काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि पहिरो जाँदा शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पुरिएर ठूलो मानवीय र धनमालको क्षति भएको र उक्त पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले आफूलाई स्तब्ध बनाएको बताउनु भएको छ ।
अध्यक्ष प्रचण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा बेपत्ता भएकाहरुको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयम्सेवी र सुरक्षाकर्मीलाई आह्वान गर्नुभएको छ भने पहिरोमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले कालीकोट जिल्लाको महावै गाउँपालिकामा गएराति आएको पहिरोमा परी एकै परिवारका ६ जना र मकवानपुरमा पनि पहिरोमा परी एक जनाको मृत्यु भएको जनाउँदै सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु हुनुभएकाहरुमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोतर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डले वर्षायाममा पहाडी भेगमा हुने गरेका यसप्रकारका घटनाहरुको न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमाका लागि ध्यान पुर्याउन अपील समेत गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डद्वारा जारी प्रेस विज्ञप्तिको पूर्णपाठः
अविरल वर्षापछि आएको पहिरोका कारण शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पुरिँदा ठूलो मानवीय र धनमालको क्षति भएको छ । उक्त पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ ।
उक्त घटनामा बेपत्ता हुनुभएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयम्सेवी र सुरक्षाकर्मीलाई आव्हान गर्दछु । पहिरोमा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
त्यसैगरी कालीकोट जिल्लाको महावै गाउँपालिकामा गएराति आएको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने मकवानपुरमा पनि एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु हुनुभएकाहरुमा पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
वर्षायाममा पहाडी भेगमा हुने गरेका यसप्रकारका घटनाहरुको न्यूनीकरणका लागि दीर्घकालिन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पुर्याउन सम्बन्धित सबैमा अपील गर्दछु ।
३०, श्रावण २०७७
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)