अमेरिकाले एसिया-प्रशान्त क्षेत्रमा इण्डो–प्यासिफिक स्ट्राटेजी ल्याउनु स्वभाविक मानिए पनि प्रमुख विश्व शक्तिसँग आवश्यकता अनुसार अड्कलको व्यवहार गर्नु नेपालको बाध्यता थियो ।
अमेरिकी विदेशमन्त्रीले भेट दिएको महत्त्वलाई उपलब्धिका रुपमा प्रचार गर्ने हामीले सन् २०१८ को डिसेम्बर १८ मा माननीय परारष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल पम्पेको सहमतिलाई विभिन्न कोणबाट व्याख्या गर्न सुरु गर्यौँ ।
‘अमेरिकी क्याम्पमा छिरेर चीनलाई चिढ्याएको’ आरोप परराष्ट्रमन्त्री ज्ञवालीलाई मात्र होइन, प्रधानमन्त्री ओली समेतलाई लगाउने वातावरण बन्यो । अन्ततः मन्त्री ज्ञवालीबाट सामान्य विषय भएको तर इण्डो-प्यासिफिक स्ट्राटेजीमा सरकारले कुनै हस्ताक्षर नगरेको प्रतिक्रिया दिन बाध्य भएको कुरा बाहिर आयो । तर, अमेरिकी विदेश मन्त्रालयले भने सोसम्बन्धी सहमति भएको आधिकारिक प्रचार नै बाहिर ल्यायो ।
अघिल्लो अमेरिकी प्रचार र पछिल्लो चिनियाँ प्रचारका आ–आफ्ना रणनीतिले पुष्टि गरेको एउटा सत्य के हो भने भारतका लागि मात्र होइन, नेपाल अब अमेरिका र चीन बिचको स्वार्थ र द्वन्द्वको टक्करमा उपयोग हुने आकर्षक र मूल्यवान वस्तु बनाइएको छ । अर्को भाषामा भन्नुपर्दा ‘मसँग लहसिएको, मसँग आँखा जुधाएको वा मसँग हिमचिम रहेको’ भन्दै ठूला जीउडालका दुई पुरुषले युवतीलाई फसाउन खोजेको पनि मान्न सकिन्छ ।
गरिब हुनु हाम्रो बाध्यता बनाइयो होला तर नियति थिएन । हामी भाग्यवादमा अल्झेर र पुर्पुरो समाएर खुम्चियौँ पनि होला तर हाम्रो स्वतन्त्रता र सार्वभौमिकताको शान निकै महङ्गो हो । हाम्रो सौन्दर्यतामा लुटपाट गर्न चाहनेहरु अरु पनि छन् नै, ती सबै विषयहरुको टिप्पणी यहाँ संभव छैन ।
चिनियाँ विदेशमन्त्री वाङ चीको नेपाल भ्रमण र उपलब्धिका विषयमा जे जस्ता टिप्पणी आए पनि उनको भ्रमण र राष्ट्रपतिको भ्रमणको संभावनालाई सकरात्मक रुपमा लिनुको विकल्प छैन । नेपाल भ्रमणका अवसरमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट भएको तथा उहाँहरुसँग भएका कुराकानी समेत उल्लेख गरी चिनियाँ विदेश मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा सम्प्रेषण गरेको छ ।
नेपाल एक चीन नीतिप्रति दृढ रहेको भन्नेमा सबैको मत उल्लेख गरेको छ भने हङकङ मामिलामा चासो राखेर चीनसँगको सहकार्यमा बढी रुची देखाएको कुरो प्रचण्डसँगको भेटमा भएको उल्लेख भएको छ । यद्यपि चिनियाँ भाषामा जारी गरिएको विज्ञप्तिमा ‘इण्डो-प्यासिफिक मामिला नेपालले अस्विकार गरेको’ बाहिर ल्याइएको छ । बेइजिङको पक्षमा प्रचण्ड खुलेको कुरा सार्वजनिक पनि गरिएका छन् ।
मुलुकको बर्तमान राजनीतिका एक प्रमुख व्यक्तित्व प्रचण्ड भएका कारण हरेक विषयमा प्रचण्ड जोडिनु र जोड्नु स्वभाविक नै हो । बिआरआई यात्रा रोक्न र एसिया-प्रशान्त क्षेत्रमा अमेरिकी प्रभाव थप बढाउन अमेरिकाले गरेको पहलका विषयमा कतै विरोध नजनाए पनि नेपाल सरकारका परारष्ट्रमन्त्री आफैले ‘सामेल नभएको’ भनिसकेपछि पनि यो विषय मत्थर भएको थिएन । दुवै शक्तिशाली मुलुकले नेपालको उपयोग गर्ने एक प्रकारको होडबाजी छर्लङ्गै भएको छ । यस्तो अवसरमा मुलुकले ‘चुनौती र अवसर’ का रुपमा लिई सन्तुलित कुटनीतिको विकास गर्नु जरुरी छ ।
विदेश नीति राष्ट्रको बाह्यनीति भएको कारण यसको कार्यान्वयन पक्षमा कुटनीतिक कला जोडिएको हुन्छ । दलहरुको विदेश नीति सम्बन्धी अवधारणा फरक फरक हुन सक्छन् तर विदेश नीति बन्दा त्यसले सहमतीय दस्तावेजको आकार ग्रहण गरेको हुनु पर्दछ ।
नेपालको सन्दर्भमा यसमा रहेका सैद्धान्तिक र व्यावहारिक खोटहरु पहिल्याएर राष्ट्र अर्थात् माटोको नीति बनाउन जरुरी छ । विदेशीसँग बोल्दा ओली, प्रचण्ड, झलनाथ, माधव नेपाल, देउवा, रामचन्द्र, सुजाता, सिटौला, बाबुराम, उपेन्द्र र अशोक राई मात्र होइन, प्रकाशचन्द्र लोहनी र कमल थापाको समेत एउटै बोली हुन सक्नु पर्दछ । हाम्रो खाँवोभित्र धमिरा पसेको कारण खाँवो नै परिवर्तन गर्न वा धमिरालाई पूर्ण निषेध गर्ने विषयमा सैद्धान्तिक सहमति हुनै पर्दछ ।
अहिले नेपालको मामिलामा चीन र अमेरिकाको टकराव देखिनु सामान्यतः राम्रो नलागे पनि यसभित्रका अवसरको उपयोग गर्न उत्ताउलो र उरन्ठेउलो स्वभाव नियन्त्रण हुनै पर्दछ । हाम्रो आवश्यकतामा हाम्रो कुटनीतिक पाइला बढाउनु पर्दछ । समाजवाद निर्माणको संघारमा प्रचण्डको जोड त्यतातर्फ हो भने सबै नेपालीले आत्मसाथ गर्नुपर्दछ । समाजवाद निर्माणको तयारीमा रहेका बेला आवश्यकताको सापेक्षतामा हुने हाम्रा व्यवहारले कहीँकतै कसैलाई चोट पुग्छ भने हामीले हाम्रो चाहना र यथार्थता त प्रष्ट बुझाउन त सक्नु पर्दछ नै तर त्यसमा माटो, निष्ठा र कुटनीतिक कौशलता त चाहिन्छ नै ।


















