कोरोना प्रभाव र चरित्रः
संसारमा हरेक कालखण्डमा दशकौँमा विभिन्न माहामारी देखापर्ने गरेका छन् । हामी बाँचेको कालखण्डमा धर्तीको जुन भूगोलमा आवागमन सहज भएकोले पनि रोग महामारी प्रवाह सहज हुने गर्दछ ।
मानवजातिलाई आतंकित तुल्याउने गरी चीनको उहानबाट कोरना सुरु भएर २०० देशमा महामारी फैलिएको छ । दोश्रो विश्वयुद्धपछि कोरोना महाव्याधिको संकटले विश्वमा व्यापक हताहत भएको छ, अधिकांश सहरहरु सुनसान छन् ।
चीनमा सन् २०१९ डिसेम्बर १ मा भाइरसको बिरामी देखियो र ३१ डिसेम्बरमा राष्ट्रपति सी चिनफिङको अनुमतिमा अनुसन्धान सुरु भयो । २२ जनवरीमा लकडाउन गरिएको थियो । त्यहाँको सरकारले लकडाउनको आरम्भमै रातारात सर्भे नै गरेर प्रत्येक जनताको खाद्य तथा अन्य आपूर्ति, रोग परीक्षण र रोकथामको बृहत रणनीति बनाएर युद्धस्तरमा संक्रमणबारे १७ डिसेम्बर २०१९ मा चीनले विश्व स्वास्थ्य संगठनलाई प्रथम पटक सुचित गरेको थियो ।
त्यतिबेला विश्व स्वाथ्य संगठन र अमेरिका लगायत धनी देशहरुले चीनको मात्र समस्याको रुपमा बुझे । कोरोना क्रमशः युरापेली मुलुक, जापान, दक्षिण कोरिया लगायतका देशमा संक्रमण फैलियो । त्यस अवस्थामा पनि अमेरिका लगायत धनी देशहरुले चिनियाँ कोरोना भनी चीनलाई दोषारोपण गरिरहेको वक्तव्य प्रेषित भएको अध्ययन गर्ने अवसर मिलेको थियो ।
जब चीनमा कोरोनाको संक्रमणले महामारीको रुप लिइरहेको थियो, युरोप र अमेरिका लगायतका धेरै शक्तिशाली भनिने देशहरूले आफू चीनबाट टाढा भएकाले यसले आफ्नो देशलाई नछुने गलत सन्देश प्रवाह गरिरह्यो ।
चीनले कोरोनाबाट उन्मुक्ति पाउन ठुलै कसरत र गम्भीरतापूर्वक कदम चालिरहेको बेला पश्चिमा मुलुकहरू भने चीनको राज्यआतंकको त्रास थोपरिरहेको थियो । चीनमा कोरोनाको रोकथाम उदाहरणीय भएर अरु देशलाई सघाउने अवस्था आफैले सृजना गर्दा युरोप र अमेरिकामा यसले घनिभूत प्रभाव पारिसकेको थियो ।
कोरोनाको संक्रमणले नेपाललाई आक्रमणहुँदा अमेरिकाजस्तो प्रविधिले सम्पन्न मानिने देश यतिबेला चीनभन्दा बढी संख्यामा भयावह भएको तथ्य बाहिर प्रकट भएको छ । अमेरिका जस्ता पश्चिमा देशहरुको मानसिकताबाट ग्रसित नेपालको एउटा तप्काले चीनमा लामो समय कहालीलाग्दो भयावहलाई अप्रजातान्त्रिकको संज्ञा दिएका थिए । यसो हुनुमा पुँजीवादी विचार र समाजवादी विचारको विभाजित दृष्टिकोण हो भएको आँकलन गर्न सकिन्छ ।
कोरना पछि विस्तारै खाडी मुलुकमा सल्किँदै गयो र हाम्रो दक्षिणी छिमेकी देश भारतमा पनि सल्कन थाल्यो । छिमेकी चीनमा संक्रमण भएको करिब तीन महिनाभन्दा लामो समयमा नेपालमा कोरोना नभित्रनु सुखद र संयोग पनि हो । यस अवधिमा चीन र नेपाल बिच हवाई आवागमन भइरहेकै थियो । चीनबाट अमेरिकासम्म पुग्दा पनि छिमेकी नेपालमा किन आएन भन्ने प्रश्नको उत्तर विज्ञहरु खोजीमा छन ।
केही समय पहिले चीनबाट २ हप्ताको बिचमा ७ हजार चिनियाँ नागरिक नेपाल आए । चीनमा ४१ जनालाई कोरना लागेपछि जनवरीको २४ तारिखमै नेपालमा स्वास्थ्य मन्त्रालयले नेपालमा पुष्टि भएको घोषणा गराएर नेपाल सरकारलाई सर्तकताका लागि ध्यानाकर्षण गराएको थियो । यसको लगतै भारतको केरलामा भित्रिएपछि पनि नेपाललाई सुचित गरेकै थियो ।
नेपाल त्यतिबेला इमान्दार प्रयासमा चुकेको भन्न सकिन्छ । यद्यपि नेपाल सरकारले १७५ जना नेपालीलाई चीनबाट ल्याएर क्वारानटाइनमा राख्यो । कोरोनाबारे धेरै कुरामा विश्वका कसैसँग प्रष्ट उत्तर छैन भनेर विश्लेषण गर्न सकिन्छ।
अर्को पक्ष चीनसँगको हाम्रो भौगोलिक तथा सामाजिक सम्बन्ध र चीन स्वयंको सर्तकताले आफूलाई नियन्त्रणमा पनि महत्त्वपूर्ण भूमिका भएकोले नेपालमा नसर्नु सौभाग्य मान्न सकिन्छ । यसले चीन मात्र नभएर अरु मुलुकबाट समेत कोरोना रोकथामबारे सिक्ने अवसर नेपाल र नेपालीलाई प्राप्त भएकोले यसबारे खोजी गरी बाहिर ल्याउनु आवश्यक छ ।
चीनलाई पश्चिमाले असहयोग गरेपनि चीन आफैले यो युद्व जित्न सुरुदेखि नै गुरुयोजना बनाएर मात्र सफता हासिल गरेको थियो । चीनले कोरनाको भयावहमा भरपर्दो सहयोगी राष्ट्र क्युवासँग मद्दत लिन सफल भयो ।
क्युवाको भरपर्दो स्वास्थ्य गुणस्तर सेवा रहेको र एचआईभी, सिफिलिस जस्ता माहामारीलाई निस्तेज गर्नुका साथै जनताको स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी हुने भएकोले विश्वकै नमूना मानिएको छ । क्युवामा एक हजार जनसंख्याका लागि ९ जना विज्ञ चिकित्सक छन्, जुन अमेरिकाको सापेक्षतामा धेरै गुणा बढी रहेको तथ्य देखिन्छ ।
यस अवस्थामा उनीहरु अन्तर्राष्ट्रवादी पनि भएकोले चीन मात्र नभएर इटाली, भेनेजुएला लगायतको मागमा आधारित देशमा कोरना रोकथाममा सक्रिय योगदान गरिरहेका छन ।
क्युवाबारे अध्ययन गर्दा त्यस देशमा चिकित्सक अध्ययन गर्न चाहनेले निःशुल्क पढ्न पाउने व्यवथा छ । चीन र क्युवा लगायत समाजवादी देश पुँजीवादी देशको सापेक्षतामा कोरोना नियन्त्रणमा अग्रभाग र गतिमा देखिएको हामीले बाहिर ल्याउनु जरुरी छ ।
चीन लगायतका समाजवादी देशहरु जनमुखी राज्यसंरचना, श्रमप्रति विश्वास, लोकतान्त्रिक नीति र कार्यान्वयन, वैज्ञानिक प्रविधि र स्वास्थ्य सेवाको गुणस्तरलाई प्रभावकारी योजनासहित संवेदनशील भएकोले चीन लगायतको देशले सफलता हासिल गरेका छन् ।
चीन लगायतका देशहरुमा सरकारबाट द्रुत गतिमा लकडाउन, गुणस्तरीय खानपान र आवश्यक वैज्ञानिक पोषण, सबै जनताको दैनिक स्वास्थ्य परीक्षण, घर-घरमै आपूर्तिको व्यवस्थापन, दीर्घरोगीका लागि परीक्षण र उपचारको चुस्त योजना बनाई कार्यान्वयन गरिएको थियो ।
यसको अलावा नागरिकलाई मनोवैज्ञानिक परामर्श र खानपिन मानवीय आनीबानी व्यवस्थापन गरी मानवको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने कार्य गरेको थियो ।
विश्वका कतिपय पश्चिमा देशमा चीनमा भन्दा बढी फैलनुमा राष्ट्र र नागरिकको आत्म-अनुशासन नहुनु पनि हो । चीनका लागि नेपालका पूर्वराजदूत महेश मास्केले पनि लकडाउन गरी घरभित्र बस्न प्रेरित गर्नु र जनताको जिविकोपार्जनको जिम्मा लिएर नियमित परीक्षण गर्नु नै चीनको कोरोना रोकथामको मुख्य कदम भएको स्वीकार गर्नुभएको छ । यो कार्य गर्न चीनका राष्ट्रपतिको सक्षम योजना निर्माण र व्यवस्थापन पक्षबाट नेपालजस्तो देशले सिक्न ढिलाई गरेको विष्लेषण गर्नु अत्युक्ति नहोला । यो कोरोना रोकथामको एउटा महत्त्वपूर्ण अंशबारे नेपालमा पनि विज्ञहरुले छिटफुट बहस गरेपनि द्रुत गतिमा व्यवस्थापकीय योजनामा नेपाल सरकार अलमल भएको विश्लेषण गर्न सकिन्छ ।
कोरोनाको चेतावनी र असरः
कोरोनाले विश्व साँघुरिएर एउटै देश जस्तो बनाएको छ। विश्वभरका मानिसहरु बाँच्ने अधिकारको संरक्षणका लागि यतिबेला एउटै उद्देश्यमा सुत्रबद्ध छन् । कोरोनाको भय र त्रासबाट उन्मुक्ति पाउनु र जीवन र जगतलाई पुनर्स्थापना गर्नु यतिबेलाको विश्वको साझा चुनौती र संकल्प बनेको छ । जस्तो शासन प्रणाली भएपनि कोरोना भाइरससँगको संघर्षमा विश्व मानवता खोजिरहेको एउटा गुम्नाम देश बन्न बाध्य छ ।
विश्वमा कोरना माहामारीले अर्थतन्त्र र दिगो विकास र समृद्धिमा ठुलै असर गर्ने संभावना जति छ, त्यति नै चीन र क्युवाजस्ता देशहरु कोरोना जस्ता माहामारी भएपनि अर्थतन्त्रलाई छिटै पुनर्स्थापना गर्न सक्षम र सवल हुने संभावना रहने हामी विश्लेषण गर्न सकिन्छ ।
यसैगरी विश्वको कोरोना महामारीले उचित व्यवस्थापनका कारण उत्तर कोरिया लगायतका देशमा प्रभाव पार्न सकेको छैन । उत्तर कोरिया पनि समाजवादी देश हो । कुनैबेला अमेरिकाको हमला खेपेको र लामो समयदेखि संयुक्त राष्ट्रसंघको नाकाबन्दी झेलिरहेको यो देशमा असल शासन र आत्मनिर्भरता छ।
कोरिया भ्रमण गरेर फर्केका बामपन्थी नेता क. हस्तबहादुर केसीका अनुसार सुव्यवस्थित राज्य प्रणाली, जनताप्रति उतरदायी र जनताको इमान्दार अनुसाशान रहेको मात्र नभएर कोरोना संक्रमित देशमा तुरुन्तै हवाई आवागमन लगायत नियन्त्रणबारे दुरदर्शिता देखाएको छ ।
चीन, उत्तर कोरिया र क्युवामा समेत आत्मानुशसन रोकथामको महत्त्वपूर्ण कदम मानिरहँदा नेपालजस्तो देशमा भने समयमै सरकारले कोरोना निययन्त्रण गरेका देशबाट सिकेर दुरदर्शी नेतृत्व बहन र द्रुत गतिमा योजनाबद्ध कार्यान्वयनमा इमान्दारितामा अझै कमी रहेको देखिन्छ। यसै गरी नागरिकस्तरमा विदेशबाट आएको बिरामी लुकिछिपी बस्ने, रोगीलाई समेत खोजी गरी जबरजस्ती क्वारानटाइन र परीक्षणमा लैजानुपर्ने जस्ता इमान्दारिता र अनुशासन पालना कमजोर देखिन्छ ।
कोरोनाको सामना र भूमिकाः
यस भयावह चुनौतीको सृजनामा मानवजाति र राज्य संयन्त्रले प्राकृतिक नियममाथि गरिएको शोषण र हस्तक्षेप जिम्मेवार छ । अहिलेसम्म पशुपंक्षीबाट यस्ता सरुवा रोग सर्ने गरेको अनुसन्धान छ । मानव र प्रकृतिको अन्तरसम्बन्धको सन्तुलनलाई मिलाएर नलगिएमा यस्तै कारणहरूबाट मानवजातिको अस्तित्त्व नाश हुनेछ ।
कोरोना संक्रमणले विश्वभर उद्योग, कलकारखाना, पर्यटन, कृषि र बजार बन्द जस्तै छन् भन्दा अतिशय नहोला । भर्खर जापानले पनि एक महिनाका लागि लकडाउन सुरू गर्यो ।
विश्वमा पर्ने यस खालको भयावह असरले नेपालजस्तो गरिब भूमिको मानव जगतमा प्रहार र बज्रपात पहिलो प्राथामिकतामा हुनु स्वभाविक हो । यसको सबैभन्दा मार फेरि पनि गरिबीले आक्रान्त गरिबलाई नै चिर्थोनेछ । यसपछि मध्यम वर्गलाई पनि दीर्घकालीन रुपमा पिरलो थप्नेछ । महामारी आउँदा पुँजीवादी मुलुकमा आउने आर्थिक मन्दीले गरिब देश र गरिब देशभित्रका गरिबहरुलाई प्रभावित बनाउने गरेको अहिलेसम्मको अध्ययन देखाउँछ ।
नेपाल संघात्मक गणराज्यसहित राज्यको पुनर्संरचना हुँदा पनि अर्थतन्त्रमा पुनर्संरचना हुन सकेन । नेपालले अहिले विश्व बैंकबाट ऋण लिनुको विकल्प खोजी गर्न सक्दछ । यसको प्रभावले गर्दा विश्व बैंक, आईएमएफ जस्ता निजीमुखी अर्थनीति कायमै रहेको छ । यस्तो परम्परावादी अर्थनीति कार्यान्वयन हुँदा विश्वको निजी क्षेत्रबाट नेपालजस्तो मुलुक नियन्त्रणमा हुनुपर्ने वाध्यता हुन्छ । त्यसैले कोरोना नियन्त्रणका सामग्री खरिदको सवाल होस् वा अन्य सामान खरिद प्रकृया, निजी कम्पनीबाट ल्याउँदा विवादास्पद बनेको हामी देख्न सक्छौँ ।
अर्को महत्त्वपूर्ण पक्ष बहुसंख्यक नेपालीले उपचार गर्ने निजी अस्पतालहरु कोरोनाको आशंकाले ज्वरो, रुघाखोकीको लक्षण देखिँदा परीक्षण गर्न असर्मथ रहेका छन् । सामर्थ्य भएका निजी अस्पतालहरुलाई राज्यले किन नियन्त्रण गर्न सकिरहेको छैन । यो नीतिगत विषय पनि महत्त्वपूर्ण छ ।
भर्खर कोरोना रोकथामकै लागि राज्यले ठुलै रकम विश्व बैंकबाट ऋण लिनैपर्ने अवस्था आउनुमा पनि हाम्रो अर्थनीति जिम्मेवार रहेको जनमुखी अर्थविदहरुको दावी रहेको छ । यसैले अर्थराजनीति र विकासको नीतिले नै सुशासनको प्रश्न हल गर्छ भनेर हामीले बुझ्न आवश्यक छ ।
नेपालको काठमाडौँमा ८५० जना जनताका लागि १ जना चिकित्सक रहेका छन् भने बाहिर वा गाउँघरमा १ लाख ५० हजार जनताका लागि १ जना चिकित्सक छन् । यसले पनि अर्थ र स्वास्थ्य क्षेत्रको पुनर्संरचना नभएको तथ्य आफै प्रष्ट गर्दछ ।
यस अर्थमा कोरोना रोकथाममा जति विवाद छ, त्यतिनै नीतिगत रुपमा पुनर्संरचना आवश्यक छ । व्यक्तिहरूको भूमिका पनि जनताले मूल्याङ्कन गरिरहेकै छन् । नीतिगत क्षेत्रको पुनर्संरचना र त्यसलाई जनमुखी र वेज्ञानिक बनाउन सकेमा कोरोनाजस्ता समस्यासँग जुध्न थप सहयोगीसिद्ध हुन्छ ।
यस्तो जटीलतामा पनि सरकारले कोरोना भयावहलाई रोकथाम गर्ने प्रयास गरिरहेको छ तर ३ महिना पहिलेदेखि कोरोना विश्वव्यापी हुँदा सरकारले पूर्वतयारी र व्यवस्थापन, जोखिम विश्लेषण गर्न सकेको भए अझै सुन्दर हुने थियो ।
केही अगावै हवाई आवगमनमा रोक र परीक्षण, भारतबाट आउने खुल्ला सिमानामा क्वारान्टाइन सहित परीक्षण व्यवस्था, अति आवश्यक स्वास्थ्य सामग्री र उपकरणको समयमै व्यवस्थापन, विदेशमा बस्ने र नेपाली श्रमजीवीहरुका लागि राहत प्याकेज र ४१ प्रतिशत गरिबीको रेखामुनि रहेका ग्रामीण जनतालाई अति आवश्यकीय आपूर्तिको व्यवस्थापन गरिसक्ने समय हामीसँग थियो ।
उक्त कदम चालेको भए नेपालमा कोरनारहित देशको रुपमा चिनाउने अवसर नेपालले पाउँथ्यो । यसको बाबजुद नेपालमा कोरोनाको संक्रमण नियन्त्रणमा मात्र सरकार सफलतापूर्वक अघि बढ्ने प्रयास गरेको देखिएकाले आगामी समयमा माथि उल्लेखित कदमहरु ढिलै भएपनि सुरु गरिरहेको छ ।
सरकारले विवादरहित तवरबाट गम्भीरता र इमान्दारीतापूर्वक काम गरेर देखाउने अवसरको रुपमा लिनु अपरिहार्य हुन्छ । अझै पनि सरकारले नाकामा आएका नेपालीलाई देशभित्र आउने अधिकार दिएर क्वारेन्टाइन तथा आइसोलेसनमा राखेर परीक्षण खानपानको व्यववस्था गरिदिनु पर्दछ । रोकथाम प्रभावकारी बनाउन लकडाउन समय बढाएर श्रमजीवी मात्र नभएर मध्यम वर्गलाई समेत आपूर्तिमा छुटको व्यवस्था र आवासका लागि घरभाडा अनिवार्य छुट गरेर देखाउने अवसर हो ।
कोरोना बाहेकको दीर्घ रोगी र अन्य रोगीहरुको उपचारलाई प्रभावकारी बनाउने, जनतालाई ऋण नलिएर चीन, क्युवाबाट सिकेर सबै देशहरुबाट सहयोग लिनु पर्दछ । नीजि क्षेत्र व्यवसाय र अस्पतालहरुबाट सहयोग लिने, कोरोना परीक्षण द्रुत गतिमा बढोत्तरी गर्नु आवश्यक हुन्छ । यस बाहेक दुई सय देशहरुको संक्रमणबाट सिकेर विज्ञहरु समेत संलग्नता गराएर कोरोना नियन्त्रण गरेर देखाउने अवसर सृजना गर्नु पर्दछ ।
समयमै कोरोनाको प्रभावकारी सम्बोधन नगरिएमा लास जलाउने ठाउँको अभाव हुने मात्र नभएर आफन्तहरुले समेत लास देख्न नपाउने अवस्था आउन सक्नेछ । यसलाई राज्यले सबैको सहकार्यमा कोरोना विरूद्धको युद्वबाट विजयपथ प्राप्त गर्न सफल होऔं ।
(लेखक सामाजिक अभियन्ता तथा विश्लेषक हुनुहुन्छ ।)