देश विकासमा लाग्ने मानव जीवनको अत्यन्तै उर्जाशील, गतिशील, अमूल्य गहना नै युवा शक्ति हो । नेपालमा २०६८ को जनगणना अनुसार १६-४० उमेर समूहलाई युवा मानिएकोले नेपालको कुल जनसंख्याको ४०.३५% (करिब १ करोड ७ लाख) युवाहरु रहेको कुरा सर्वविदितै छ । सर्वाधिक उत्साह, संवेगसहितको शक्ति र सामर्थ्यले ओजस्वी युवाहरुको सक्रिय सहभागिताले राजनीतिक परिवर्तन, सामाजिक क्रान्ति, जनआन्दोलन, जनयुद्ध र विभिन्न समयका संघर्षहरु समेत सफल भएका छन् । देशको विकासमा युवाहरुको सक्रिय सहभागिता अनिवार्य छ ।
करिब एक करोड सात लाख युवा जनशक्तिलाई देश विकासमा समेत्न, युवाहरुको विकासका लागि आवश्यक ठानेर वि.सं. २०६५ मा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भयो । यस मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषद, राष्ट्रिय युवा परिषद र नेपाल स्काउट रहेका छन् । नेपाल सरकारको सबैभन्दा बढी उर्जाशील, गतिशील, अनिवार्य जनशक्ति भएको मन्त्रालय हो – युवा तथा खेलकुद मन्त्रालय । देश विकासको निम्ति युवा जनशक्ति परिचालन सम्बन्धी दुरदृष्टि र लक्ष्यसहितको ‘तत्कालीन तथा दीर्घकालीन योजना र कार्यक्रम’ भने उक्त मन्त्रालयमा कमी रहेको छ । युवा तथा खेलकुद मन्त्रालयलाई सानो मन्त्रालय ठानेर आफ्नो असक्षमतालाई ढाकछोप गर्ने, कमजोरीबाट उम्कन खोज्ने नेतृत्वको कमजोरी मान्न सकिन्छ ।
मन्त्रालय र यसअन्तर्गत युवा स्वरोजगार कार्यक्रम, राष्ट्रिय विकास स्वयम्सेवक सेवा, युवा तथा साना लगानी बोर्ड गठन भइसकेको अवस्थामा पनि समग्र युवाहरुको हितमा सम्बन्धित मन्त्रालय र निकायहरुका नेतृत्वहरुको सक्रियता र पहलकदमी देखिँदैन । राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रिय युवा दिवस, नेपाल स्काउटका गोष्ठी, सेमिनारका कार्यक्रम बाहेक अन्य राष्ट्रिय महत्त्वका कार्यक्रम हुन सकेका छैनन् । परम्परागत कार्यक्रमले युवाहरुको क्षमता अभिवृद्धि हुन सकेको छैन । नीतिगत परिमार्जन, भौतिक-पूर्वाधार निर्माण, युवाहरुलाई प्रोत्साहन र व्यवस्थापनतर्फ कुनै परिणाममुखी योजना र कार्यक्रम छैन । देश विकासका लागि अनिवार्य युवा जनशक्तिप्रतिको चिन्ताबोध भन्दा पनि आफ्ना आसेपासे केही चम्चेहरुलाई रोजगार दिने, सेवा गर्न आएको भन्दा भ्रमण, तलब भत्ता, राजनीनिक व्यापारमा लाग्नु, नेतृत्वमा रहेकाहरुको व्यक्तिवादी चिन्तन, प्रवृत्ति र व्यवहारबाट देश विकास हुने र युवा भविष्य सुनिश्चित हुने कुरा कोरा कल्पना सावित भएको छ । क्षणिक सफलतालाई लिएर आत्मप्रशंसामा व्यस्त रहने व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्ने अभिभावक एक करोड सात लाख युवाहरुको असल अभिभावक बन्नै सक्दैन ।
युवाहरुको जीवन दु:खशास्त्र र सुखशास्त्रको संयोजनको कथा र व्याथाले भरिएको छ । युवा तथा खेलकुद मन्त्रालय युवाहरुका लागि “हात्तीको देखाउने दाँत” मात्रै सावित भएको छ । गाउँ-सहर-राजधानी समेतका युवाहरु बाध्य भई वैदेशिक रोजगार र अध्यायनका सिलसिलामा विदेशिने क्रम तीव्र बनेको छ । वैदेशिक श्रम स्वीकृति लिएर जाने, विद्यार्थी भिषामा ‘नो अब्जेक्सन’ पत्र लिएर विदेश जाने युवाहरु एकातिर छन् भने अर्कातिर अवैधानिक बाटो भएर, विभिन्न प्रोग्रामको बहाना गरेर कार्यक्रम लिएर विदेश गई उतै पलायन हुने क्रम पनि तीव्र छ । सबैभन्दा भयावह स्थिति युवा जनशक्ति विदेश पलायनमा देखिन्छ । स्वदेशमा म्यानपावर, दलालहरुबाट ठगिनु, बेचिनु, लुटिनु र विदेशमा श्रमअनुसारको रकम नपाउनु, युवतीहरु बलात्कृत हुनु, मारिनु, मृत्युपछि बाकसमा शव राखेर स्वदेश पठाउनु जस्ता पीडाबोध अवस्था युवा जनशक्तिमा विद्यमान छ । विदेशमा बगाउने रगत, पसिना स्वदेशमै बगाई देश बनाउने युवा सपना साकार पार्ने सरकारसँग सोच विचारै छैन ।
सरकार खालि “रेमिटेन्स” मात्रै भनिरहन्छ । विदेशमा खाइनखाई नाङ्गो आङ-भोको पेट बसेर दु:खपूर्वक कमाई गरेको रकमलाई हुण्डी तथा मनिट्रान्सफर मार्फत नेपालमाआफ्ना परिवार/आफन्तलाई पठाएको रकम स्वदेश आउँछ । विप्रेषण आप्रवाह वृद्धि भई अरबौँ रकम नेपाल सरकारलाई प्राप्त हुन्छ । विदेशबाट हवाई उडानमार्फत बाकसमा शव लिएर त्रिभुवन विमानस्थलमा झार्दा सरकारलाई कुनै वास्ता र संवेदना छैन । मृतकका आश्रित परिवारलाई संबोधनका कुनै योजना, कार्यक्रम छैन् । योभन्दा पिडादायी क्षण अर्को के हुन सक्छ र ? रेमिटेन्सबाट प्राप्त रकम सही ढंगले सदुपयोग हुन सकेको छैन । लगानीको ग्यारेन्टी छैन । गाउँघरहरु युवाविहीन भएका छन् । बुढेसकालका बुढाबुढीहरु सहाराविहीन भएका छन् । उब्जाऊ जमिन बाँझा भएका छन् । कृषिप्रधान देशको अवस्था युवाविहीन बनेको छ । यसतर्फ सम्बन्धित निकाय कसैको ध्यान गएको देखिन्न ।
युवा अभियानको नाउँमा एनजिओ/आइएनजिओहरु डलरमा युवा सपना किनिरहेका छन् । श्रमिक युवाहरुलाई बौद्धिक विलासिताका कार्यक्रममा अल्मलाएका छन् । युवाहरुको विकाससँग जोडिएको दिगो विकासका कार्यक्रमहरुलाई “दुहुनो भैँसी”को रुपमा प्रयोग गरिरहेका छन् । सरकार मुकदर्शक बनेको छ । सम्बन्धित निकाय र नेतृत्व लाचार बनेर बसिरहेका छन् । योभन्दा लज्जाबोध अरु के हुन सक्छ र ?
राजनीतिक परिवर्तन, सामाजिक क्रान्ति, जनआन्दोलन, जनयुद्ध र अधिकार प्राप्तिका विभिन्न संघर्षहरुमा युवाहरुको अतुलनीय योगदान छ । युवाहरुकै सक्रिय सहभागिताले देशमा परिवर्तन संभव भएको इतिहास साक्षी छ । शहीद, बेपत्ता, घाइते-अपांगहरूको तथ्यांकमा पनि युवाहरु नै अगाडि छन् । जब राजनीतिको सफलतासँगै नीति निर्माण र पद बाँडफाँडको सवाल अगाडि आउँछ, तब युवाहरुलाई लत्याउँदै, पछार्दै राजनीतिक नेतृत्व अगाडि बढेको पाइन्छ । सक्षम युवाहरूलाई विश्वास गर्नु, नेतृत्व दिनु र विकास योजनाका काममा जिम्मा दिनुभन्दा ठेक्का भत्तामा लगाउने, व्यक्तिगत स्वार्थमा प्रयोग गर्नु, नेताका आडभरोसामा केही युवाहरुमा गुण्डागर्डी मानसिकताको विकास हुनु जस्ता कार्यले परिवार, समाज र देशकै निम्ति युवा प्रतिष्ठा परिणामत: राजनीनिक र सामाजिक प्रतिष्ठा गिराउने गरेको छ । योगदान अनुसार परिणाम खोज्नु युवाहरुको अपराध होइन, “दाह्री फुलेर, दाँत झरेर, शरीरमा लगाएको कपडा सम्हाल्नै नसक्ने, लठ्ठी टेकेर हिँड्नै नसक्ने अवस्थासम्म पनि कुर्सीको मोहमा टाँसिइराख्ने नेताहरुले आफूलाई युवा नेता भन्न नछाड्ने राजनीतिक संस्कृतिबाट युवाहरुले के सिक्ने? यो गम्भीर प्रश्न हो ।
राजनीतिक परिवर्तन, सरकार निर्माण, बद्लिँदो राजनीतिक परिस्थितिले पैदा हुने अस्थिरताको कारण युवाहरुमा आशाभन्दा निराशा बढी पैदा हुने गर्दछ । शीघ्र परिणामको आशा गर्नु युवाहरुको विशेषता पनि हो, सफलतामा मात्तिने, असफलतामा आत्तिने मानसिकताबाट भने युवाहरु मुक्त हुनैपर्छ ।
आत्मनिर्भर हुन नसक्दा कतिपय युवाहरुलाई खराब व्यक्ति, समूहको प्रयोगले जीवनभर कालो धब्बा लाग्ने गरेको छ । यसबाट देशका कर्णधार युवाहरु सचेत र सतर्क हुन आवश्यक छ । सही बाटो छोडेर गलत बाटो हिँड्ने कतिपय युवाहरु हत्या, बलात्कार, बेचबिखन, लुटपाट, आगजनी, डकैती, तस्करी, जेलनेल समेत भोग्न बाध्य भएका छन् । देशभर छरिएर रहेका युवाहरुलाई राजनीतिक-प्रशासनिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, रोजगार, न्याय, सुशासन लगायतका कार्यमा सहभागी बनाउनु राज्यको कर्तव्य बनेको छ । राज्यका अंग, निकायहरुमा युवाहरुको सहभागितालाई अनिवार्य बनाउनु पर्दछ । युवा क्षमता अभिवृद्धि गर्न आवश्यक छ ।
देशव्यापी हत्या, बलात्कार, बेचबिखन, चोरी, डकैती, तस्करी, लगायतका अनेकौँ अपराधका काण्डहरु घटेका छन् । घटनामा संलग्नताको आरोपमा सबैभन्दा बढी युवाहरु नै जेलनेलका शिकार भएका छन् । युवाहरुलाई कारागारमा बन्दी जीवन होइन, देश निर्माणका महत्त्वपूर्ण कार्यमा लगाउनु पर्दछ । राज्यका अंगहरु, निकायहरुमा युवाहरुको सहभागिता अनिवार्य बनाउनु आवश्यक छ । देशमा अन्याय-अत्याचार, विकृति, विसंगति, कुरीति, संस्कारविरुद्ध न्याय, समानता, शान्ति, सुशासनको पक्षमा विभिन्न राजनीतिक दलहरुसँग आबद्ध युवाहरु दोषीलाई कारवाही गर्ने र पीडितलाई न्याय दिलाउने कार्यमा अग्रपंक्तिमा किन आउन सक्दैनन् ? यो सर्वत्र उठेको गम्भीर सवाल हो ।
प्राणघातक रोग “कोभिड-१९” को महामारीले जनताको ज्यान लिँदै देशव्यापी आतंक मच्चाइरहेको बेला देशमा युवाहरुको आवश्यकता झन् खड्किएको छ । “जनताको साथमा युवा-आजको आवश्यकता” भनेर जनताको सेवामा जुट्नु युवाहरुको दायित्व हो । देश विकासको अवसर पनि आएको छ । स्वदेश फर्किएका दक्ष युवा शक्तिलाई रोजगारको व्यवस्था समेत गरी देश निर्माण कार्यमा लगाउनु पर्छ । संगठित युवाहरुको देश र जनताप्रतिको उत्तरदायी सोच विचार, श्रम, लगानीले मात्र देशले काँचुली फेर्न सक्छ । देश विकास र जनताको जीवन बदल्ने कार्यमा युवाहरुको जिम्मा हुनुपर्छ । देशको भविष्य नै युवाहरुको भविष्य हो ।
(लेखक नेकपाका नेता तथा पूर्व युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ ।)