प्रचण्ड, Pushpa Kamal Dahal ,Prachanda, Chairman, Nepal Communist Party (NCP)
 

पछिल्लो दुई दशक नेपाली राजनीतिमा प्रचण्ड एकछत्र छन् । शहरका भुँई नटेक्नेदेखि गाउँका चप्पल नदेख्नेसम्म । कतै आशा र कतै निराशा, तिनमा पनि प्रचण्ड उसरी नै छन् । जो बजारमा डलरको सपना देख्छन् र गाँउमा बाँच्न नसकेको यथार्थता पोख्छन् । केही सपनाहरु, शहीदका आफन्तजन एवम् परिवारको । नमरेर हारेको जस्तो जिन्दगी लिएर श्वास फेर्नेहरुका मनमा पनि आक्रोश वा स्नेह – प्रचण्ड नै छन् ।

यो त्यसै बनेको होइन । मदन भण्डारीसँंग पार्टी एकताको बहस गरेको आकार आज नाति पुस्तासँग एक नौजवान जसरी देशको कम्युनिस्ट आन्दोलनका लागि कृयाशील छ । यो नै त्यसको कारण हो । त्यसो त विरोधका स्वरहरु पनि उसरी नै छन् । मुख–मुख क्रान्ति र घाँटी–घाँटी प्रतिक्रान्तिको सुत्र पढ्नेहरुका लागि छेवैका जय–जयकार र मुर्दावाद सायद राजनीतिको अनिवार्यताभित्रै पर्दछन् ।

Shaiendra Ghimire 'Rajan', Syanja
लेखक

त्यसो त प्रचण्ड जनताबाट जोगाइएको, आफ्नो युगको सर्वोत्तम चेतनाले षड्यन्त्रका हज्जार छालबाट जोगिएर एक प्रलयकारी अतितबाट माझिएको नेतृत्व हो । उनलाई हार र जीतका श्रृंखला थाहा छ । खाराको मोर्चा होस् वा संविधानसभा – २ को निर्वाचन । धुलो टक्टकाएर फेरि जित्नेगरी अगाडि बढ्नु उनको विशेषता हो । उनले अति विश्वास गरिएका आफन्तबाटै धोका पाएर जे सिकेका छन्‌, त्यो सायदै अरुले सिके होलान् । विशाल पार्टीको तख्तापलटमा उभ्याइएका यल्त्सिनले उनको अगाडि जितेनन् । बरु हारे र साथी बने, जो आज सँगै छन् ।

उसो त काँग्रेस ओरालो झर्नु, केपीको सत्तारोहण वा माधव नेपालको दर्जा मिलान । राजनीतिमा चल्ने प्रायः सबै तुफान प्रचण्डलाई नसोधी चल्दैनन् । यही अनौठो स्वभाव हो प्रचण्डको, जो कमैले बुझेका छन् । जो बुझेझैँ गर्दछन् तिनले हात्ती छामेभन्दा धेरै पाउँदैनन् ।

केही समय अगाडि आफ्ना विरुद्ध छोरी बोकेको आरोपमा काँग्रेससँग आगो बनेकासँग केही समयमै घरजम गर्नसक्नु प्रचण्डको खुबी हो । यसैकारण सर्वस्व सकिएको फैसलासहित कोही कोठामा अड्कलेर श्वास फेर्दा वा कोही बहकिएर वन चाहार्ने बुद्धि निकाल्दा प्रचण्ड भने सामुन्नेका पर्खाल फोरेर विशालता र संभावनाको नेतृत्व गरिरहेका छन् । राजनीतिको पोयोमा संकट समाधानका असंख्य सुत्रको सही पहिचान र परिचालनविना यो संभव हुने कुरो होइन ।

त्यसो त बजारमा प्रचण्डको आकार र प्रकारका बारेमा अनेकन आँकलनहरु छन् । केहीले आकार बढेको देख्छन्, केहीले घेराबन्दीमा परेको । पूर्वसहकर्मीको विश्वास पातलिँदै गएको तिनको कागजी निष्कर्षले पनि बजार पाएकै छ । राजनीति हो बोल्सेविक तत्परता र स्प्रिटले कहिल्यै पोखरीतुल्य अन्तरविरोधको अपेक्षा गर्दैन । बरु घुलनशील र गतिशील अन्तरविरोधको अपेक्षा गर्दछ ।

नेपालमा पिण्डपोखरी सरहको पार्टी आन्तरिक जनवाद प्रयोग गर्नेहरुका लागि यो शक्तिको क्षयीकरण नै हो । तर मुख्य कुरा यो होइन । तत्कालीन माओवादीको चुनबाङ बैठकमै प्रचण्डले यसको सटिक उत्तर दिएका छन् । दस्तावेजले भन्छ – ‘क्रान्ति सम्पन्न भइसकेपछि यही नेतृत्वले समाजवाद बनाउने अभियानको नेतृत्व गर्ने कुरा जटिल र प्राय असंभव हुनेछ । त्यसका लागि नयाँ लाखौँलाख जनताको निगरानीमा चल्न सक्ने हजारौँ नेता र कार्यकर्ता चाहिन्छ ।’ सायद नेपालको क्रान्ति एक ढंगले सम्पन्न भइसकेको अवस्थामा यो नयाँ कोर्षमा जानै पर्दथ्यो किनकि आजको दिनको क्रान्तिको उत्तर हिजोकै तरिकाले दिन संभव थिएन ।

पार्टी एकताको असंभवजस्तो लाग्ने एक लामो पट्यारलाग्दो कोर्ष करिब पूरा भइसकेको छ । यो बेलासम्म आइपुग्दा वामदेव गौतमदेखि ईश्वर पोखरेलसम्म उनको हिमचिमले भन्दछ, उनी नथाक्नेगरी परिधि निर्माण र नियन्त्रण गर्न जान्दछन् । यो सामर्थ्य नराखेको भए सायद एकताको कोर्षमा अझै बिलम्ब हुन्थ्यो र यसको फाइदा खोपी भित्रकाले लिनसक्ने खतरा पैदा हुन्थ्यो तर यो पार भएको छ । एकता सकिँदै जाँदा प्रचण्ड नेकपाको कुन स्थानमा छन्, यो सार्वजनिक जानकारीमा छँदैछ ।

प्रचण्डका बारेमा नबोली नेपालको राजनीतिमा रोटि टोक्न नसकिने वास्तविकता र त्यसबाट पैदा हुने कोकोहोलो राजनीतिमा देखिएकै छ । त्यसकारण चितवनको प्रयोजित भीड होस् वा काठमाडौँको राजनीतिमाथि नियन्त्रण गर्न खोज्ने दाहिने भित्तो । प्रचण्ड ताछ्ने र तख्तापलट हुन्छ कि भनेर सडक रोइलो गर्ने अभियान जारी छ ।

अभियानमा सहभागीहरुले नबुझेको कुरा के हो भने तख्तापलटको सर्वाधिक जानकार व्यक्ति प्रचण्ड नै हुन् । प्रचण्ड हुदैनथे भने निर्मल निवास शक्तिको केन्द्रमा हुन्थ्यो र एअरपोर्टमा पुलिस कुट्ने केटो सत्ताको मालिक रहन्थ्यो । सिंहदरवारमा निर्मल निवासमा फूलपाति लिएर जानेहरुको दबदबा हुन्थ्यो । नारायणहिटीमा देशलाई धितो राख्ने तागत रहन्थ्यो । निर्मलाकाण्डको पजनी गर्न नसकेको देशले नमिता–सुनिताकाण्डका संस्करणहरु दोहोर्‍याई रहन्थ्यो । माधव नेपाल सुन्दरीजलमा, केपी ओली बालकोटमा र शेरबहादुरहरु बुढानिलकण्ठमै रहन्थे । न संघीयता हुन्थ्यो, न समावेशिता । आज जे छ प्रचण्डको कल्पशीलताले जन्माएको युगीन अवसर छ र यो अवसर इतर र भितर दुवैका लागि उपलब्ध छ ।

त्यसो त जो शिखरमा छ, विपरीत वायुको प्रबाह सबैभन्दा वेसी उसैले सामना गर्नुपर्दछ । आजको दिनको प्रमुख प्रतिपक्षदेखि सबै राजनीतिक दलसम्मले उनलाई पच्छ्याउनु कुनै नौलो कुरा होइन ।

काँग्रेसलाई थाहा छ, आफू खुम्चिनुको पीडा । जसको परिपूर्ति अझै पनि प्रचण्डकै आडमा गर्न चाहन्छ काँग्रेस । मधेशवादी दलको सबैभन्दा निकट कोही भए नेपालभित्र प्रचण्ड नै हुन् । उनीहरुका बैठकमा महन्थको भन्दा प्रचण्डकै वेसी कुरा हुन्छ भन्दा असामान्य ठान्नु पर्दैन ।

भारत र चीनको नजर पनि प्रचण्डतिरै छ । दुवैलाई थाहा छ यदि प्रचण्डले सहजता माने भने अबको केही समयपछाडि अग्रिम लिखत दस्तावेजमा प्रचण्ड सहजताका साथ स्विकारिएका प्रधानमन्त्री हुन् ।

दक्षिण एसियामा पछिल्लो समय शक्तिराष्ट्रका बिचमा जे खिचातानी छ, त्यसका अन्तिम रेफ्री प्रचण्ड हुन् भन्ने कुरा हाम्रा दिमागले नबुझेको तर सी चिन फिङ र नरेन्द्र मोदीले बुझेको कुरा हो । सायद पछिल्लो समय सार्क राष्ट्रहरुको बैठक सार्क मुलुकबाहिर गर्ने सहमतिको दुरगामी महत्त्व र हैसियत के हो ? त्यो भारत र चीनले बुझेका छन् । दक्षिण एसियाको जेनेभा बन्ने सामर्थ्य हामीले बिस्तारै निर्माण गर्दैछौँ र त्यो बनाउने सत्तारुढ पार्टीका एक जना अध्यक्ष प्रचण्ड हुन् । तर दक्षिण एसियामा नेपालको यो हैसियत नहोस् भन्ने चाहना गर्नेहरुको कमी छैन । यो तागतलाई बिथोल्न र यसको नेतृत्वलाई कमजोर बनाउन लागिपर्ने विपरीत तागतले पनि सायद प्रचण्ड छवीमाथि नियमित र नियोजित ढंगले आक्रमण गर्ने र ताछ्ने गरिरहेकै छ ।

नेपालको राजनीति सँधै तरंगित छ, नतिजामा धमिलो पानी । पछिल्लो समय स्नेह र संवेदनाका भूतले राजनीतिलाई बेलाबखत हल्लाई रहन्छ । केही समयअगाडि भावनाको खेलमा बाबुराम बेस्सरी उचालिए । कथित मिडियाले चलाएको अभियानमा उनी एक्लै नब्बे प्रतिशतको प्रधानमन्त्रीका रुपमा रुचाइए र बनाइए ।

त्यसपछि बीबीसीका जागिरे रविन्द्र मिश्रको हावा चलाइयो, मानिसहरु दौडिए । गएको आम निर्वाचनमा उनी नदेखिने गरी बिलाए । बिचबिचमा भावनाको पेटारोमा रहने रिक्तस्थान पूरा गर्न आइरहने गोविन्द केसीको निरन्तरतापछि यतिबेला एक विदेशी वर्क परमिट नलिएको पत्रकारका पछाडि मानिसहरु कुदाइए । यसो हुनु आम जनमतको अपेक्षामा पूर्ण पास हुन नसकेको सरकार जति कारक हो, त्योभन्दा वेसी अहिलेको परिवर्तन नचाहने अमुक शक्तिको नियोजित ईशारा हो भन्ने कुरा अब लुकाइरहन पर्दैन ।

यस्ता अभियानको निशानामा प्रचण्ड छन् किनकि तिनीहरुलाई थाहा छ प्रचण्ड सकिएको दिन धेरै कुरामा तिनीहरुले जित्ने मात्र होइन, अपितु कल्पनै नगरेको एक अवसर तिनलाई जुट्नेछ । गणतन्त्र र संघीयताको गुदोमा प्रचण्ड छन् । जतिसुकै शव्दहरुलाई बटारे पिलाएर बजारमा पठाइए पनि यो सत्य इतिहासका पन्नाहरुमा सजीव र जीवित छ ।

विरोधीहरुलाई थाहा छ प्रचण्ड नसकी लोकतन्त्र र गणतन्त्र सक्न सम्भव छैन । यसकारण लोकतन्त्र, गणतन्त्र र संघीयताका विरोधीलाई प्रचण्ड सराप्ने फ्लुले समात्नु नै प्रचण्ड परिवर्तनका नायक हुन् भन्ने कुराको प्रमाण हो । तर प्रचण्ड उनीहरुले सोचेजस्तै सजिलो निशाना भने अवश्य होइनन् । उनीद्वारा अगाडि सारिएका मुद्दा अब असंभव सपना नभएर एक विजयी वास्तविकता र मुलुकले पच्छ्याएको जारी अभियान पनि हो ।

र, यो पनि पढ्नोस्ः

उनी अर्थात् प्रचण्ड – क. शैलेन्द्र घिमिरे

किम  इल सुङ र कोरियाली समाजवादी क्रान्तिः उत्तर कोरियाली राजदूत जो योङ मान

(मूलखबर डट कमबाट साभार)