बौद्धिक वर्ग, ग्राम्सी
 

सामान्यतया बुद्धि वा दिमागले काम गर्ने, हरेक विषयमा आलोचनात्मक सोच राख्ने, विभिन्न बौद्धिक कार्यहरुमा संलग्न हुने, अनुसन्धान कार्यहरुमा लाग्ने, समाज र दुनियाँकोबारेमा यथार्थ सोच राख्ने, सामाजिक कुरीति र विकृतिहरुको खण्डन गर्ने, र उच्च शैक्षिक योग्यता भएका व्यक्तिहरुलाई बौद्धिक वर्ग भनिन्छ l

यिनीहरुले नयाँ सिद्धान्त र विचारको निर्माण गर्दछन्, विभिन्न वैज्ञानिक आविष्कार गर्दछन्, कला र साहित्यको सिर्जना गर्दछन् र यिनै सिर्जनामार्फत मानवजातिलाई सुसूचित गर्दछन् l सामाजिक गतिविधिमा संलग्न हुने इतिहासकार, दार्शनिक, वैज्ञानिक, लेखक, कलाकार, पत्रकार तथा अन्य बौद्धिकहरुलाई सार्वजनिक बौद्धिक पनि भनिन्छ, जसले सामाजिक, राजनीतिक, तथा वैचारिक जीवनमा धेरै प्रभाव पार्दछन् l

बौद्धिक वर्गको बारेमा विभिन्न मतहरु रहेका छन् l ज्याँ पाल सात्रले व्यक्तिगत रुपले कुनै स्वार्थ वा सम्बन्ध नभएका तर समाज र राष्ट्रका लागि महत्त्वपूर्ण हुने विषयमा मध्यस्थता गर्ने व्यक्तिहरुलाई बौद्धिक वर्ग मान्दछन् l

सन् २००५ मा पब्लिक भोटिङका आधारमा दुनियाँकै शीर्ष ‘पब्लिक इन्टलेक्चुअल’ चुनिएका अमेरिकी विद्वान नोम चोम्स्कीले बौद्धिक वर्गलाई विशेषज्ञ मात्र नमानेर राजनीतिक कमिसार, वैचारिक प्रशासक र राज्यका गलत कार्यलाई चुनौती दिनसक्ने व्यक्तिको रुपमा परिभाषित गर्दछन् l उनी भन्छन्, बौद्धिक वर्ग को उत्तरदायित्व सत्य कुरा बताउनु र झुटको पर्दाफास गर्नु हो । बौद्धिक वर्ग सरकारका झुटलाई पर्दाफास गर्ने, घटनाहरूलाई तिनको कारण तथा लक्ष्य र गुप्त उद्देश्यका आधारमा विश्लेषण गर्नसक्ने हैसियतमा रहेका हुन्छन् l

अर्का विद्वान् एडवार्ड सइदका अनुसार, बुद्धिजीवीको जीवनको ध्येय मानव स्वतन्त्रता र ज्ञानलाई अझ परिष्कार गर्नु हो । उनका अनुसार बुद्धिजीवीले समाजलाई तलाउजस्तो जमेर बस्न दिनुहुँदैन र आफ्ना कुरा सकेसम्म फैलाउनुपर्छ । अर्थात अनुसन्धान गरेर मात्रै बुद्धिजीवी जीवित ठहरिँदैन, आफूजस्तै मान्छेले मात्र पढ्ने जर्नलमा लेखेर मात्रै पनि बुद्धिजीवी बाँच्दैन । त्यसका लागि उसले आफ्ना कुरा आम मानिससम्म पुर्‍याउनैपर्छ । विषयगत जटिल कुरालाई आम मानिसले बुझ्ने हदसम्म सरल बनाएर लेख लेख्ने वा प्रवचन दिने गर्नुपर्दछ (मैनाली, २०१२) l उनले बौद्धिकहरुले सत्य बोल्न सक्नु पर्ने, आन्तरिक नभई बाह्य र सार्वजनिक हुनुपर्ने र समाजका गलत कुराहरुको खण्डन गर्न आँट गर्नुपर्ने धारणा राखेका छन् l

बौद्धिक वर्गबारे ग्राम्सीको धारणा

विश्व प्रसिद्ध सिद्धान्तकार , मार्क्सवादी विद्वान तथा इटालियन कम्युनिस्ट पार्टीका नेता एन्टोनियो ग्राम्सीलाई मार्क्सवादका एक मुख्य व्याख्याकार मानिन्छ l बौद्धिक वर्ग, राजनीतिक नेतृत्व, पुँजीवादी प्रभुत्व, सांस्कृतिक सिद्धान्त आदि विचारका व्याख्याकार ग्राम्सीका विभिन्न धारणामध्ये उनको बुद्धिजीवीको भूमिका सम्बन्धी धारणा अति महत्त्वपूर्ण मानिन्छ l

उनले सन् १९२१ मा इटालियन कम्युनिस्ट पार्टीको निर्माण गरेका थिए l सन् १९२४ मा इटालियन कम्युनिस्ट पार्टीको महासचिव भएका उनले उक्त पार्टीको सैद्धान्तिक आधार र सांगठानिक संरचनाको निर्माण समेत गरेका थिए l सन् १९२६ मा बेनेटो मुसोलिनीले उनलाई उनको दिमाग २० वर्षसम्म काम गर्न नदिने भनी आजीवन जेल सँजाय दियो  l खराब स्वास्थ्यका कारण सन् १९३० मा उनको निधन भयो l आफ्नो जेल जीवनमा उनले एक जेल डायरी लेखे, जसमा उनका सम्पूर्ण विचारहरु समेटिएका छन् l ती विभिन्न विचारमध्ये उनको बुद्धिजीवी सम्बन्धी धारणा निकै लोकप्रिय मानिन्छ, जुन हालको नेपालको सन्दर्भमा समेत निकै उपयुक्त हुने भएकोले यहाँ व्याख्या गरिएको छ l

ग्राम्सीले प्रभुत्ववादी वा साम्राज्यवादी शासनले कसरी अन्य देशहरुमा आफ्नो एकाधिकार वा प्रभुत्व कायम गरेको हुन्छ भन्ने तथ्यलाई आफ्नो हेजेमोनिक सिद्धान्तमार्फत व्याख्या गरेका छन् l उनका अनुसार, हेजेमोनिक सत्ताले अर्थतन्त्रको अलावा संस्कृतिमार्फत पनि अन्य देशहरुमा एकाधिकार कायम गर्ने धारणा राख्दछन् ।

उनले बुद्धिजीवीलाई पनि निश्चित उत्पादन सम्बन्धले निर्माण गर्ने धारणा राख्दै उनीहरुले समाजका निश्चित वर्गको हितमा काम गर्ने धारणालाई पुष्टि गर्दछन् l यो धारणा जर्मन विचारधारामा मार्क्सले उल्लेख गर्नुभएको थियो l मार्क्सका अनुसार, उत्पादनका साधनमाथि स्वामित्व हुने वर्गले मानसिक उत्पादनका साधनलाई पनि नियन्त्रण गर्दछ l मार्क्सले बौद्धिक उत्पादन पनि वर्गीय हुने उल्लेख गर्दछन् (मार्क्स र एंगेल्स, १९८९) l

मार्क्सपछि बौद्धिक वर्गको मार्क्सवादी र समाजशास्त्रीय व्याख्या गर्ने कार्य लेनिनले गरेका छन् l उनका अनुसार बुद्धिजीवी र जनताको सम्बन्ध नङ र मासुजस्तो हुनुपर्छ । बुद्धिजीवी समाजबाट जन्मेको र हुर्केको हुन्छ र ऊ त्यतिबेला मात्र बुद्धिजीवी हुनसक्छ, जब ऊ समाजबाट विचारको निर्माण गर्दै समाजसँग अन्तर्क्रिया गर्छ र उसको विचारले वर्गअनुसारको अभिव्यक्ति दिने गर्दछ । बुद्धिजीवी आफैमा वर्गीय हुने गर्दछ l

ग्राम्सीले समाजका सबै मानिसहरुलाई दार्शनिक र बुद्धिजीवी मान्दछन्, जसको विश्वलाई हेर्ने आफ्नै दृष्टिकोण हुने गर्दछ l तर सबै मानिसहरुले बुद्धिजीवीको कार्य गर्न नसक्ने धारणा राख्दै बुद्धिजीवीको वर्गीकरण गरेका छन् l उनका अनुसार, समाजमा निम्न तिन खालका बुद्धिजीवी हुने गर्दछन्ः

१. परम्परागत बुद्धिजीवी:

पुँजीवादभित्रबाट निर्मित यो समूह उदियमान आर्थिक वर्ग वा आर्थिक तथा राजनीतिक रुपले सीमान्तकृत समूहबाट आउने गर्दछ l यिनीहरुले आफ्नो स्वार्थ अनुरुप पुँजीवादलाई समर्थन वा विरोध गर्दछन् l

२. प्राविधिक वा प्रशासनिक बुद्धिजीवी:

ठुलो संख्यामा रहेको यो समूह दैनिक गतिविधिसँग सम्बन्धित हुन्छ र निश्चित आर्थिक सीमाभित्र केन्द्रित हुने गर्दछ l यो समूह सामान्यत सत्तासँग नजिक हुन्छ l

३. जैविक बुद्धिजीवी:

ग्राम्सीले विस्तृत रुपमा व्याख्या गरेको यो वर्ग आफ्नो पेशाद्वारा निर्धारित नभई उनीहरुको क्षमता, क्षेत्र र परिवर्तन उन्मुख चाहनासँग सम्बन्धित हुने गर्दछ l यो समूहभित्र पनि हेजेमोनिक जैविक बुद्धिजीवी र हेजेमोनीको विरोध गर्ने बुद्धिजीवी गरी दुई खालका बुद्धिजीवी हुने गर्दछन् l

पहिलो समूहले पुँजीपति वर्गको हितमा कार्य गर्दछन् र पुँजीवादको राजनीतिक दर्शन, नैतिकता, यसको सामाजिक र सांस्कृतिक पक्षको व्याख्या गर्दछन् l एडम स्मिथ, डेभिड रिकार्डो, जेम्स मिल, अगष्ट कोम्टे आदि यो समूहका केही उदाहरण हुन् l

दोश्रो समूहले पुँजीवादको विरोधमा कार्य गर्दछन् र शोषित-उत्पीडित वर्गको हितमा आफूलाई केन्द्रित गर्दछन् l ग्राम्सीका अनुसार, यस वर्गभित्र पनि दुई खालका बुद्धिजीवीहरु हुने गर्दछन्ः

पहिलोमा त्यस्तो बौद्धिकहरु पर्दछन्, जुन मध्यम वर्गवाट आएका हुन्छन् र राजनीतिक, मनोवैज्ञानिक तथा वैचारिक रुपले प्रभुत्ववादी समूहसँग आफ्नो सम्बन्ध तोडदै तिनीहरुको विरुद्धमा आफ्नो कार्य केन्द्रित गरिरहेका हुन्छन् l कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, ग्राम्सी, नोम चोम्स्की लगायतका बिद्वानहरु यस वर्गमा पर्दछन् l

दोश्रोमा त्यस्ता बौद्धिकहरु पर्दछन्, जो मजदुर वर्गवाट विकसित भएका हुन्छन् र मजदुरकै हितमा आफूलाई समर्पित गरेका हुन्छन् (लाइट म्यान, १९८९) l ग्राम्सीका अनुसार, पुँजीवादको विकाससँगै यसले विभिन्न खालका बुद्धिजीवीहरुको निर्माण गर्दछ, जसमा लगानीकर्ता, कर्मचारी, व्यावसायिक कानुनविद्हरु, अर्थशास्त्री, इञ्जिनियर, औद्योगिक प्राविधिकहरु आदि जसले पुँजीवादको आवश्यकता तथा औचित्यता पुष्टि गर्ने कोशिस गर्दछन् l उदाहरणका लागि इतिहासको अन्त्यका लेखक फुकोयामा, अमेरिकी बुद्धिजीवी डब्लु. रोस्टो, समाजशास्त्री म्याक्स वेबर आदिलाई लिन सकिन्छ l यिनीहरुको विरुद्ध आवाज उठाउन श्रमजीवी वर्गले पनि विशेष दक्षतासहितका जैविक बुद्धिजीवीहरुको निर्माण गर्न सक्नुपर्दछ, जसले आफ्नो पेशागत ज्ञानलाई राजनीतिसँग जोडी समाजवादी समाजको निर्माणमा योगदान दिन सकुन् र दैनिक जीवनमा निर्माणकर्ता र संगठक बन्न सकुन् l यिनीहरुले जनताको पक्षमा बोल्ने, जनतालाई सबल बनाउने, समाजवादको निर्माणको नेतृत्व गर्ने र आफू संलग्न वा निकट राजनीतिक पार्टीका गलत रबैया तथा सोचको विरुद्ध खबरदारी गर्ने कार्य गर्न सक्नुपर्दछ l

नेपालका बुद्धिजीवीहरुको भूमिका

नेपालमा बुद्धिजीवीको पहिचानमै समस्या रहेको पाइन्छ l यहाँ बुद्धिजीवी, प्राज्ञ, सार्वजनिक बुद्धिजीवी, जैविक बुद्धिजीवी आदिको परिभाषा र भूमिकाको बारेमा खासै चर्चा भएको पाइँदैन l पञ्चायतकालीन नेपालमा बौद्धिक वर्ग दुई कित्तामा विभाजित थियो: सत्ताको निकट र सत्तादेखि बाहिर l बहुदलीय व्यवस्थापछि स्वतन्त्र र पार्टीनिकट बुद्धिजीवी गरी दुई कित्तामा बुद्धिजीवी बाँडिए र जुन राजनीतिक दल सत्तामा गयो, त्यसै दलको पछिलाग्ने प्रचलनको विकास हुन पुग्यो l बुद्धिजीवीहरु सत्ताका अंग हुन् वा होइनन् भन्ने बारेमा निकै विवाद रहेको पाइन्छ l “सत्ताको नजिक पुगेपछि बुद्धिजीवीको बुद्धि भ्रष्ट हुनपुग्छ र सत्ताका हरेक कुरालाई समर्थन गर्न पुग्दछन्” भन्ने एकथरी छन् भने अर्कोथरी “सत्ताका गलत कुरालाई समर्थन गर्ने बुद्धिजीवी हुनै नसक्ने” धारणा राख्दछन् l

अमेरिकी विद्वान नोम चोम्स्की भन्छन्, सत्यको पक्षमा बोल्नु र नक्कली र गलत कुरालाई नङ्ग्याउनु बौद्धिक वर्गको कर्तव्य नै हो र यो सँधै कायम रहनु पर्दछ l नेपालका बुद्धिजीवीहरु चोम्सी उक्त भनाइभन्दा डा. हर्क गुरुङ यो भनाइसँग बढी सहमत देखिन्छन् l डा. गुरुङको कथन थियो, बौद्धिक वर्गको क्षमता र कार्यको सबभन्दा ठूलो उपभोक्ता सरकार हुनुका साथै आधुनिक शिक्षित समुदायको मुख्य निर्माता पनि उही सरकार नै हो र उखान छः “जसले मह काढ्छ, उसले हात चाट्छ” (माबुहाङ, २०७४) l तर बुद्धिजीवीको मुख्य विशेषता सत्ता वा अन्य कुनै पक्ष्यको पनि गलत कुराको खण्डन र राम्रो कार्यको समर्थन गर्नु हो l

नेपालका बुद्धिजीवीहरुमा यो कुराको सँधै अभाव रहेको पाइन्छ l यसको उदाहरण सरकारका आर्थिक नीतिहरुको चिरफार गर्न नसक्नु, कोभिड-१९ का प्रभाव र सरकारका कार्यहरुको विश्लेषण गर्न नसक्नु, इतिहासका तथ्यहरु (राम जन्मभूमि) को बारेमा विशेषज्ञ बोल्न नसक्नु र प्रधानमन्त्री स्वयम्‌ले बोल्नुपर्ने वाध्यताको सिर्जना हुनु, नेपाल भारत सम्बन्धमा तथ्यसंगत धारणा नआउनु आदि हुन् l

नेपालका केही अपवादबाहेक हरेक बुद्धिजीवीहरु चाहेर वा नचाहेर कुनै न कुनै पार्टीप्रति आबद्ध रहेका छन् l पञ्चायतलाई हटाउन कुनै न कुनै राजनीतिक दर्शनमा आबद्ध हुने र पछि उक्त दर्शनलाई अंगालेको पार्टीसँग सम्बन्धित हुने चलन नेपालका बुद्धिजीवीहरुको आम प्रवृतिको रुपमा विकास भएको पाइन्छ, जुन हालसम्म पनि कायम रहेको छ l पछिल्लो अवधिको नेपालको अभ्यासले त राजनीतिक दलसँग आबद्ध नभई न जागिर पाइन्छ, न जागिरको सुरक्षा नै हुने देखिन्छ l राजनीतिक दलसँग आबद्ध भएका बुद्धिजीवीहरुले पनि उक्त दलका गलत कुराहरुको आलोचना गर्न सक्नुपर्दछ तर त्यो न नेकपामा पाइन्छ, न काँग्रेस वा राप्रपा वा तराईका दलहरुमा नै l ग्राम्सीले भनेजस्तो जैविक बुद्धिजीवीहरुमा कम्तिमा यो आँट हुनुपर्दछ, यदि नेपाललाई समाजवादमा लग्ने हो भने l

एडवार्ड सइद भन्छन्‌ – अर्गानिक बौद्धिकहरु मानिसहरूको मस्तिष्क बदल्न संघर्षरत हुनुपर्छ । समाजको निर्मित संरचनाप्रति स्थायी प्रश्नकर्ताका रूपमा बौद्धिकहरु उभिन सक्नु पर्दछ l पार्टीदेखि बाहिर रहेका बुद्धिजीवीहरुलाई यो विषयमा कि चासो छैन कि फुर्सत नै छैन l

भारतीय इतिहासकार रोमिला थापरको शब्दमा भन्ने हो भने हामीसँग धेरै व्यवसायमा अहिले विभिन्नखाले बौद्धिक छन्, तर तिनलाई आफ्नो विषयवस्तुको घेराबाहिर निस्केर संसार चिहाउँने फुर्सद छैन । यसको प्रमुख कारण भनेको मध्यम वर्गीय सोच, आर्थिक विपन्नता, राजनीतिप्रतिको उदासीनता वा नकारात्मकता हो l

नेपालका बुद्धिजीवीहरु आफ्नो बुद्धिको प्रयोग गरी बाँच्नसक्ने अवस्था नहुनु, अशिक्षा र उच्च गरिबी तथा बेरोजगारीको कारणले आम नागरिकहरुले बौद्धिक उत्पादनको उपयोग गर्न नसक्नु, अन्तराष्ट्रियस्तरमा बुद्धिको उत्पादन पुराउन नसक्नु आदि कारणले पनि जैविक बौद्धिकहरु आफ्नो कर्तव्यप्रति त्यति सचेत नभएका हुन् कि ?

(लेखक त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ ।)