नेपालीमा एउटा चलेको आहान छ – ‘नाँच्न नजान्ने, आँगन टेडो’ । आफूमा आएको दुईतिहाइको अवसर र सुविधालाई जोगाउन ढंग नपुग्ने, अनि त्यसको दोश अरूको टाउकोमा हालेर तथ्यहीन अराजनीतिक गालिगलौजमा उत्रिएर क्षणिक आत्मरतिमा रमाउने । रंगढंग, बुद्धिविवेकमा बिर्को लागेपछि केन्द्र र सातैवटा प्रदेशमा सरकारबाट बल्ड्याङ खानुपरेको कुराप्रति थोरै लज्जाभाव हुनु त कता हो कता, उल्टै गठबन्धनले जनमतको अवमूल्यन गरी अल्पमतको सरकार बनायो भन्ने ? दुईतिहाइ जनमतले दिएको अवसरको रक्षा गर्न नसक्नुको दोष भण्डारै कब्जा गरेर एकलौटीरूपमा डाडुपन्यु नचाएर बस्नेको हुन्छ कि ? रित्तोथाल लिएर भान्छेले समुचित न्याय गर्ला भनी बाहिर टुलुटुलु कुरिबस्नेको हुन्छ ?
पार्टी एकताको सात बुँदे सहमतिसँगै चुनावी वामगठबन्धन भयो, चुनावमा दुईतिहाइ जनमत आयो । अब त वाम सरकारले समाजवादउन्मुख आर्थिक योजना ल्याएर आधारभूत श्रमजीवी दुःखी गरिब जनताको आर्थिक जीवनस्तर माथि उठाउला, शिक्षा र स्वास्थ्य, रोजगार, खाद्यसम्प्रभुता, आवास सुरक्षाको हकबाट जनता लाभान्वित होला, भ्रष्टाचार, विकृति विसंगति हटेर देशमा सुशासन र समृद्धि होला भन्ने जनअपेक्षा थियो । ‘जनताले संविधानको रक्षा गर, घुस नखाऊ, भ्रष्टाचार नगर’ भनेर दिएको दुईतिहाइ जनमत हो ।
समाजवादउन्मुख संविधानको मूल भावना विपरीत, पार्टी एकता र चुनावी घोषणा पत्रले निर्दिष्ट गरेका लक्ष्यभन्दा विपरीत जनमतको दुरुपयोग गर्दै संसद विघटन गर्ने, संविधान मिच्ने, भ्रष्ट्राचारको आरोप लागेकाहरूलाई रक्षा गर्ने, कोरोना कहरजस्तो स्वास्थ्य संकटमा पनि स्वास्थ्य सामग्री र औषधिमासमेत कमिसनको खेल, ओम्नी काण्ड, यति काण्ड, बालुवाटार जग्गा काण्ड, प्रेस खरिद काण्ड आदि जताततै कमिसन नै कमिसन काण्ड मौलाउन थाल्यो । छोटै अवधिमा सरकारमाथि चौतर्फी प्रश्न उठ्न थाल्यो । पूर्वप्रधानमन्त्री केपी ओलीको हात्तीको देखाउने दाँत जस्तो बाहिर देखाउन ‘म भ्रष्ट्राचार गर्दिन र भ्रष्ट्राचार गर्न दिन्न’ भन्ने एउटा जिब्रो र भित्र चपाउने जिब्रो आफू निकट भ्रष्ट्राचारका आरोपितहरूलाई जोगाउन छानविन हुनै नदिएर ‘चीलका अगाडि कुखुराले चल्ला छोपेजस्तो’ ढपक्कै छोप्ने दुई जिब्रे बोलि र व्यवहारबाट कम्युनिस्टहरूप्रति नै कलंक लाग्ने स्थिति पैदा भयो । केपी ओलीले बोलेपछि त्यो ब्रह्मसत्य भनेर अरूले मान्नुपर्ने अतिवादी मनपरी पाराबाट जनता आजित भयो ।

जहाँ अन्याय हुन्छ, त्यँहा विस्फोट हुन्छ, यो विज्ञानको स्वभाविक नियम हो । दुईदुई पटक संसद विघटन गरी संविधानलाई नै कमजोर पार्ने, देशलाई पश्चगमनतिर धकेलेर गणतन्त्रलाई नै धरापमा पार्ने, ओली प्रवृत्तिका विरूद्ध गठबन्धनले पाँच वर्ष संसद टिकाएर जनमतको रक्षा तथा सदुपयोग गर्दै, विधिवतरूपमा बहुमतका साथ संसद र संविधानको रक्षाका लागि केपी ओलीलाई सरकारबाट हटाउन पर्ने वाध्यात्मक परिस्थिति आएको हो भन्ने कुरा सबैले बुझेकै विषय हो ।
यो परिस्थिति सिर्जना गर्नमा मुख्य भूमिका स्वयम् केपी ओली नै जिम्मेवार छन् भन्ने कुरामा कसैमा भ्रम छैन । केपी ओलीका साथमा रहेका एमालेका नेताहरूले उहाँलाई बेलैमा दुईतिहाइ जनमतको भावनाअनुसार पार्टी एकताका निर्णयहरूको अक्षरशः पालना गर्न, चुनावी घोषणा पत्रमा प्रतिबद्धता गरेअनुसार सरकारको कामकार्वाही बढाउन, संविधानको रक्षा गर्न सही सल्लाह-सुझाव दिएर उनलाई सद्बुद्धिमा चल्न सुझाएको भए र केपी ओली उहाँको बुद्धिमा अहंकार र घमण्डको बिर्को नलागेको भए सातवटै प्रदेशमा सरकारबाट गलहत्त्याउनु पर्थ्यो र ? आफूले गर्दा सबै राम्रो अरूले गरेको सबै नराम्रो भन्ने मनोरोगबाट माथि नउठ्दासम्म अरूलाई बिगार्यौ भन्ने नैतिक अधिकार हुन्छ र ?
संविधानको मूलमर्मलाई गलत ट्रयाकमा धकेलिदिएपछि त्यसलाई सही ट्रयाकमा ल्याउन एउटा विधिमात टेक्नै पर्थ्यो । दुईतिहाइको ऐतिहासिक अवसर परिपक्व नेताको हातमा परेको भए कुनै पनि मूल्यमा दुईतिहाइ गुम्न दिँदैनथियो । दुईतिहाइको अवसर त केपी ओलीको अहंकारले सिध्याएको हो । स्थीरता र स्थायित्वलाई केपी ओलीको घमण्डले टिक्न नदिएको हो । त्यसैले भ्रमको खेती नगर्दा हुन्छ एमालेका नेताहरूले । अस्थीरता र अल्पमत गठबन्धनको लक्ष्य होइन । जनमत र संविधानको मर्मभावलाई रक्षा गर्दै, राजनीतिक गत्यारोधलाई सही ट्य्राकमा ल्याउन गठबन्धनले उठाएको जोखिम हो । संविधान बचाएर मुलुकको राजनीतिक परिवर्तन र गणतन्त्र जोगाउन गठबन्धन अनिवार्य थियो, बन्यो, अगाडि बढिरहेको छ । वर्तमान गठबन्धन ओलीपथमा हिँडिदिनु पर्छ भनेजस्तो गरी एमालेका नेताहरू भ्रम छर्दै कुर्लनुको कुनै अर्थ छैन ।
अन्तिममा इतिहासमा उजागर भएका नकरात्मक प्रवृत्तिकाे एउटा स्मरणकारूपमा एउटा सन्दर्भमा माओले च्याङकाई सेक मेरो असल गुरु हुन् भन्दा चिनियाँहरू जिल्ल परेका थिए । च्याङकाई सेकले धेरै मुर्खता नगरेको भए चिनियाँ नयाँ जनवादी क्रान्तिको सफलता छिटै हुन्थ्यो-हुँदैनथियो । नेपालमा ज्ञानेन्द्र शाहले २०६२ साल असोज १८ मा मूर्खतापूर्ण “कु” गरेर राजतन्त्र अत्य गर्न सजिलो बनाइदिएका थिए । ‘के गर्छस्, मंगले आफ्नै ढंगले’ भनेजस्तो केपी ओलीको मूर्खताले उनी दुईतिहाइको रजगजबाट बालकोटको भित्तामा पुग्नुमा आफ्नै भूमिका प्रधान भएर नै हो । राष्ट्र र जनताप्रतिको वास्तविक चिन्ता हुन्थ्यो भने उनमा केही न केही गल्तिको आभाष हुन्थ्यो । नक्कली आडम्बरमा चलेको उनको अहंकार र घमण्डले किन तेस्तो सोच्न सक्थ्यो र ? अझ अगाडि बढेर माओवादी केन्द्र र अध्यक्ष प्रचण्डलाई प्रमुख शत्रु घोषणा गर्दै अध्यक्ष कमरेड प्रचण्डलाई चुनाव हराउन रामबहादुर थापा चितवनमा भिडाउने र सम्माननीय सभामुखलाई सिन्धुपाल्चोकबाट चुनाव हराउने उद्घोष गर्दै हिँडेका छन् । गणतन्त्र ल्याउने संविधान बनाउने र संविधान र लोकतन्त्र बचाउने निर्णायक भूमिका खेल्नुभएका नायकहरू अध्यक्ष कमरेड प्रचण्ड र सम्मानीय सभामुख अग्निप्रसाद सापकोटा विरूद्ध जेहाद छेड्ने उद्घोष गर्दै हिँडेका छन् ।
उसो त एमाले नभएको भए परमादेशबाट २०१७ साल दोहराइसक्थे भनेर गठबन्धनप्रति केपी ओली झुट्टा आरोप लगाउँदै हिँडेका छन् । ‘गडबड र बदमासी आफू गर्ने दोष अरूमाथि थोपर्ने’ ओली प्रवृत्ति हो । गडबडी गर्नका लागि उनको दिमागमा जे-जे योजनाहरू फुर्छ, फुरिरहेको हुन्छ, त्यसको दोष अरूको टाउकोमा थोपार्न उनी पहिल्यै भ्याइसक्छन् । संसद विघटन गरेर परमादेशबाट तानाशाही शासन चलाउने उनको मनोकाङ्क्षा अदालतले ध्वस्त नगरिदिएको भए यतिबेला २०१७ उनी त उनले दोहराइसकेका हुन्थे । एमाले नेता-कार्यकर्ताहरू महागुरूको सत्वचन भन्दै आँखा चिम्लिएर ताली पिट्तै त हिँडेका छन् । उहाँहरूको वचपना तथा झुट्टा रवैयाले आगामी निर्वाचनमा आफ्नै पराजयकाे गतिलो मसला तयार पार्ने कुराचाहिँ सत्य नजिक छ ।
वर्तमान गठबन्धन कमजोर पारी माओवादी केन्द्र र अध्यक्ष कमरेड प्रचण्डलाई हराउन च्याङकाई सेक र ज्ञानेन्द्रपथको मार्ग चुनेका एमालेजनलाई अहिले हाम्रो भन्नु धेरै केही छैन । चुनाव आउन अझै डेढ वर्ष बाँकी छ । जतिसुकै हाहाकार मच्चाए पनि अहिलेको गठबन्धन चुनावसम्म जाने प्रतिबद्धता डगमगाउने देखिँदैन । हार र जीतको फैसला मैदानमा नै हुन्छ, जनताले मैदानबाटै गर्नेछ ।
[लेखक नेकपा (माओवादी केन्द्र) का नेता तथा महान् जनयुद्धका घाइतेयोद्धा हुनुहुन्छ ।]













