Dal jit Shripali 'Prashanta'
 

कोरोना भाइरसले विश्वमै उधुम मच्चाइरेको छ । यसको गम्भीर असर नेपालमा पनि परिरहेकोबेला नेपाल सरकारले २०७७ बैशाख ३ गतेसम्म लकडाउनको समय थपेको छ । उक्त निर्णय नेपाल र नेपालीको हितमा छ, र स्वागतयोग्य छ ।

लकडाउन थपिरहँदा नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणमा विगतका प्रगति र अबका संभावना र चुनौतीहरुमा ध्यान दिनुपर्छ । यसअघिका लकडाउनमा नेपाल सरकारको तर्फबाट सकारात्मक पहलहरु अवश्य भए तर जसरी हुनु पर्थ्यो, त्यसरी हुन सकेन ।

दावीका साथ भन्न सकिन्छ – हवाई तथा सीमा-नाका र खुल्ला सिमानाहरुबाट मानिसहरुको आवतजावत रोकिएन् । सिमानाको स्थिति अस्तव्यस्त नै छ, बरु संकटोन्मुख छ । ज्याला-मजदुरी गरेर जिविकोपार्जन गर्नेहरु हिँडेरै घरसम्म पुग्ने बाध्यता अझै उस्तै छ ।

खुल्ला सिमाना र सीमा-नाकाबाट छिरेर घरसम्म पुगेका मानिसहरुको लेखाजोखा छैन्ः स्वास्थ्य जाँच भए/नभएको, क्वारान्टाइनमा भए/नभएको, त्यो पनि रेकर्ड छैन् ।

गाउँमा मानिसहरुको आवतजावत कायमै छ । स्वास्थ्य चौकीहरुमा औषधी र सामग्रीहरुको अभाव छ, स्वास्थ्यकर्मीहरु आफै आतंकित छन्, संक्रमणको जोखिम वृद्धो भएको छ । लकडाउन कडाइपूर्वक कार्यान्वयन गर्न सरकार अझै कठोर बन्न नसक्दा र राज्यका सबै संयन्त्रहरु प्रयोग हुन नसक्दा नियन्त्रण हुन सकेको छैन् ।

‘कठोर’ र ‘कन्ट्रोल’को नाउँमा जनतालाई चिडियाखानामा थुनिरहेको जनावरलाईझैँ व्यवहार गर्नु हुँदैन । जनता ‘होम क्वारान्टाइन’ र क्वारान्टाइनमा बसी महामारी विरुद्ध जीवनका लागि संघर्ष गरिरहेका छन् ।

संसारकै सर्वोत्कृष्ट चेतना भएको प्राणी मानिस नै हो । मानिसले आदेश र निर्देश बुझ्छ । आदेश र निर्देशको पालना गर्ने बहानामा लठ्ठीले हिर्काइहाल्ने, बुटले बजारिहाल्ने तरिकाले भने मानिस अर्को अराजकतामा जानसक्ने खतरा बढ्छ । विवेकको प्रयोग अनिवार्य कुरो हो । यदी बुझेर पनि नबुझेझैँ गर्छ भने एक स्वाँठले मात्र पुग्दैन, थप कानुनी कार्वाही पनि गर्नैपर्छ किनकी मानिस अनुशासनभन्दा बाहिर जान्छ भने ठिक ठाउँमा ल्याउन बल प्रयोग र कानुनी कार्वाही सही नै हुन्छ ।

लकडाउनको बेला जनचेतामूलक कार्यक्रमको आवश्यकता नै हुन्छ । राज्यले आफ्ना मातहतका अंग र निकायहरु व्यवस्थित ढंगले परिचालन गर्न सक्नुपर्छ । मोवाइलमा रिङटोन हालेर मात्रैले त कोरोना भाइरस जस्तो प्राणघातक रोगबाट बच्न सकिँदैन ।

सूचना-सञ्चारमार्फत जनचेतनामूलक कार्यक्रम जनतासमक्ष निरन्तर पुर्‍याउन सक्नुपर्छ । साथै सरकारले गरेका हरेक निर्णयहरु कार्यान्वयन भए नभएको अध्ययन र अनुगमन गर्नुपर्छ । यसमा पर्याप्त प्याप्त ध्यान नपुगेको स्पष्टै छ ।

सरकारलाई सहयोग पुगोस् भनेरै गठन गरिएको हुनुपर्छ – उच्च स्तरीय समन्वय समिति र सङ्कट व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) । सरोकारवाला निकायले आफ्नो कामको जिम्मा लिनुपर्छ, तर अन्तैतिर लोभिँदा र सल्किँदा सरकारकै नियतमाथि प्रश्न उठ्ने गरी जनआवाज घन्किएका छन् ।

सरकारी र निजी अस्पतालहरु परिचालनमा अझ झन बढी निजी अस्पताल र यसका मालिकहरुले देखाएका गैरजिम्मेवार कामहरुलाई सरकारले नियन्त्रण गर्न नसक्दा आक्रोस पैदा भएको छ । जनशक्ति र प्रविधिको संयोजन गरेर कोरोना भाइरसको महामारी विरुद्ध जनताको स्वास्थ्य उपचारमा परिचालन गर्नपर्छ । सरकारले – अनुरोध गर्ने होइन, आदेश र निर्देशन दिने हो, अटेरी गर्नेलाई कार्वाही गर्नुपर्छ ।

नेपाल र नेपाली जनताका निम्ति नेपाल सरकारले गर्नुपर्ने धेरै कामहरु छन् । लिखित र मौखिक प्रतिबद्धता र जनतालाई बाँडेका आश्वासनका पहाडहरु चुलिएका छन् । सरकारप्रति जनताका अपेक्षाहरु पनि धेरै छन् ।

कोरोना भाइरसको नियन्त्रण र विजयीपछि ती कामहरु हुँदै जालान् तर यतिबेला भने सरकारले जनताका निम्ति यी कामहरु गर्नैपर्छ – खेतीपातीको समय छ, जनतालाई सुरक्षित ढंगले खेतीपाती गर्ने वातावरण मिलाउने, रोग नियन्त्रण भैसकेपछि आउनसक्ने संभावित भोकमरी हुन नदिने, सांसद, मन्त्री, निजामती कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबै रोग प्रभावित क्षेत्रमा खटिने, लकडाउनको बेला जनप्रतिनिधिहरु निर्वाचित क्षेत्रमा बसी जनताका समस्याहरु बुझ्ने, जनतालाई साथ दिने र जनताका सेवक बन्ने, सरकारी तथा गैर सरकारी संघ-संस्थाहरुलाई राज्यबाटै एकद्वार प्रणालीबाट परिचालन गर्ने, सरकारले PCR मेसिनको व्यावस्था गरी सबै जिल्लाहरुमा पठाउने, बिरामी उद्धार र राहतका लागि संघ र प्रदेशमा स्पेशल टास्क फोर्स तैनाथ गरी स्थानीय सरकारसँग समन्वय र सहकार्यमा सहज गर्ने, कालाबजारियाहरुमाथि कडा निगरानी र कार्वाही गर्ने, नेपालको सन्दर्भमा स्वास्थ्य सुविधाको अभावमा सहरबजारभन्दा गाउँघरमा फैलन सक्ने महामारी नियन्त्रणमा सरकारले विशेष कार्यक्रम लागु गर्ने लगायत धेरै कामहरुमा सरकारले पहलकदमी लिन आवश्यक छ ।

रोग नियन्त्रण नहुँदासम्म पारदर्शी ढंगले छिटाछरितो राहत र उद्धार कार्यलाई जनताका घरदैलोसम्म पुर्‍याउनु पर्छ । हुँदै गर्छ र विस्तारै गरौँला भन्ने सोचबाट सरकार मुक्त हुनुपर्छ ।

कोरोना भाइरसको हमलाले शक्तिशाली राष्ट्रहरु समेत थिलोथिलो बनेका छन्, प्राणघातक रोगले आफ्ना नागरिकहरुको अनाहक ज्यान जानुले सिङ्गो विश्व नै भावविह्वल र शोकमग्न भएका छन् ।

हाम्रो जस्तो अल्पविकसित राष्ट्रले शिक्षा लिनुपर्छ ।औषधी पत्ता नलगाइसकेको र स्वास्थ्य अवस्था कमजोर भएको बेला कोरोना भाइरसबाट बच्ने उत्तम उपाय “क्वारान्टाइन” नै हो ।

देशलाई संक्रमणबाट बचाउन, आफू पनि बच्न र अरुलाई पनि बचाउन नेपालीहरु तयार छन् । कोरोना भाइरसबाट कोही पनि नेपाली मर्न चाहन्नन् । बरु भोकै मर्नु परे मर्न तयार छन् । जनताको यो दृदता र मनोविज्ञानलाई सरकारले समयमै समेट्न सक्नुपर्छ ।

जनतालाई महामारीबाट बचाउन सबै उपाय र शक्ति प्रयोग गर्नुपर्छ । जनताका दैनिक भइपरी आउने आवश्यक समस्याहरु समाधान गर्नुपर्छ । यसो गर्दा सरकारले रोग नियन्त्रण नहुञ्जेसम्मै लकडाउन लागु गर्दा पनि केही फरक पर्दैन्‌ ।

कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन नै सही हो भन्ने कुरा नेपाली जनताले बुझेका छन् । सही र गलत छुटयाउन जानेका छन् । सरकारले सही निर्णय गर्छ तर कार्यान्वयन सही ढंगले गर्दैन भन्ने आशंका जनताको दिल दिमागबाट मेटिएको छैन् । नेपाली जनतालाई विश्वास दिलाउने चुनौती छ नेपाल सरकारलाई ।

(लेखक पूर्व युवा तथा खेलकुदमन्त्री तथा नेकपाका नेता हुनुहन्छ।)