Madhav Kumar Nepal, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल
 

माथिको तस्वीरमा भएको मान्छेसँग जीवनमा २०-२५ पटक भेटेको छु । जतिपटक भेटेको छु नयाँ परिचय दिएको छु । उहाँको दिमागमा म बस्न नसकेको मान्छे हो ।

अनि, एमाले-माओवादी एकतापछि म उहाँलाई भेट्न कहिल्यै गइन । (नेता भेट्न जाने मेरो बानी नभएर) । तर, आज नेपाली राजनीतिमा “विचरा” को रूपमा देखिएको यो मान्छे मेरो हृदयमा सबैभन्दा सम्मानित व्यक्ति बन्नुभएको छ ।

सम्मानित सर्वोच्च अदालतको पछिल्लो शंकास्पद एवं विवादित फैसलाले यिनलाई निरीह बनाएको हो । निष्ठाको राजनीति गरेर एमालेलाई सांगठनिक रूपमा शक्तिशाली बनाउने व्यक्ति यिनै हुन् । के नेपाली राजनीतिमा निष्ठाको हार भएकै हो त? के यिनले एकतालाई तिलाञ्जली दिनु सही हुन्थ्यो? यिनको गल्ती के? गलतलाई गलत भनेर सचेत गराउनु गल्ती हो भने यिनले अझ गल्तीहरू गर्नुपर्थ्यो । यिनको गल्ती के थियो? पार्टीभित्र दुई लाइन संघर्ष त कम्युनिस्ट पार्टीको प्राण हुन्छ । दुई लाइन संघर्ष त थियो, अरू के थियो?

Mohammad Jakir Hussain LEft REview Online
लेखक

समय बलवान हुन्छ । समयले साथ न दिएको निष्ठावान व्यक्ति निरीहता झेल्दैछ । के यो निरीहता सदैव कायम रहन्छ? आज एकजना ट्याक्सी चालकले भनिरहेका थिए, “नेपालमा सबभन्दा राम्रो नेतामध्ये एकजना माधव नेपाल हुन् ।” आजै एकजना चिया पसले ग्राहकहरूसँग हल्ला बोलेका थिए, “केपीमा राजनीतिक इमानदारिता भए माधव नेपाललाई प्रधानमन्त्रीको रूपमा उभ्याउनु पर्छ किनकि जतिसुकै विरोध भए पनि माधव बिना शर्त एमालेमा एकीकृत हुन गएका छन् । बाबुरामले जस्तो आफ्नो समूहका सबै सभासदलाई छोडेर उनी प्रतिनिधिसभाबाट बाहिरिने काम गरेनन् । सबैलाई समेटेर पूर्ववतः पार्टी एमालेमै फर्के, जहाँ सायद उनलाई धेरै हप्कीदप्कीको शिकार बन्नुपर्ने हुनसक्छ ।” यस्तै यस्तै छ जनबोली दुई-चार दिन यता ।

वास्तवमा माधवकुमार नेपाल एउटा शक्ति केन्द्र हुनुहुन्थ्यो, जसको साथले क. प्रचण्ड पनि झन् शक्तिशाली देखिनुभयो । जनदबाबको विशाल सागरको लहर उठ्यो र सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई गलत भनेर ७० वर्षको ठुलो बलिदानीले बनेको संविधान र लोकतन्त्रको रक्षा भयो । त्यो शक्ति र सुरक्षा कवच हुन् माधव कमरेड । अब म उहाँलाई यसरी चिनेँ । त्यो भएर ममा उहाँप्रतिको सम्मान जागेको हो । यो सम्मान जगाउने ट्याक्सी चालक र चिया पसलेलाई धेरै धेरै धन्यवाद ।

केही दिनअघि एउटा साँझमा एमालेका एकजना नेतासँग भेट भयो । उहाँ केपी समूहका हुनुहुन्थ्यो । भनिरहनुभएको थियो, “माधवलाई अब सम्मान र आदर दिन सकिँदैन । उहाँ आदरनीय नेता होइनन्‌ । अब उहाँलाई कसैले नेता मान्दैनन् ।” यस्तै सोच एमालेभित्र रह्यो भने अबको एमाले कता जान्छ? दम्भले राजनीतिक निकास त पक्कै दिँदैन ।

तर, अबका दिनमा हेर्न बाँकी छ – एमालेमा माधवकुमार नेपाल र उनका समर्थक (समूह) हरूसँग के कस्तो व्यवहार हुने हो? एक दशक बढी समय एमालेको महासचिव भई नेतृत्व गरेका माधव नेपाल प्रधानमन्त्री समेत भएका देशको अग्रपंक्तिका नेता हुन् । समयले निरीह बनाएको माधव नेपालका अगाडि आउने दिनहरूमा देखा पर्नसक्ने अपमानका परिदृश्यहरू सामाजिक सञ्जालमा छताछुल्ल भएर देखिन थालेको छ । यो चुनौती सँगसँगै उहाँले आफ्नो समूहका साथीहरूलाई समेटेर राख्ने चुनौती, आफ्नो आत्मसम्मानको रक्षा गर्ने चुनौती, आफ्नो नेतृत्वको रक्षाको चुनौती र आफ्नो राष्ट्रिय-अन्तर्राष्ट्रिय छविलाई जोगाएर त्यसलाई झन् दरिलो बनाउने चुनौती माधव कमरेडका लागि निकै कठिन छ । उहाँको राजनीतिक जीवनको सबभन्दा कष्टमय समय हो यो । दु:खपछि सुखै सुख हुनसक्छ । माधव नेपाल र उहाँका समर्थकहरूले आत्मबललाई खुम्चिन दिनु हुँदैन ।

(लेखक नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व राज्यमन्त्री हुनुहुन्छ।)