नेपाली भू–भागबाट बग्ने पानी रोक्नको लागि भारतले अनेकन खालका संरचनाहरु बनाएको छ । भारतले सीमा क्षेत्रमा ड्याम, ठूला खालका तटबन्ध, नहरलगायतका संरचनाहरु धेरै नै खडा गरिसकेको छ । पछिल्लो समय त उसले पूर्वदेखि पश्चिमसम्मै सीमा क्षेत्रमा सडकको नाममा अग्लो बाँध नै बनाएको छ । राजमार्गको नाममा बनाइएको त्यो संरचना १० फिट अग्लो र ९० फिट जति चौडा छ । यी संरचनाहरुले वर्षाको समयमा परेको पानी र नेपालबाट भारततर्फ जाने सबै नदीहरुको प्राकृतिक बहाव रोकिदिएसँगै तराईमा डुबानको समस्या बढिरहेको छ ।
नेपाल र भारतबीच अहिलेसम्म ब्यारेज बनाउन जम्मा एउटा सम्झौता भएको छ । तटबन्ध बनाउनका लागि ४ वटा जति सम्झौता भएको छ । तर, भारतले एकतर्फी हिसाबले धेरै संरचनाहरु खडा गरिसकेको छ ।
जस्तो कपिलवस्तु जिल्लाको दक्षिणमा सीमा नजिकै भारतले मणिसागर बाँध बनाइएको छ । त्यो बाँध बनाउनका लागि सन् १९२३ मा ब्रिटिस अंग्रेजसँग नेपालको सम्झौता थियो । सम्झौतामा बाँध बनाउँदा ढोका नहाल्ने भन्ने थियो । तर, बर्तमान भारतले १४ वर्ष अगाडि मात्रै १५ वटा ढोका बनाइएको छ । जसको कारण कपिलवस्तुको त्यस छेउछाउका भू–भाग पूरै डुबानमा पर्दै आएका छन् । वर्षाको बेलामा ७० हेक्टर जति जमिन डुबानमा पर्दछन् । त्यहाँ हिउँदको बेलामा पनि १५ हेक्टर जति जमिन क्षेत्र डुबानमा पर्दै आएको छ ।
सम्झौता ब्रिटिश इण्डियासँग गरिएको सन्दर्भमा अहिले भारतले आफ्नो मगलाग्दी हिसाबले काम गरिरहेको छ । नेपाल र नेपालीले विरोध गरेपनि संरचनाहरु निर्माणको काम भने रोकिएको छैन् ।
दुई देशको सीमाको छेउछाउमा ब्यारेज, बाँध र तटबन्धजस्ता संरचनाहरु बनाउँदै गर्दा केही अन्तर्राष्ट्रिय मापदण्डलाई पनि स्वीकार गर्नुपर्ने हुन्छ । दुवै देशको सम्झौता बेगर त्यस्ता संरचनाहरु बनाउन पाइँदैन् । तर यहाँ सम्झौता विपरितका संरचनाहरु बनिरहेका छन् । जसको कारण तराईमा सँधै डुबानको समस्या परिरहेको हुन्छ ।
एक देशबाट अर्को देशमा जाने नदीको सीमारेखाबाट ८ किलोमिटर माथिल्लो वा तल्लो क्षेत्रमा कुनै देशले सहमति नलिई कुनै संरचनाहरु बनाउन पाइँदैन भन्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । त्यो सम्झौतालाई सन् १९९९ मा दुई देश बिच पटनामा भएको बैठकमा पनि स्वीकार गरेर जाने सहमति भएको थियो । तर, सहमति त्यस्तो भएपनि सिमा छेउछाउमा धेरै संरचनाहरु बनेका छन् ।
जस्तो बाँके जिल्लाको सिमामा लक्ष्मणपुर बाँध बनाइएको छ । २२ कि.मि. लामो त्यो बाँधले प्रत्येक वर्ष नेपालको ठूलो भू–भाग डुबानमा पर्ने गरेको छ । अहिले पनि नरइनापुर गाउँपालिकाको भाग पूरै जलमग्न भएको छ ।
यता रौतहटमा पनि त्यस्तै समस्या छ । रौतहटको सिमा नजिकै बनेको बैरगनिया बाँधले यो वर्ष त झन् धेरै क्षति बनाएको छ । गौर सदरमुकामका धेरैजसो घरहरु १ तलासम्म डुबानमा परे ।
जबसम्म मापदण्ड विपरित यी संरचनाहरु खडा रहिरहन्छन्अ, नि नयाँ संरचनाहरु बनिरहन्छन् , तबसम्म तराई डुबानको समस्या झनै बल्झदैं जान्छ । राज्यले आफ्ना जनता अनि भूगोलको रक्षा गर्ने नियम विपरित खडा गरिएका संरचनाहरु फाल्नका लागि पहल गर्नुपर्छ ।
(श्रेष्ठ प्रसिद्ध सीमाविद् हुनुहुन्छ । )