हवाना, अगस्ट १३ । क्युबाका राष्ट्रपति मिगेल डियाज-केनेलले कोभिड-१९ महामारीको नयाँ लहरलाई नियन्त्रण गर्नु नै क्रान्तिनायक फिडेल क्यास्ट्रोलाई दिइने सच्चा श्रद्धाञ्जली भएको बताउनुभएको छ ।
क्युबाली क्रान्तिका महानायक क. फिडेल क्यास्ट्रोको ९४औँ जन्मजयन्तीको उपलक्ष्यमा राष्ट्रपति डियाज-केनेलले सार्स-कोभी-२ कोरोना भाइरस नियन्त्रणमा अहिले प्राप्त सफलता फिडेल क्यास्ट्रोले सुरू गरेका कामहरूको कारणले मात्र संभव भएको कुरामा जोड दिनुभयो ।
मार्चमा कोभिड-१९ देखिएपछि क्युवामा ३१,०० मानिसहरू संक्रमित भएका छन् भने तीमध्ये ८८ ले जीवन गुमाएका छन् ।
राष्ट्रपति मिगेल डियाज-केनेलले आफ्नो सरकार (सन् २०१८ को अप्रिलदेखि) फिडेल क्यास्ट्रो र राउल क्यास्ट्रोको सरकारको निरन्तरता भएको र उहाँहरूका कार्यहरूलाई निरन्तरता दिएको संकेत गर्दै #FidelPorSiempre, #SomosCuba र #SomosContinuidad को ह्यासट्याग प्रयोग गर्नुभएको छ ।
फिडेल क्यास्ट्रो सन् १९२६ अगस्ट १३ मा हाल क्युबाको होल्गुइन प्रान्तमा पर्ने बिरानमा जन्मनुभएको थियो भने सन् १९१६ को नोभेम्बर २५ मा उहाँको देहावसान भएको थियो । क्युबाका राष्ट्रपतिका साथै मन्त्रीहरू, बुद्धिजीवीहरू र विश्वभरका विभिन्न व्यक्तित्वहरूले क्रान्तिकारी नेता क्यास्ट्रोको विरासतबारे सामाजिक सञ्जालमा स्मरण गरेका थिए ।
(स्रोतः प्रेन्सा ल्याटिना)