धानको बाली भित्राउँदै गरेका किसानहरू, Two peasants harvesting rice
 

बिहानी घामको पहिलो किरणसँगै गाउँको एकजना वृद्ध किसान आफ्नो धानखेततर्फ लागे । उनी खेतको डिलमा उभिएर केही बेर मौन बसे । हल्का हावाले हरिया बाला हल्लाउँदै थियो। उनले ती बालाहरूलाई सुम्सुमाए, अनि नातिनीतिर फर्केर मुस्कुराउँदै भने, “नानी, तिमीलाई थाहा छ? यो धान केवल एउटा बाली मात्र होइन, हाम्रो जीवन हो । हाम्रो संस्कृति हो र हाम्रो पहिचान हो ।”

नजिकै बसेर उनलाई नियालिरहेकी नातिनीले आश्चर्यसहित सोध्छे, “हजुरबा, धान हाम्रो जीवन कसरी हो? यो किन यति महत्त्वपूर्ण छ?”

वृद्ध किसानले केही क्षण आकाशतिर हेर्छन् । अनि बिस्तारै नातिनीलाई सम्झाउँदै भन्छन्, “हेर नानी, धानले हामीलाई भोजन दिन्छ । हामी जन्मँदा चामलको भातले स्वागत गर्छ। जन्मेको छैठौँ दिनमा यसैमा दियो राखेर हाम्रो भाग्य कोरिन्छ । दशैँ, तिहार, हरेक चाडबाड र विवाहमा चामलको अक्षताको टीका लगाइन्छ। देवतालाई अक्षता चढाइन्छ। पाहुनालाई भात खुवाइन्छ। मृत्यु भएपछि पनि चामलकै पिण्ड चढाइन्छ। जीवनको सुरुदेखि अन्त्यसम्म धान हामीसँग हुन्छ।”

नातिनी केही बेर मौन रहन्छे। उसले खेतभरि फैलिएका हरिया बाला हेर्छे। ती बाला बोल्दैनन्, तर तिनीहरूले एउटा इतिहास बोकेका छन्।

त्यो इतिहास कुनै राजाको दरबारबाट सुरु भएको होइन। कुनै साम्राज्यको घोषणाबाट पनि होइन। त्यो इतिहास सुरु भएको थियो एउटा किसानको हातबाट—त्यो हात, जसले हजारौँ वर्षअघि जङ्गलभित्र उम्रिएको एउटा जङ्गली घाँसलाई चिन्न सक्यो, त्यसलाई बचायो, फेरि रोप्यो, फेरि आफ्ना सन्तानलाई सुम्पियो। त्यस दिन मानिसले केवल एउटा बाली रोपेको गरेको थिएन; उसले भविष्य रोपेको थियो—मानवजातिको भविष्य।

सायद त्यसैले धानलाई बुझ्नु भनेको एउटा अन्नलाई बुझ्नु मात्र होइन, समग्र मानव जीवन र सभ्यतालाई बुझ्नु हो।

मानव जीवनमा धान

नहेन्द्र खड्का
लेखक

संसारका धेरै सभ्यताहरूले आ–आफ्ना प्रतीकहरू रोजे। कसैले नदीलाई, कसैले पहाडलाई, कसैले समुद्रलाई। तर एसियाको विशाल भूभागले एउटा सानो बिउलाई आफ्नो जीवनको केन्द्र बनायो। त्यो बिउ थियो—धान।

आज पनि विश्वका अर्बौँ मानिसको हरेक बिहान भातबाट सुरु हुन्छ । उनीहरूको शरीरलाई ऊर्जा दिने, श्रमलाई शक्ति दिने र परिवारलाई जोड्ने एउटा साझा सुत्र हो—धान। नेपालमा कसैले अरूलाई खाना खाए-नखाएको सोध्नु परे “भात खायौ?” भनेर सोध्छ । तर धान केवल पेट भर्ने अन्न मात्र होइन। यसले शरीरलाई पोषण दिन्छ, संस्कृतिलाई निरन्तरता दिन्छ, समाजलाई एकतामा बाँध्छ र ग्रामीण अर्थतन्त्रलाई चलायमान राख्छ।

नेपालमा धान केवल खेती होइन; मानिसहरको जीवनशैली हो। असारको रोपाइँसँगै गाउँमा असारे गीत गुञ्जिन्छ। हिलोमा रमाइरहेका किसानहरू केवल धानको बीउ (बिरुवा) रोपिरहेका हुँदैनन्; उनीहरू आशा रोपिरहेका हुन्छन्। दही–चिउरा खाने परम्पराले श्रमको सम्मान गर्छ। दशैँ, तिहार र चाडमा अक्षता शुभकामनाको प्रतीक बन्छ। विवाहमा चामल मंगलको संकेत हुन्छ। जन्मदेखि मृत्युसम्म धान कुनै न कुनै रूपमा मानिससँगै रहन्छ।

हाम्रो भाषा, साहित्य, लोकगीत, उखान, संस्कार र स्मृतिमा धान गहिरोसँग बसिरहेको छ। त्यसैले धान हाम्रो संस्कृतिको अभिन्न अङ्ग हो । यो हराउनु भनेको एउटा बाली हराउनु मात्र होइन; एउटा सभ्यताको स्मृति हराउनु पनि हो।

धान खेतः जसले सभ्यता जन्मायो

मानिसको इतिहासमा सबैभन्दा ठुलो क्रान्ति कुनै युद्धले ल्याएको थिएन। त्यो एउटा किसानले ल्याएको थियो।

जब मानिसले पहिलो पटक धान रोप्न सिक्यो, उसले स्थायी जीवनको ढोका खोल्यो। त्यसअघि ऊ जंगली शिकार र कन्दमूलमा निर्भर थियो। आज यहाँ, भोलि त्यहाँ। तर धानले उसलाई एउटै ठाउँमा बस्न सिकायो। त्यसपछि गाउँहरू जन्मिए। समुदायहरू बने। श्रमको बाँडफाँड भयो। सिँचाइ प्रणाली विकसित भयो। बचेको उत्पादनले व्यापार जन्मायो। व्यापारले सहर जन्मायो। सहरले सभ्यता निर्माण गर्‍यो।

यस अर्थमा हेर्दा धान केवल एउटा कृषि बाली होइन; यो मानव सभ्यताको मेरुदण्ड हो।

नेपालका पहाडी गह्रा, तराईका फाँट, नदी किनारका खेतहरू प्रकृतिसँग गरिएको संवादका उत्कृष्ट उदाहरण हुन्। किसानले पहाडलाई जित्न खोजेन; उसले पहाडसँग सहकार्य गर्‍यो। उसले पानीलाई कैद गरेन; कुलो बनाएर उसको यात्रा व्यवस्थित गर्‍यो। यही सहअस्तित्वले हजारौँ वर्षदेखि धान सभ्यतालाई जोगाइरहेको छ।

यो सभ्यता कुनै दरबारमा बनेको थिएन। धानले विकास गरेको मानव सभ्यता किसानको खेतमा बनेको थियो।

धान र जैविक विविधता

एउटा धानको खेतमा सामान्य रूपले हेर्दा भने हरियो मात्रै देखिन्छ। तर त्यही खेतलाई किसान र वैज्ञानिकको आँखाले हेर्ने हो भने त्यहाँ हजारौँ वर्षको आनुवंशिक इतिहास भेटिन्छ।

नेपाल विश्वका महत्त्वपूर्ण धान विविधता भएका मुलुकहरूमध्ये एक हो। हिमाल, पहाड र तराईको भौगोलिक विविधताले धानका हजारौँ स्थानीय जातहरूलाई जन्म दिएको छ। कतै सुगन्धित धान, कतै रातो धान, कतै कालो धान, कतै खडेरी सहने, कतै बाढी सहने, कतै चिसो सहने जातहरू पाइन्छन्।

यी जातहरू कुनै अनुसन्धान केन्द्रका वैज्ञानिक वा प्रयोगशालाले बनाएका होइनन्। यी किसानहरूका पुस्तौँदेखिको धैर्य, अनुभव, परीक्षण र निरन्तर छनोटका परिणाम हुन्।

हरेक वर्ष किसानले सबैभन्दा राम्रा बाला छुट्याएर अर्को वर्षका लागि बिउ राख्यो। यसरी हजारौँ वर्षसम्म प्रकृति र किसानले मिलेर धानको असाधारण जैविक विविधता निर्माण गरे।

जैविक विविधता केवल वैज्ञानिक सम्पत्ति होइन; यो भविष्यको सुरक्षा हो। आज कुनै जात सामान्य लाग्न सक्छ, तर भोलि जलवायु परिवर्तनसँग जुध्न त्यही जात मानवजातिका लागि सबैभन्दा ठुलो आशा बन्न सक्छ।

के धान किसानको हातबाट खोसिँदैछ?

कुनै समय किसानको सबैभन्दा ठुलो सम्पत्ति उसको घरको कुनामा राखिएको बिउको भाँडो हुन्थ्यो। त्यस भाँडोमा केवल धान थिएन; परिवारको भविष्य थियो।

आज त्यो अवस्था बदलिँदै छ।

धानको बिउ अब क्रमशः किसानको हातबाट बजारतर्फ सर्दै छ। स्थानीय जातहरू हराउँदै छन्। एउटै किसिमका व्यावसायिक जातहरू विस्तार हुँदै छन्। किसान बिउको स्रष्टाबाट त्यसको उपभोक्ता बन्ने जोखिममा छ।

धानको बिउमाथिको अधिकार गुमाउनु भनेको केवल कृषि प्रविधि बदलिनु होइन; यो शक्ति सम्बन्ध बदलिनु पनि हो। जसले बिउ नियन्त्रण गर्छ, उसले खाद्य प्रणाली अर्थात खानाको भविष्यमा प्रभाव पार्छ।

त्यसैले बिउको संरक्षण केवल कृषि कार्य होइन। यो सांस्कृतिक आन्दोलन पनि हो। आर्थिक स्वतन्त्रताको प्रश्न पनि हो। किसानको आत्मनिर्णयको प्रश्न पनि हो।

यदि किसान आफ्नै बिउका लागि बजारमा निर्भर हुन थाल्यो भने कृषि क्रमशः बाह्य नियन्त्रणमा जाने खतरा बढ्छ। त्यसैले स्थानीय बिउ, किसानको ज्ञान र सामुदायिक बिउ प्रणालीको संरक्षण आजको आवश्यकता हो।

किसान – संसारलाई बचाइरहेका मानिसहरू

हामीले इतिहासमा धेरै वीरहरूको कथा पढ्यौँ। तर संसारलाई हरेक दिन बचाइरहेका मानिसहरूको कथा कमै लेख्यौँ, कमै पढ्यौँ।

हरेक बिहान एउटा किसान उठ्छ। उसले आफ्नो परिवारका लागि मात्र काम गरिरहेको हुँदैन। उसले कहिल्यै नदेखेका करोडौँ मानिसका लागि पनि काम गरिरहेको हुन्छ।

उसले माटो जोत्छ। बिउ रोप्छ। पानीको प्रतीक्षा गर्छ। रोगसँग लड्छ। मौसमसँग भिड्छ र सम्झौता गर्छ। अनि अन्ततः एउटा दाना उत्पादन गर्छ।

त्यो दाना सहर पुग्छ। बजार पुग्छ। हाम्रो भान्सामा पुग्छ।

तर त्यो किसान आफैँ भने प्रायः असुरक्षित हुन्छ। उत्पादनको जोखिम उसले लिन्छ। मूल्य अरूले निर्धारण गर्छन्। नाफा अरूले कमाउँछन्।

यो केवल आर्थिक अन्याय होइन। यो नैतिक प्रश्न पनि हो।

यदि किसान कमजोर भयो भने खाद्य सुरक्षा पनि कमजोर हुन्छ। यदि किसान विस्थापित भयो भने सभ्यता पनि असुरक्षित हुन्छ।

त्यसैले किसानको सम्मान गर्नु भनेको केवल एउटा पेशाको सम्मान गर्नु होइन; मानव अस्तित्वको सम्मान गर्नु हो।

धानमाथि बढेका चुनौतीहरू

आज धानले पहिलेभन्दा फरक संसारको सामना गरिरहेको छ।

जलवायु परिवर्तनले मौसमको लय बिगारिरहेको छ। कहिले खडेरी, कहिले बाढी, कहिले असिनापानी, कहिले नयाँ रोग र कीराहरू। किसानले मौसम पढेर जीवन बितायो, तर अहिले मौसमले आफ्नै भाषा बदल्न थालेको छ।

खेतीयोग्य जमिन सहरीकरणले घटाउँदै लगेको छ। सिँचाइका स्रोतहरू दबाबमा छन्। उत्पादन लागत बढ्दै गएको छ। बजार अस्थिर छ। गाउँबाट युवाहरू पलायन भइरहेका छन्।

यी चुनौतीहरू केवल कृषिका होइनन्। यी मानव सभ्यताका चुनौतीहरू हुन्।

धान, हरित क्रान्ति र दिगो कृषि

हरित क्रान्तिले विश्वका धेरै देशमा खाद्यान्न उत्पादन बढायो। धेरै ठाउँमा भोकमरी कम गर्न यसले महत्त्वपूर्ण योगदान पनि दियो। बालीको उन्नत जात, सिँचाइ, रासायनिक मल र आधुनिक प्रविधिले उत्पादनमा उल्लेखनीय वृद्धि गरायो।

तर समयसँगै यसका केही सीमाहरू पनि देखिए। रासायनिक कृषि सामग्रीमा अत्यधिक परनिर्भरता, माटोको उर्वराशक्ति घट्नु, वातावरणीय प्रदूषण, पानीको अत्यधिक प्रयोग, जैविक विविधताको ह्रास र उत्पादन लागत बढ्नुजस्ता चुनौतीहरू देखा परे।

यही अनुभवले दिगो कृषिको बहसलाई बलियो बनायो।

दिगो कृषि भनेको अतीतमा फर्किनु होइन। यो विज्ञान, किसानको परम्परागत ज्ञान र प्रकृतिको सन्तुलनलाई एकसाथ जोड्ने प्रयास हो। एग्रोइकोलोजी अर्थात जैविक विविधतामा आधारित पर्यावणीय कृषिले माटो, पानी, जैविक विविधता, स्थानीय बिउ र समुदायको ज्ञानलाई कृषि विकासको केन्द्रमा राख्छ।

भविष्यको कृषि उत्पादनमुखी मात्र होइन; प्रकृतिमैत्री, किसानमैत्री र पुस्तामैत्री पनि हुनुपर्छ।

धान र खाद्य सम्प्रभुता

खाना केवल नाफाका लागि उत्पादन गरिने बजारको वस्तु होइन। यो मानव अधिकार हो।

खाद्य सम्प्रभुता भन्नाले जनताले आफ्नो खाद्य प्रणाली, उत्पादन, वितरण र उपभोगबारे निर्णय गर्ने अधिकारलाई जनाउँछ। यसको केन्द्रमा किसान हुन्छ, विदेशी बहुराष्ट्रिय कम्पनी होइन। समुदाय हुन्छ, बजार मात्र होइन।

जब किसानले आफ्नो बिउ जोगाउन पाउँछ, उसको उत्पादन र उत्पादकत्व बढ्छ, उसले आफ्नो उत्पादनको उचित मूल्य पाउँछ, स्थानीय बजार बलियो हुन्छ र कृषि नीतिमा उसको आवाज सुनिन्छ, तब खाद्य सम्प्रभुता बलियो हुन्छ।

खाद्य सुरक्षा र खाद्य सम्प्रभुता फरक भए पनि एकअर्काका पूरक हुन्। सबैले खाना पाउनु आवश्यक छ, तर त्यो खाना कसले उत्पादन गर्छ, कसरी उत्पादन गर्छ र त्यसबाट कसको जीवन सम्मानित हुन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ।

किसानको समृद्धिबिना धानको भविष्य छैन

धानको भविष्य केवल उत्पादन बढाउनुमा छैन। किसानको जीवन सुधार्नुमा छ।

यदि किसान घाटामा खेती गर्छ भने भविष्यमा कसले धान उमार्ने? यदि किसानका छोराछोरीले खेतीमा सुरक्षित भविष्य र सम्मानित जीवन देखेनन् भने खेत कसले सम्हाल्ने?

किसानलाई उचित मूल्य, सिँचाइ, बिमा, अनुसन्धान, बजार, भण्डारण, सहकारी, कृषि शिक्षा र आधुनिक प्रविधिमा पहुँच उपलब्ध गराउनु राज्य र समाजको साझा दायित्व हो।

किसानको समृद्धि नै खाद्य सुरक्षाको सबैभन्दा बलियो आधार हो।

धान, महिला र युवा किसान

धानको इतिहास लेख्दा महिलाको योगदान बिर्सन मिल्दैन।

बिउ छनोट गर्ने, सुरक्षित राख्ने, रोपाइँ गर्ने, गोडमेल गर्ने, कटानी गर्ने, भण्डारण गर्ने—कृषिका धेरै महत्त्वपूर्ण काम महिलाले गरेका छन्। उनीहरू धान सभ्यताका संरक्षक हुन्।

त्यसैगरी युवाहरू कृषि भविष्यका वाहक हुन्। यदि उनीहरूले कृषि छोडे भने भविष्यना खेतहरू बाँझै र खाली हुन सक्छन्। त्यसैले कृषिलाई सम्मानजनक, नवप्रवर्तनमुखी र आम्दानीमूलक बनाउनु समयको आवश्यकता हो।

निष्कर्ष

साँझ परिसकेको छ। वृद्ध किसान घर फर्किरहेका छन्। उनका पाइतालामा अझै हिलो टाँसिएको छ। नातिनीले फेरि एकपटक खेततिर फर्केर हेर्छे। अब उसले हरिया बाला मात्र देख्दिन। उसले इतिहास देख्छे। सभ्यता देख्छे। आफ्ना पुर्खाहरूको श्रम देख्छे। र, भविष्य पनि देख्छे।

उसले बुझिसकेकी छ—धान खेतमा मात्र उम्रिँदैन। यो किसानको पसिनामा उम्रिन्छ। महिलाको धैर्यमा उम्रिन्छ। बिउ जोगाउने हातहरूमा उम्रिन्छ। माटोको उर्वरतामा उम्रिन्छ। पानीको यात्रामा उम्रिन्छ। समुदायको सहकार्यमा उम्रिन्छ।

धान जोगाउनु भनेको एउटा बाली जोगाउनु मात्र होइन। मानव जीवनको आधार जोगाउनु हो। जैविक विविधता जोगाउनु हो। संस्कृति जोगाउनु हो। खाद्य सम्प्रभुता जोगाउनु हो। र सबैभन्दा ठुलो कुरा—संसारलाई भोकबाट बचाइरहेका किसानहरूलाई जोगाउनु हो।

इतिहासले जे लेखे पनि एउटा सत्य आज पनि बदलिएको छैन—मानव सभ्यताको मेरुदण्ड दरबारमा होइन, खेतमा उभिएको छ। र, त्यो मेरुदण्डलाई आज पनि आफ्नो श्रमले थामिरहेका छन्—किसानहरूले।

(लेखक खड्का राष्ट्रिय किसान सञ्जाल नेपालका संयोजक, किसान नेता तथा जैविक प्रविधिज्ञ हुनुहुन्छ ।)

यी पनि पढ्नुहोस्ः
मानव सभ्यता र अन्नको इतिहास – पेम्पा तामाङ

भोजन अर्थशास्त्र – भरत पोखरेल

चिनीको मृत्यु – भरत पोखरेल

दशैँको बारेमा एक ऐतिहासिक भौतिकवादी दृष्टिकोण – रामराज रेग्मी