कमरेड प्रचण्ड,
लाल सलाम ! अभिवादन !!
पहिलो पटक तपाईंको नाममा केही लेखौँ भनेर सोचेँ । फेरि हजार पटक नलेखौँ भनेर पनि सोचेँ, तर सकिन रोक्न । तपाईंको निर्देशनमा जनयुद्धका बेला बिना हिच्किचाहट हजारौँ योद्धाहरु मर्न तयार भए । तपाईंलाई देखेर भेटेर अनि लड्दा लड्दै युद्धमोर्चामा सहिद हुन तँछाडमछाड गर्थे ।
युद्धमा १४००० भन्दा माथिका भर्भराउँदा क्रान्तिकारी योद्धाहरुको बलिदान भयो । हजारभन्दा माथिका वेपत्ता योद्धाहरु बेखबर छन् । पलपल मरेर बाँच्नुपर्ने वेपत्ता परिवाहरुको पीडा छ । हजारौँको संख्यामा घाइते र आपाङ्ग न गरी खानु, न मरी जानुको दोसाँधमा बाँचेका छन् । दुवै आँखा गुमेका, दुवै हात गुमेका, मेरुदण्ड खुस्केका र जीवनभर अरुको सहारामा बाँच्नुपर्ने बाध्यताको पीडा कस्तो होला ? एक मिनेट सोच्ने सायद मन छैन होला । हाम्रो दुःख र पीडाको भञ्ज्याङ्ग चढेर धेरै कमरेडहरु प्रधानमन्त्री, मन्त्री र सांसद बने । तर कुशल व्यवस्थापनबारे कसैले सोच्नसम्म सकेन ।
आज सुनिँदैछ त्याग, तपस्या, बलिदान, इमानदारिता, सहिद, वेपत्ता, अपाङ्ग, अस्मिता लुटिएका कार्यकर्ताको योगदान र बलिदानी भावनामाथि कुठाराघात र बेइमानी हुँदैछ । यो कदापि इतिहासमा माफी हुने छैन । मैले केही वर्ष पहिला कमरेड प्रचण्ड र कमरेड बाबुरामलाई भेटेरै भनेकी थिएँ कि तपाईंहरु विश्वभरी चिनिनु भएको छ । यो ख्याति पाउनुमा १४००० सहिदको रगतको खोला र लाखौँ जनताको लगानी परेको छ ।
अन्तमा लाजलाग्दो, घिनलाग्दो, शिर झुकाउनु पर्ने, नाजवाफ हुनुपर्ने र आफ्नै सहयोद्धाको कटाक्ष गर्नुपर्ने वातावरणको समाप्ती होस् । कलिलो उमेरमा विधुवा बनेका हामीहरु, छोराछोरी गुमाएका आमाबाबाहरु, न लास र न सास पाउनबाट बञ्चित हामीहरु, अंगभंग भएका हामीहरुको चाहना छ, युद्धकालीन नेताहरु मिलेर समृद्ध नेपाल बनोस् । यही हाम्रो शुभकामना ।
निवेदक,
जनयुद्धका प्रत्यक्षदर्शी क. प्रतिमा
सहिद परिवार तथा घाइते अपांग प्रतिनिधि